अहिले हेर्दा कांग्रेस र एमाले गठबन्धनका दुईवटा रङ्ग छन् । एउटा छ कालो । अर्को छ, फुस्रो रङ्ग ।
प्रारम्भमा यो गठबन्धनभित्रको कालो रङ्ग हेरौँ । जस्तो एमाले, माओवादी र रास्वपाको सत्ता गठबन्धन भत्किएर कांग्रेस र एमालेको सत्ता गठबन्धन बन्नु नेपाली राजनीतिको कुनै उल्लेख्य र दीर्घकालीन महत्त्वको परिघटना होइन । यो फगत संसदीय अङ्कगणितको एक साधारण जोडघटाउ हो । अर्थात् यो मात्र परम्परागत राजनीतिको एक लीला हो ।
अङ्कगणितले निर्देशन गर्ने राजनीतिमा समाजवादी र पुँजीवादीहरूको गठबन्धन देखिएकै हो, राजतन्त्रवादी र गणतन्त्रवादीको गठबन्धन देखिएकै हो, एकात्मकतावादी र सङ्घीयतावादीको (पहिचानवादी) गठबन्धन देखिएकै हो, अहिले फेरि दुई ठूला दलको गठबन्धन देखियो त के आश्चर्य भयो ?
जब राजनीतिको लय बिग्रन्छ, परिस्थिति सिद्धान्त र सूत्रभन्दा नितान्त भिन्न हुन पुग्छ । कहिले के हुन्छ, कहिले के ? अहिले भएको त्यही हो । अतः शङ्काको सुविधा नदिने हो भने कांग्रेस र एमालेको पछिल्लो गठबन्धन फगत सत्ताको तमासा हो । अहिलेकै अवस्थामा यो तमासाले कुनै वैचारिक, राजनीतिक र शासकीय उज्यालो देला भन्ने अपेक्षा गर्नु आफैँमा मृगतृष्णा हो । भन्नपर्दैन, मृगतृष्णाको राजनीति वस्तुतः अराजनीति हो ।
देशमा दशकौंदेखि अनैतिक, अवैचारिक तथा विजातीय गठबन्धन बन्ने र भत्कने जादुगरी चलिरहेको छ । अहिलको गठबन्धन पनि त्यसैको नयाँ संस्करण मात्र हो । अर्थात् यो कुनै विशेष, अर्थपूर्ण र गतिलो राजनीतिक प्रयत्न होइन । बरु यो हो, पुरानै सत्तास्वार्थमा आधारित घात-प्रतिघातको नयाँ संस्करण । त्यसैले यो गठबन्धन र पुरानो गठबन्धनमा कुनै चारित्रिक भिन्नता छैन । त्यही भिन्नता नहुनु नै यो गठबन्धनको अँध्यारो पक्ष हो ।
वस्तुतः दलहरू नफेरिने, नेतृत्व नफेरिने, मुद्दा नफेरिने, तर अङ्कगणित मात्र फेरिने यस्तो राजनीतिले कुनै नयाँ परिणाम दिँदैन । राजनीति पुरानै गर्ने, त्यसबाट नयाँ परिणाम कसरी आउला ? नेतृत्व पुरानै राख्ने, त्यसबाट नयाँ परिणाम के आउँछ ? त्यसैले भन्न सकिन्छ कि यथावस्थामा उस्तै उस्तै काम गरेर देशको समस्या समाधान हुँदैन । यो समयको बर्बादी मात्र हो । किनभने सबैलाई जगजाहेर छ कि हजारपटक नर्कको बाटो हिँडे पनि स्वर्ग पुगिन्न ।
अझ भयङ्कर अपसकुन के भने देशमा विद्यमान दुई ठूला पार्टी एकठाँउमा आउनु, आफैँमा दलतन्त्र बलियो हुनु र लोकतन्त्र कमजोर हुनसक्ने खरता बढ्नु हो । यदि नागरिक समाजले ठीक ढङ्गले खबरदारी नगर्ने हो भने यसको परिणाम दुःखदायी हुनसक्छ । र, त्यही नै पछिल्लो सत्ता गठबन्धनको सर्वाधिक अँध्यारो र कालो पक्ष हो ।
खराब विकल्प
सबैलाई थाहा छ, जति नै ठोकठाक र जोडघटाउ गरेपनि अहिलेको राजनीतिले सुखद परिणाम दिँदै दिँदैन । किनभने दलहरू ऊर्जाविहीन छन् । नेतृत्व भ्रष्ट छ । कार्यकर्ता फगत दास छन् । राज्य संरचनाहरूले काम गर्न सक्दैनन् । नीति छैन, विधि छैन । मुख्य कुरा यिनै अनेक कारणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्नहरू उठेका छन् र जनतामा निराशा छाएको छ । र, स्पष्ट छ, यावत् सङ्कटका साझेदार हुन्— एमाले र कांग्रेस ।
तर, त्यति हुँदाहुँदै पनि एमाले र कांग्रेसको पछिल्लो गठबन्धनप्रति सकारात्मक टिप्पणी आइरहेका छन्, किन ? किनभने प्रचण्डको उथलपुथल र अङ्कको जादुबाट मान्छेहरू मुक्ति चाहन्थे । ‘पल्टुराम प्रवृत्ति’ र फगत सत्ताको लेनदेन कहीँ न कहीँ रोकिनु नै थियो । त्यसैले कतिपय मान्छेहरू भन्छन्, “यथास्थितिमा राजनीतिलाई योभन्दा धेरै बिग्रन नदिन कांग्रेस र एमाले मिल्नु नै नै खराबमध्येको कम खराब विकल्प हो ।”
पछिल्लो समय तेस्रो र चौथो दलको अशोभनीय सत्तालिप्सा, लोकरिझ्याइँ र नयाँ भनिएका साना दलको ‘च्याँखे थाप्ने’ प्रवृत्तिले राजनीतिमा एकखाले ‘इरिटेसन’ निर्माण गरेको थियो । प्रचण्ड जेलाई आफ्नो जादु भनिरहेका थिए, मान्छेहरू त्यसबाट अगाडि जान चाहन्थे । रवि लामिछानेहरू जेलाई आफ्नो राजनीतिक सफलता भनिरहेका थिए, मतदाता त्यो भन्दा फरक दृश्य हेर्न चाहन्थे ।
मान्छेहरू जे चाहिरहेका थिए, प्रचण्ड गठबन्धन त्योभन्दा विपरीत थियो । परिणाम राजनीतिले आफ्नो ओज र गरिमा गुमाउँदै थियो । सत्ता दैनिक प्रपञ्चले थिलथिलो हुँदै थियो । व्यवस्थामाथिको प्रहार तीव्र बन्दै थियो । तर, एकातिर लोकरिझ्याइँ पन्छिँदै थियो । अर्कातिर कम्युनिष्ट एकताको अहङ्कार चुलिँदै थियो । समस्या थिए तर, समाधन थिएन । यो अर्थमा परिस्थितिलाई योभन्दा धेरै बिग्रन नदिन प्रचण्डलाई धक्का आवश्यक थियो । जुन यो गठबन्धनले गरिदियो ।
प्रचण्ड सरकारसँग मान्छेहरू विश्वस्त नहुनुको अर्को कारण थियो, सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने उनको प्रवृत्ति । मुख्यतः यो सरकारकै कारण भूराजनीतिक अविश्वास बढेको थियो । देशको प्रतिष्ठा घटेको थियो । र, यो सिलसिलाको अन्त्य आवश्यक थियो र त्यसैकारण मान्छेहरूले कांग्रेस, एमालेको गठबन्धनलाई केही शङ्कासहित सराकात्मक प्रतिक्रिया दिए । जुन स्वाभाविक देखिन्छ ।
यसरी हेर्दा, कांग्रेस, एमाले गठबन्धनको अर्को पनि रङ्ग छ— फुस्रो । जो धेरै कालो पनि छैन र धेरै सेतो पनि छैन । निक्खर कालो र निष्पट्ट अध्याँरो नहुनु यसको सुखद पक्ष हो । तर, सफा र सेतो नहुनु यसको कमजोर पक्ष हो । र, सायद यही नै आजको नेपाली राजनीतिका लागि प्राप्त खराबमध्येको कम खराब विकल्प हो ।
प्रश्न आउँछ, के त्यसोभए अब नयाँ गठबनधनले राजनीति र राजकाजलाई ठिक गर्छ ? अवश्य नै दीर्घकालीन सङ्कट समाधानका लागि यो सही र गम्भीर विकल्प होइन । किनभने सत्ताको जोडघटाउ फेरिँदैमा नेपाली राजनीतिको मूल चरित्रमा बदलाव आउँदैन । त्यसका लागि दलहरूको पुनर्गठन अनिवार्य सर्त हो ।
तर, के दलहरूको पुनर्गठनका लागि हामी आजै वा अहिल्यै नितान्तः नयाँ परिस्थिति निर्माण गर्न सक्छौँ ? के हामी अहिले नै आन्दोलनको तागतले परम्परागत दललाई विस्थापित गर्न सक्छौँ ? के हामी अहिले नै निर्वाचनमा गएर योभन्दा नितान्त फरक चरित्रको संसद् र सरकार बनाउन सक्छौँ ? सक्दैनौँ । त्यसैले भनिएको हो कि अहिले जे भयो, यो खराबमध्येको कम खराब विकल्प हो ।
शङ्काको सुविधा
यो गठबन्धनलाई दिन सकिने शङ्काको सुविधा र खबरदारी के भने यदि दुई ठूला दलले ठीक ढङ्गले आत्मसमीक्षा गरे भने यसले अवश्य नै केही लाभ हुनसक्छ । तर, यदि उनीहरूले हेलचेक्र्याइँ गरे भने यो अवस्थाले दलतन्त्रलाई अझ धेरै मलजल गर्नेछ र लोकतन्त्रलाई कमजोर बनाउनेछ । त्यसो भयो भने दुईदलीय सर्वसत्तावाद झाङ्गिने छ र राज्यसंरक्षित शासकीय विकृतिहरू अझ बढ्नेछन् । त्यसपछि उल्टो यात्रा प्रारम्भ हुनेछ र नयाँ प्रतिरोधको जन्म हुनेछ । जो निकै खतरनाक अवस्था हो ।
कांग्रेस र एमाले गठबन्धनमाथि सकारात्मक भइरहँदा पनि मान्छेले दुईवटा विषयलाई गम्भीरतापूर्वक उठाएका छन् । पहिलो संसदीय अभ्यासमा प्रतिपक्षी बेञ्च कमजोर हुने खतरा । दोश्रो, संविधान संशोधनका नाममा हुनसक्ने प्रतिगमनको प्रयत्न ।
निश्चय नै पछिल्लो गठबन्धनलाई लिएर गरिने यी दुई महत्त्वपूर्ण चासोहरू हुन् । यो गठबन्धनलाई झट्ट हेर्दा सबैलाई लाग्नसक्छ— प्रतिपक्षी बेञ्च कमजोर भयो । यसले संसदीय व्यवस्थालाई बलियो बनाउँदैन ।
तर, यसमा चर्चा गर्दा केही कुरामा ध्यान दिनुपर्छ । जस्तो पहिलो, नेपालमा व्यवहारतः प्रतिपक्षी दल नै थिएन र छैन । त्यसैले जे थिएन, त्यो रहेन भनेर चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।
स्वाभाविक छ कि संसद्का दुई ठूला दल मिलेर सरकार बनाउनु संसदीय लोकतन्त्रको अन्तर्राष्ट्रिय प्रचलन, मूल्य प्रणाली, संविधानको मर्म र जनादेश विपरीत काम हो । आम रूपमा दुईमध्ये एकले सहयोगी दलसहित सरकार चलाउने र अर्कोले प्रतिपक्षको भूमिका गर्नु स्वाभाविक र सही हुन्थ्यो । किनभने प्रमुख प्रतिपक्ष नै नरहने गरी बनाइने गठबन्धन अप्राकृतिक र अशोभनीय हो ।
तर, अहिले सरकार र संसद् कसरी सञ्चालन हुन्छ भन्नेभन्दा व्यवस्थालाई कसरी प्रभावकारी बनाउने भन्ने समय हो । स्वाभाविक अर्थमा संसद्मा प्रतिपक्षी बेञ्च कमजोर हुनु हुँदैन । अतः त्यसका वरिपरि उठेका चिन्ता जायज छन् । तर, जब समय अस्वाभाविक हुन्छ, स्वाभाविक चिन्ताले काम गर्दैन ।
अहिले नागरिकमा आशा जगाउने, व्यवस्थालाई बचाउने र लोकतान्त्रिक प्रतिस्पर्धाका लागि नयाँ वातावरण बनाउने समय हो । अहिले नयाँ संविधानलाई कार्यान्वयन गर्ने समय हो । अहिले कानून, नीति र रणनीति बनाउने समय हो । यस्तो अवस्थामा चर्को कुरा गर्ने प्रतिपक्षभन्दा सकारात्मक भूमिकासाथ मिलेर काम गर्ने राजनीतिक संस्कृति आवश्यक हुन्छ ।
सत्तापक्ष र प्रतिपक्षको भूमिका त्यो बेलामात्र प्रभावकारी हुन्छ, जब राजनीति, व्यवस्था र राज्यसंरचनाहरू प्रभावकारी हुन्छन् । तर, यो त व्यवस्थामाथि नै अनेक प्रश्नहरू उठिरहेको समय हो । यो राज्यसत्ताले प्रभावकारी काम गर्न नसकेको समय हो । यो कानूनहरू बनाउन नसकेको समय हो । यो व्यवस्थालाई परिणाममुखी बनाउन नसकिएको समय हो । यो राजनीति, राज्य, राजकाज र दलीय प्रबन्ध कामै नलाग्ने र ‘पत्रु’ भएको समय हो ।
अतः अहिले संसद् मात्र प्रभावकारी भएर हुँदैन, समग्र राजनीतिले ठीक दिशा समाउनुपर्छ । त्यसका लागि देशका मुख्य राजनीतिक शक्तिले मिलेर काम गर्नु आवश्यक हुन्छ ।
यो अर्थमा अहिले संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न महत्त्वपूर्ण हुँदाहुँदै, देश, व्यवस्था, संविधान, कानून र राज्यलाई कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न प्रमुख हो । र, त्यसका लागि मुख्य शक्तिहरू एकठाँउमा आउनु अनिवार्य छ । भविष्यमा यिनीहरूबीचको प्रतिस्पर्धा त छँदैछ ।
स्पष्ट छ कि पछिल्लो गठबन्धनले चाहेमा गर्नसक्ने केही सकारात्मक काम छन् । पहिलो, यसले मिलेर जनआन्दोलनका अपेक्षा र उपलब्धिलाई मान्छेको जीवनसँग जोड्न सुरुवात गर्न सक्छ । दोश्रो, यसले एक तहको स्थायित्व निर्माण गर्न सक्छ । तेश्रो, यसले सेवाप्रवाहलाई प्रभावकारी बनाउन सक्छ ।
चौथो, संविधान निर्माणको मुख्य शक्तिका नाताले त्यसलाई संशोधनमार्फत थप प्रभावकारी र लोकतान्त्रिक बनाउन राष्ट्रिय सहमतिको खाका कोर्न सक्छ । पाँचौँ, सङ्घीयता कार्यान्वयन र प्रदेशको प्रभावकारीताका लागि आवश्यक कानून, नीति र पद्धति बनाउन सक्छ । छैटौँ, स्वच्छ निर्वाचनका लागि आवश्यक राजनीतिक दल र निर्वाचन कानूनको संशोधन गर्नसक्छ ।
के साँच्चै एमाले र कांग्रेसले मिलेर यी काम गर्लान् ? सुन्दा आदर्श लाग्ने यी काम सम्पादन गर्न हामीलाई या त नयाँ आन्दोलनको आवश्यकता थियो । अन्यथा नयाँ चरित्रको राजनीतिक सहकार्य । अहिले नै विशाल आकारको राजनीतिक आन्दोलनको सम्भावना देखिँदैन । अतः यथावस्थामा राजनीतिक सहकार्यका लागि एमाले र कांग्रेस मिल्नुबाहेक अर्को विकल्प थिएन ।
हाम्रो राजनीतिले व्यवस्था, सत्ता र सरकारसँग धेरै खेलबाड गर्यो । अब दुई ठूला दलले राजनीति जादु होइन, सुविचारित प्रयत्न हो भन्ने कुरा स्थापित गर्नुपर्छ । उनीहरूले राजनीति षड्यन्त्र होइन, सुखद प्रयत्न हो भन्ने कुरा स्थापित गर्नुपर्छ । उनीहरूले राजनीति, जोडघटाड र अङ्कगणित होइन, मुद्दाको लडाइँ हो भन्ने कुरा स्थापित गर्नुपर्छ । उनीहरूले राजनीति व्यापार होइन, निष्ठा र नैतिकता हो भन्ने कुरा स्थापित गर्नुपर्छ ।
यद्यपि यो अपेक्षा हो । यही अपेक्षासाथ नयाँ गठबनधनलाई शङ्काको सुविधा दिन सकिन्छ । अन्यथा यति हुन सकेन भने राजनीति अझै केही वर्ष पत्रु नै रहनेछ । यो गठबन्धले पनि कुनै परिणाम दिने छैन । हाम्रो अरु थप केही वर्ष नाश हुनेछन् । हामी दुश्चक्रको भुमरीमा फसिरहने छौँ । अन्यथा अर्को आन्दोलनको प्रतिक्षा गर्नुबाहेक हामीसँग कुनै विकल्प रहने छैन ।
नयाँ गठबन्धन बनिरहँदा प्रमुखताका साथ चर्चामा आएको अर्को विषय हो— संविधान संशोधन । यद्यपि यो सन्दर्भमा दुई मुख्य दलबीच के-कस्ता सहमति भए अझै बाहिर आएका छैनन् । संविधान संशोधनका विषय के हुन् ? संविधान संशोधनको भाव र धारा के हो प्रष्ट छैन । विगतका ऐतिहासिक उपलब्धि सङ्कुचन गर्ने, राष्ट्र र समाजलाई पछाडि फर्काउने गरी संविधान संशोधनको विषय उठेको हो कि अगाडि जानेगरी अझै स्पष्ट छैन । र, यहीनेर कांग्रेस-एमाले गठबन्धनले निम्त्याउन सक्ने जोखिम सबैभन्दा धेरै छ ।
यो गठबन्धनको सबैभन्दा खतरनाक पक्ष के भने अत्यन्तै उत्साहित भएर संविधान संशोधनमा जान खोज्दा देश अर्को जटिलता र सङ्कटमा फस्ने डर छ । मुख्यतः संविधानले सुनिश्चित गरेका उपलब्धिको जगमा अगाडि जानुपर्नेमा पछाडि फर्किने प्रयत्न भयो भने त्यसले देशमा फेरि अर्को असन्तुष्टिको बिउ रोप्नेछ । नयाँ ध्रवीकरण प्रारम्भ हुनेछ । र, त्यसले देशलाई नयाँ द्वन्द्वतिर लैजानेछ ।
यदि कांग्रेस र एमालेले इतिहासको पछिल्लो दायित्व बुझेनन् र सङ्ख्याको अहङ्कारबाटै सबै कुराको छिनोफानो गर्न चाहे त्यो दुर्भाग्य हुनेछ । आशा गरौँ, मुलुक नयाँ द्वन्द्वमा जाने छैन र भविष्यमा लोकतान्त्रिक प्रतिस्पर्धाबाटै सबै कुरा छिनोफानो हुनेछ । किनभने लोकतन्त्र यस्तो व्यवस्था हो, जसले आफ्ना दोष आफैँ निर्मूल गर्ने तागत राख्छ । त्यसैले त भनिन्छ— लोकतन्त्रको विकल्प अझ गहिरो र विस्तारित लोकतन्त्र हो ।
अन्त्यमा यति भनौँ, राजनीतिमा रङ्गहरूको आफ्नै अर्थ हुन्छ । भविष्यमा एमाले र कांग्रेस गठबन्धनको असली रङ्ग कस्तो देखिएला, त्योचाहिँ प्रतिक्षा गरौँ ।
[email protected]
Facebook Comment
Comment