काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ४० औं वर्ष पार गरेको खुसीयालीमा नयाँ योजना सार्वजनिक गर्दै उत्सव मनाएको छ । बैंकले शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना सार्वजनिक गर्दै वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।
४०औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न नयाँ योजनाहरू सार्वजनिक गरेको छ । बैंकले स्थापनाकालदेखि नै आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको थियो । हाल डिजिटल बैंकिङ सेवालाई विशेष प्राथमिकता दिएर बैंकले सेवा सञ्चालन गरिरहेको छ ।
सन् १९८४ मा नेपाल अरब बैंकका नाममा स्थापना भएको नबिल बैंकले बैंकिङ क्षेत्रमा पृथक् पहिचान बनाएको छ । यही पहिचानलाई अझ बलियो बनाउनका लागि बैंकले ४० औं वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक कार्यक्रमहरू सार्वजनिक गरेको हो ।
जसमा बैंकले ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । यस योजनामा सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्षे अवधिको कर्जाको ब्याजदर ९.४ प्रतिशत निर्धारण गरिएको छ । यो योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुनेछ ।
नयाँ खाता खोल्दा सुविधाको अफर
नबिल बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर ल्याएको छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एनबैंक तथा एनबैंक एपको शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइने बैंकले जनाएको छ ।
सुलभ दरमा कर्जा
साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा उपलब्ध गराइनेछ । कृषि तथा उत्पादनमूलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधार दरमा ११५ प्रतिशत प्रिमियममा उपलब्ध गराइनेछ ।
कार्यक्रम बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंकका रूपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताए । उनले ४० वर्षमा नबिल बैंक डिजिटल रूपमा समेत सबै नेपालीको बैक बन्न सफल भएको बताए ।
बैंकहरुले नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभई दिगो विकासका लागि काम गर्न आवश्यक रहेको उनको भनाई छ । बैंकहरु जिम्मेवारी भएर राष्ट्रियताको लागि काम गर्न जरुरी भएकोमा उनले जोड दिएका छन् । ज्ञवालीले आगामी दिनमा नबिल बैंकले सस्तो, सुलभ र सहज सेवा ग्राहकलाई दिने गरी सेवा विस्तार गरिने बताएका छन् ।
त्यस्तै, आफ्नो भनाई राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङका योजना मार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न, र सामाजिक–आर्थिक विकास प्रवर्धन गर्ने परियोजनाहरू अघि बढाउने बताए ।
उनले यस अवसरमा ग्राहक, कर्मचारी, र सेयरधनीलाई धन्यवाद व्यक्त गर्दै दिगो सम्बन्ध कायम राख्ने प्रतिबद्धता जनाए । बैंकले नवप्रवर्तन र प्रविधिमार्फत सरल सेवामा विशेष ध्यान दिएको उनको भनाई छ ।
Facebook Comment
Comment