काठमाडौं । बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनमा अशोक राई उपाध्यक्ष निर्वाचित भए, त्यो पनि सबैभन्दा बढी मतका साथ ।
त्यसताका पार्टीभित्र उनको राम्रै प्रभाव थियो । धेरैले मन पराउँथे । तर, त्यसको एक वर्षपछि नै २०६९ सालमा अशोकले पार्टी नै त्यागे ।
त्यसबेला एमालेभित्र मात्रै होइन, माओवादीलगायतका पार्टीभित्र पनि पहिचानवादी धार हुर्किरहेको थियो । उनले त्यो धारको ‘सेन्टिमेन्ट क्याच’ गर्न एमाले छाडे ।
पार्टीबाट विजय सुब्बा, गोपाल ठाकुर, हेमराज राईलगायतका नेतालाई लिएर हिँडेका अशोकमा अहिले आएर प्रकारान्तरले पुन: एमाले-मोह बढ्दै गएको विश्लेषण गरिन्छ ।
एमाले त्यागेपछि सङ्घीय समाजवादी पार्टी, सङ्घीय समाजवादी फोरम, जनता समाजवादी पार्टी नेपाल हुँदै जनता समाजादी पार्टीसम्म आइपुगेपछि फेरि उनमा आफ्नो पुरानो पार्टीप्रतिको मोह बढेको हो !
पछिल्लो संसदीय निर्वाचन एमालेकै प्रमुख समर्थनमा जितेका अशोकले नेपाली कांग्रेससँगको नयाँ गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सन्दर्भको हतार-हतार समर्थन गरे ।
जबकि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि उनको पार्टीले राम्रो भाग पाएको थियो । जनता समाजवादी पार्टी नेपालबाट जनता समाजवादी पार्टी गठन गरेपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको अशोकको पार्टीबाट दुईजना मन्त्री र एक राज्यमन्त्री थिए ।
सात सदस्यीय संसदीय दल भएको अशोकको पार्टीले २ देशका राजदूतसमेत सिफारिस गर्न पाएको थियो ।
यतिसम्म कि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी नेपाल विभाजन गर्न सघाएको बताइन्थ्यो । एक हदसम्म त्यो साँचो पनि हुँदो हो ! किनकि त्यसबेला उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग मिलेर सत्ता परिवर्तन गर्ने ध्याउन्नमा लागेको बताइन्थ्यो । त्यसकारण प्रचण्डले तत्कालीन समयमा पार्टीका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोकलाई पार्टी विभाजन गर्न सघाए । त्यसले उनलाई पनि फाइदा नै गर्दथ्यो ।
आफ्नो पार्टी विभाजन भएको बखत उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको ‘पोर्टफोलियो’ बोकेर अमेरिका पुगेका उपेन्द्र यादव पछि नेपाल फर्किएर पार्टी विभाजनमा प्रधानमन्त्री प्रचण्डको पनि हात रहेको आरोप लगाएका थिए । प्रधानमन्त्री प्रचण्ड त्यसको जवाफ दिन बाध्यसमेत भएका थिए ।
पार्टी विभाजनका लागि सघाएको भन्ने हल्ला नै सही; पछि अशोकको पार्टीले सरकार छाड्दा प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले ‘… यस्तो सोचेका थिएनौँ’ भनेर प्रतिक्रिया दिए ।
अनौपचारिक कुराकानीका क्रममा माओवादी केन्द्रका एक पदाधिकारीले पङ्क्तिकारसँग भने, “जसपाले चाहिँ यति चाँडै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ जस्तो लागेको थिएन । त्यसका आन्तरिक कारणहरू पनि थिए ।”
तर, त्यस्तो भएन । अशोकले असार १७ गते एमाले-कांग्रेसबीच भएको नयाँ सत्तासमीकरण र सरकार निर्माणको निर्णयलाई हतार-हतार समर्थन जनाए ।
जनता समाजवादी पार्टी गठनयता अशोकले एमालेभित्रै पस्ने’ सोच बनाइसकेको उनका निकटवर्ती बताउँछन् । त्यसो त अहिले अशोक एमालेसँग नजिकै छन् । यो स्वयम् उनी आफैँ स्वीकार्छन् ।
पछिल्लो संसदीय निर्वाचन पनि एमालेकै समर्थनमा जितेको उल्लेख गर्दै नेपालभ्युजसँग अशोकले भने, “एमालेसँग अहिले नजिक छु, यो लुकाउने कुरा भएन । तपाईंहरूले पनि देखिरहनुभएकै छ । दलहरूबीच सहमति-सहकार्य चलिरहन्छ ।”
अशोकको पार्टीमा सात सांसद छन् । संसदीय गणितमा सात ठूलो सङ्ख्या होइन तर, त्रिशङ्कु संसद्मा कहिलेकाहीँ १ सांसद पनि निर्णायक हुन पुग्छ । त्यसको उदाहारण हामीले भर्खरै गण्डकी प्रदेशमा देख्यौँ । त्यहाँ नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाको हातमा सरकार ढाल्ने र कायम राख्ने वैधता पुगेको थियो ।
यस्तो अवस्थामा सात कहाँ हो कहाँ, ठूलो सांसद सङ्ख्या भइहाल्यो । यसकारण एमाले-कांग्रेसले अशोकलाई नअपनाउने कुरै भएन । तर, के अशोक एमालेभित्रै छिर्ने सोचमा छन् ? उनी स्पष्टीकरण दिन्छन्, “अहिले नै सोचिसकेको छैन । तर, सहमति र सहकार्य निरन्तर गर्न सकिन्छ । यसबाट भाग्नु हुँदैन, भाग्दैनौँ । जहाँसम्म चुनावको कुरा छ, त्यो त पार्टीले आफ्नै तागतमा जित्ने प्रयास गर्ने हो । अनुकूल हुँदा एकले अर्कोलाई समर्थन गर्ने परम्परा छँदैछ ।”
तर, कतिपयले भने अशोकले जनता समाजवादी पार्टी नेपालबाट जनता समाजवादी पार्टी गठन गर्दैगर्दा नै एमालेतिरै फर्किने त होइनन् भन्ने आशङ्का व्यक्त गरेका थिए । अशोकसँगै एमाले छाडेका तर, अहिले एमालेमै फर्किएका एक नेता भने अशोक एमालेसम्मै आइपुग्ने ठोकुवा गर्छन् ।
ती नेताको बुझाइमा मूलत: त्यसका तीन कारण छन् । पहिलो- अशोक एमाले पृष्ठभूमिकै नेता हुन् । दोस्रो- एमालेसँग मिल्दा मात्रै अशोकको पार्टीले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउँछ र तेस्रो- पार्टीका धेरै नेतालाई चुनाव जित्न एमालेले सघाउनुपर्छ ।
ती नेताको थप व्याख्या छ, “अशोक पहिले माले हुँदै एमालेके नेता हुन् । त्यसकारण उनमा कहीँ न कहीँ एमालेकै मोह छ कि ! फेरि उता पहिचानको मुद्दा पनि राम्रोसँग उठेन । अशोक अहिले पूर्वको पहिचानको आन्दोलन हेरेर अघाएका छन् ।”
दोस्रो कारणबारे ती नेता प्रष्ट्याउँछन्, “अहिले धेरै दललाई तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन गाह्रो छ । उता दुई दुई पूर्वप्रधानमन्त्री भएको एकीकृत समाजवादी त राष्ट्रिय पार्टी बनेन । अनि अशोकले एमालेसँग नमिली कसरी थ्रेसहोल्ड कटाउँछन् ।”
ती नेता अशोक मात्रै नभएर राजेन्द्र श्रेष्ठ, रेणु यादव, इस्तियाक राईलगायतका नेताहरूलाई चुनाव जित्नका लागि उनीहरूको क्षेत्रमा एमालेकै समर्थन चाहिने बताउँछन् ।
अशोक एमालेमै पुन: फर्किएलान् नफर्किएलान्, पछि देखिएला । तर, यदि उनी पुन: एमाले फर्किए भने पहिचानवादी मोर्चा र नेताहरूको नजरमा भने नमज्जाले गिर्नेछन् ।
अशोक जतिको पहिचानलाई नै मुद्दा बनाएर नेता बनेको व्यक्तिले पूर्वको आन्दोलनमा खास ‘रेस्पोन्स’ नगरेको भनेर भित्रभित्रै आलोचना भइरहेको अवस्थामा उनको थप आलोचना हुनेछ ।
त्यसो त यता एमाले पहिचानवादीको नजरमा पूरै बदनाम छ । त्यसका अध्यक्ष केपी शर्मा ओलीसँग पहिचानवादी खुवालुङ भत्काएर पानीजहाज चलाउने अभिव्यक्ति, तत्कालीन प्रदेश नं. १ नाम कोशी राखेको निर्णयलगायतका कारण बिच्किएका छन् ।
यो सन्दर्भ विचार गर्दा अशोकले एमालेमै मिसिने निर्णय गर्न डराउलान् भनेर अनुमान लगाउन सकिन्छ । तर, शान्त र भद्र नेताका छवि बनाएका उनले कुनै दिन हाँस्दै ‘एमालेमै फर्किएँ’ भन्ने घोषणा गरे भने आश्चर्य भने हुने छैन ।
एमालेलाई फाइदै-फाइदा
त्यसो त अशोकको पार्टी मिसिँदा एमालेलाई पनि फाइदा नै फाइदा हुन्छ । अहिलेको संसद्मा ऊ पहिलो ठूलो त दल त हुँदैन । तर, पहिलो ठूलो दल कांग्रेसभन्दा तीन सांसदले मात्रै कम हुन्छ ।
अहिले कांग्रेस ८८ सांसदका साथ पहिलो दल छ भने एमाले ७८ सांसदका साथ दोस्रो ठूलो दल हो । यदि अशोकको पार्टी मिसिँदा एमालेको सांसद सङ्ख्या ८५ हुन्छ ।
यस्तै अशोकसँग अहिलेसम्म पहिचानवादीको एउटा धार छँदैछ । त्यो धार मिसिँदा पुग्दा एमालेलाई फाइदा हुने नै भयो ।
एमालेका एक पदाधिकारी अशोकलाई पार्टीमा पुन: स्वागत गर्न आफूहरू सधैँ तयार रहेको बताउँछन् । “उहाँ पहिले हाम्रै नेता हुनुहुन्थ्यो, पछि पार्टी छाड्नुभयो । उहाँ फेरि पार्टीमा आउँदा हामी खुसी नै हुन्छौँ । हामी जतिबेला पनि उहाँलाई पुनर्स्वागत गर्न तयार छौँ,” ती पदाधिकारी भन्छन् ।
Facebook Comment
Comment