काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् ।
मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् ।
उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनी बुटी बन्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए ।
उत्पादनमुलक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने उनको भनाई छ ।
मागमा आएको संकुचनको कारण उद्योगीहरूको ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
‘पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्द्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्छ’, उनले भने ‘बैंक तथा वित्तीय संस्थासँगै व्यवसायलाई माथि उठाउने हिसाबले मौद्रिक नीति सञ्जीवनी बुटी बन्नुपर्छ ।’
उनले सबै ऋणीले नियतवश कर्जा नतिरेको नभई वास्तविक रूपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । कर्जा चुक्ता गरे लगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्न उनले सुझाव दिएका छन् ।
Facebook Comment
Comment