काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनमा वाम गठबन्धनले अग्रता कायम गरेको छ । संसदीय निर्वाचनको दोस्रो चरणमा भएको मतदानको सर्वेक्षण अनुसार वाम गठबन्धनले अन्य दललाई उछिनेको देखाएको हो ।
सर्वेक्षणको परिणामले फ्रान्समा यसपटक आश्चर्यजनक नतिजा आउने देखाएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी राष्ट्रिय र्याली पार्टी आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको देखिन्छ ।
वामपन्थी र मध्यमार्गी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण दोस्रो चरणको मतदानमा वाम गठबन्धनको पक्षमा बढी भोट खसेको आकलन गरिएको छ ।
एक साताअघि भएको पहिलो चरणको मतदानमा दक्षिणपन्थी राष्ट्रिय र्याली (आरएन) पार्टीले अग्रता लिए पनि अहिले दोस्रो चरणमा न्यू पपुलर फ्रन्ट (एनएफपी) ले सबैभन्दा बढी मत ल्याउने देखिन्छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनको मध्यमार्गी पार्टी एसेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ ।
कुनै पनि गठबन्धनले बहुमत ल्याउन सक्ने अवस्था नदेखिएपछि अब प्रधानमन्त्री को हुने हो भन्ने स्पष्ट भइसकेको छैन । म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् ।
वामपन्थी फ्रान्स अनबाउड पार्टीका नेता जीन–लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीविरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् । मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकले विजय र्याली गरिरहेका छन् ।
राष्ट्रिय र्यालीका नेता जोर्डन बर्डेलाले ’बेइमानहरूको गठबन्धन’ ले आफ्नो पार्टीलाई सत्ताबाट धकेलेको र फ्रान्सलाई कट्टरपन्थी वामपन्थीको हातमा पुर्याएको टिप्पणी गरेका छन् ।


Facebook Comment
Comment