काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गरेका छन् । आइतबार काठमाडौंको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गरेका हुन् ।
जगन्नाथ रथ यात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिबाट सुरु हुने गर्दछ । सो अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा फूल अक्षताले पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्ति दर्शन गरेका थिए । जगन्नाथलाई भगवान् विष्णुको रुपमा लिने गरिन्छ ।
धार्मिक मान्यता अनुसार एक पटक बहिनी सुभद्राले आफ्ना भाइ कृष्ण र बलरामलाई सहर हेर्ने इच्छा व्यक्त गरे । त्यसपछि दुवै दाजुभाइले बहिनी सुभद्राको लागि तयार पारेको भव्य रथ ल्याइ त्यसमा सवार तीनै जना सहर घुम्न निस्किए । बाटोमा तीनै जना गुण्डिचामा काकीको घरमा पनि गए र त्यहाँ ७ दिन बसे ।
सहरको भ्रमण सकेर पुरी फर्किए । त्यस बेलादेखि हरेक वर्ष तीनै दाजुभाइ र दिदीबहिनी रथमा चढेर सहर घुम्न र काकीको घर गुण्डिचा मन्दिर जान्छन् । यी मध्ये बलरामको रथ अगाडि, बहिनी सुभद्राको रथ बिचमा र जगन्नाथको रथ पछाडि रहने गर्दछ ।
Facebook Comment
Comment