के कानूनले ‘सोसल मिडिया’ को कुलत हटाउन सक्दछ ?

सामाजिक सञ्जाल राज्यका सीमाभित्र बस्दैनन्, तिनले अन्तर्राष्ट्रिय सीमासमेत पार गरेका हुन्छन् । स्थानीय प्रतिबन्धहरू सहानुभूतिशील त बन्लान् तर, प्रभावकारी हुन सक्दैनन् ।

के कानूनले ‘सोसल मिडिया’ को कुलत हटाउन सक्दछ ?

न्यूओर्क गवर्नर क्याथलिन होकल ‘सोसल मिडिया’ बारे बडो प्रष्ट दृष्टिकोण राख्दछिन् । यो वर्षको सुरुमै उनले १८ वर्ष मुनिका बालबालिकालाई अनलाइन संसारको खतराबाट जोगाउन बनाइएका दुई राज्यस्तरका कानूनमा हस्ताक्षर गरिन् ।

हस्ताक्षर कार्यक्रममा उनले भनिन् “त्यस्ता थुप्रै एप्स छन्, जसले खुसी र भाग्यशाली बच्चाहरूलाई किशोर अवस्थामै अवसादतिर धकेल्दैछन् ।” उनले हस्ताक्षर गरेका कानूनले ती किशोरकिशोरलाई त्यस्तो अवसादबाट रोक्न मद्दत गर्नेछ ।

उनले अगाडि थपिन्, “आज हामीले हाम्रा बच्चालाई जोगाउन पर्दछ । सामाजिक मिडिया फिडहरूको कुलतले राष्ट्रभर युवालाई मानसिक स्वास्थ्य संकटको सामना गर्नुपर्ने बनाएको छ ।”

यो ऐनले सामाजिक मिडियाको अल्गोरिदभलाई नियमन गर्नेछ । १८ वर्ष मुनिका बालबालिकालाई एप्समार्फत कुनै सामग्री पठाउँदा अभिभावकको स्वीकृति आवश्यक पर्नेछ । साथै, किशोरकिशोरीलाई मध्यरातदेखि बिहान ६ बजेसम्म कुनै सामग्री पठाउन रोक लगाउँछ । यस्ता कानून युवाको मानसिक स्वास्थमा सामाजिक मिडियाको बढ्दो प्रभावप्रतिको चिन्ताका अंश हुन् । सर्जन विवेक मूर्तिका भनाईमा ‘सामाजिक मिडिया एप्स युवाका लागि सूचनाका सिगरेट प्याकेट’जस्तै हुन् ।

अमेरिकामा मात्र हैन, आज संसारभर सामाजिक मिडिया एप्सले युवाको मानसिक स्वास्थ्य संकटलाई बढाएको छ भन्ने धारणा बढ्दो छ । तर, ‘सामाजिक मिडिया’ र ‘मानसिक स्वास्थ्य’ समस्या सम्बन्ध देखाउने विज्ञान धेरैका यी अनुमानभन्दा कमै स्पष्ट छ । यथार्थमा धेरै अध्ययनले यो देखाएका छन् कि सामाजिक मिडिया किशोरकिशोरीको मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुन सक्दछ ।

प्रविधि विशेषज्ञ तथा बाल मनोवैज्ञानिक राजनीतिज्ञका यस्ता हस्तक्षेपलाई ‘नैतिक आतंक’ को संज्ञा दिन्छन् । नीति पैरवीकर्ता तथा सामाजिक मिडिया विशेषज्ञ यस्ता कानूनी हस्तक्षेप लागू गर्न कति सजिलो होलान् भनेर प्रश्न उठाउँछन् ।

ती भन्छन् कि यस्ता कानून सामाजिक मिडियाका वास्तविक समस्या जस्तै कि बाल यौन दुर्व्यवहार सामग्री, गोपनीयताको अधिकार उल्लङ्घन, घृणा फैलाउने भाषण, गलत सूचना, अवैध तथा खतरनाक सामग्री आदिलाई रोक्न धेरै कमजोर हुनेछन् ।

मिश्रित सन्देश

धेरै अध्ययनले यो पुष्टि गर्दैनन् कि कमजोर मानसिक स्वास्थ्य समस्याग्रस्त सामाजिक मिडिया प्रयोगको उपज हो । बरु मानसिक स्वास्थ्य दुश्चिन्ताका विभिन्न रूपसँग सम्बन्धित हुन्छ । जस्तो कि अवसाद, दबाब र तनाव ।

कतिपय अध्ययनले के देखाउँछन् भने काममा भएका चिन्ताको मात्रा सामाजिक मिडियामा बिताएको समयको अनुपातमा बढ्न सक्दछ । तर, तेस्रो प्रकारका अध्ययनले भने सामाजिक मिडियाको प्रयोगले मनोवैज्ञानिक समस्या जटिल भएको कुनै प्रमाण फेला पार्दैनन् ।

सन्तुलित सामाजिक मिडियाले व्यक्तिलाई सामुदायिक र सृजनशील भावनासँग जोडेर फाइदा दिएको निष्कर्ष निकाल्ने अध्ययन पनि भएका छन् । एक सर्वेक्षणका उत्तरदाताअनुसार सामाजिक मिडियाले उनीहरूलाई नकारात्मकभन्दा बढी सकारात्मक फाइदा दिएको देखाउँछ ।

५८ प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ता युवाले आफ्नो सामाजिक स्वीकार्यता बढाउन सामाजिक मिडिया सहयोगी भएको बताए भने ८० प्रतिशतले यसलाई आफ्ना साथी र जीवन व्यवहारसँग जोडेको बताए ।

३२ देशका १३९ अध्ययन समष्टी एक ‘महाविश्लेषण’ ले बितेका ७ वर्षमा सामाजिक मिडियाले मानसिक स्वास्थ्य समस्या बढाएको कुनै तथ्य फेला पार्दैन । तर, त्यस्ता केही देशमा भने यो समस्या बढेको देखाउँछ, जुन देश न्यून आय समूहमा पर्दछन् ।

मिश्रित प्रतिक्रिया

केही अनलाइन सुरक्षा विशेषज्ञले न्यूओर्क नयाँ कानूनको स्वागत गरेका छन् । जबकि यो कानून यूकेको अनलाइन सुरक्षा कानूनभन्दा बढी बृहत् र कम लक्षित छ ।

मोली रोज फाउन्डेसनका सल्लाहकार एन्डी बुरोज भन्छन्, “प्रविधिले आफ्नो एल्गोरिदमलाई शुद्ध राख्ने र बालबालिकाका लागि ठूलो नोक्सानी हुन सक्ने आत्महत्या वा आत्महानी सिफारिस गर्ने सामग्री रोक्ने एक मात्र तरिका नियमन नै हो ।”

यो संस्था मोली रोसेलका अभिभावकले स्थापना गरेका हुन्, जसले २०१७ मा सामाजिक सञ्जालमा आउने आत्महत्या गर्न उत्प्रेरित गर्ने श्रृंखलाबद्ध सामग्रीबाट प्रेरित भएर आत्महत्या गरेकी थिइन् । बुरोज क्याथलिन होकलका नयाँ र द्रुत कानूनहरू अमेरिकी सङ्घीय कानूनको तुलनामा अनुकूल मान्दछन् ।

अलाबामा विश्वविद्यालयका डिजिटल मिडिया सहायक प्राध्यापक जेस म्याडक्स भन्छिन्, “अमेरिकाका केही राज्यले सामाजिक मिडिया नियमन गर्ने प्रयास गरिरहेका छन् र यो राम्रो कुरा हो ।”

तर, सबैका प्रतिक्रिया ठीक यस्तै भने छैनन् । सामाजिक सञ्जाल कम्पनीको एक प्रतिनिधिमूलक संस्था नेटचोइसले उक्त कानूनलाई ‘असंवैधानिक’ र ‘भारी हात’ भनेको छ । साथै यस्ता कानूनले उल्टै नराम्रो अवस्था सृजना गर्न सक्ने चेतावनी दिएको छ ।

मेटा कम्पनी; जसले फेसबूक, इस्टाग्राम र ह्वाट्सएप चलाउँछ । यसका प्रवक्ता भन्छन्, “हामी यी कानूनको पक्षमा त छैनौँ तर, सामाजिक मिडिया एप्स उत्तरदायित्वलाई कानूनतः नियमनको मान्यता दिने पहिलो राज्यका रुपमा न्यूओर्क कानूनको स्वागत गर्दछौँ । हामी यी दृष्टिकोणलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर नीति निर्मातासँग मिलेर काम गर्न चाहन्छौँ ।”

कानून लागू गर्न गाह्रो

सामाजिक सञ्जाल मञ्चहरू नियमन गर्ने दृष्टिकोणले दीर्घकालमा खराब नजिता निकाल्ला कि भन्ने डर पनि धेरैमा देखिन्छ ।

जस्तो कि जेस म्याडक्स भन्छिन्, “नियमन गर्ने प्रयत्न राम्रै हो तर, मेरो प्रशंसा त्यहा पुगेर सकिन्छ, अब आशंका सुरु हुन्छ कि ती कानून कसरी लागू होलान् ?”

अमेरिकामा राज्यपिच्छे पोर्नोग्राफीक वेबसाइट पहुँच कानून फरक छ । उमेर समूह कसरी पहिचान, लक्षित र वर्गीकृत हुन्छ, प्रष्ट छैन । यस्तो कानून बनाउँदैमा सोसल मिडियाको कुलत कम हुन्छ भनेर ग्यारेन्टी गर्न सम्भव छैन ।”

सम्भवत: यस्ता विषयमा राज्यस्तरका कानूनभन्दा एक विकसित र लागू गर्न योग्य सङ्घीय स्तरको कानून हुनु राम्रो हो ।

सामाजिक सञ्जाल राज्यका सीमाभित्र बस्दैनन्, तिनले अन्तर्राष्ट्रिय सीमासमेत पार गरेका हुन्छन् । स्थानीय प्रतिबन्धहरू सहानुभूतिशील त बन्लान् तर, प्रभावकारी हुन सक्दैनन् । यस्ता स्थानीय प्रयत्नहरू लामो अवधिका लागि उपयोगी नहुन सक्दछन् ।

जेरार्डको यसबारे आफ्नै चिन्ता छ । उनी भन्छन्, “सत्तामा बसेका मान्छेले लागू नहुने कुरामा कतै बहुमूल्य समय बर्बाद गरिरहेका त छैनन् ?”

अझ कतिपय विज्ञहरूको भनाइमा यसको विश्वव्यापी नियमन हुनुपर्दछ । त्यसका लागि एआई नियमन प्रारूपहरू तयार गर्न सकिन्छ । तर, एक विश्वव्यापी सहमति आवश्यक पर्नेछ । सामाजिक मिडियाको भविष्यलाई लिएर एक युद्ध भर्खरै सुरु मात्र भएको छ ।

(बीबीसी अंग्रेजीबाट संक्षेपीकरणसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved