काठमाडौं । म्याग्दीका बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले १२ करोड रुपैयाँ खर्चिएर कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो ।
नदी किनारमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण गरिएको छ ।
खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर नरजङ्ग गुरुङले बताए । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा दुई सयभन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।
पर्खाल निर्माण भएसँगी ती घर र भवनहरु सुरक्षित हुने अपेक्षा गरिएको छ ।
मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा यसअघि करिब चार सय मिटर पक्की पर्खाल निर्माण भएको थियो ।
परियोजनामार्फत करिब ४८ करोड लागतमा सञ्चालित सात वटा ठेक्काको योजना सम्पन्न हुने चरणमा छन् । भसभसे पहिरो र कटान नियन्त्रण योजनाको काम भने गत वर्ष नै सकिएको छ ।
बेनी बजार, गलेश्वर क्षेत्र, राम मन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा हुने कटान नियन्त्रणका लागि संरचना निर्माण गरिएको हो ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ ।
परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।
बेनी नगरपालिका–४ सिंगा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आर्थिक वर्षमा बजेट प्रस्ताव गरिएको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताए ।
रासस
Facebook Comment
Comment