एकीकृत समाजवादी प्रवेश गर्लान् भीम रावल ? कार्यकर्तासँग सुझाव सङ्कलन गर्दै

एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालभ्युजसँग भने, “भीम रावलजी छिट्टै नै हाम्रो पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ । अहिले औपचारिक/अनौपचारिक संवादमा छौँ ।

एकीकृत समाजवादी प्रवेश गर्लान् भीम रावल ? कार्यकर्तासँग सुझाव सङ्कलन गर्दै

काठमाडौं । २०७८ मंसिर २२ मा भएको नेकपा (एमाले) को दशौं महाधिवेशनमा भीम रावल केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिए, उनका लागि त्यही ‘अभिशाप’ बन्यो ।

अध्यक्षमा ओलीसँग पराजित भएपछि ‘रसातल’ मा पुर्‍याइएका उनले केन्द्रीय सदस्यसमेत इन्कार गरे । तर, उनले पार्टीमा आफूलाई फरकखाले भूमिका दिइनुपर्ने बताउन भने छाडेनन् ।

त्यही क्राममा उनले पार्टीले आफूलाई जिम्मेवारी नै नदिएको सार्वजनिक अभिव्यक्ति दिए । त्यसपछि पार्टीले उनलाई के जिम्मेवारी दिने भन्नेबारे निर्क्योल गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहनेगरी एउटा कार्यदल बनायो । कार्यदलले एक चरणको छलफलपछि अध्यक्ष ओलीसँगै संवाद गराउने निष्कर्ष निकाल्यो ।

त्यसअनुरूप २०८० साउन ३० गते ओली र रावलबीच पार्टी मुख्यालय, च्यासलमा दुई घण्टा वार्ता भयो तर, सहमति निस्केन । भेटमा आफूले उपाध्यक्ष बन्न सुझाव दिएको तर, रावलले नमानेको भन्दै ओली चिढिए । त्यसयता उनीहरूबीच भेटवार्ता भएको छैन ।

कार्यदलका सदस्यसमेत रहेका पार्टीका सचिव लेखराज भट्ट रावललाई जिम्मेवारी दिनेबारे कुनै निर्णय भइनसकेको बताउँछन् । “हामी बस्दा उहाँले अध्यक्षसँग मेरा केही विषयगत कुराहरू छन्, म उहाँसँगै बस्छु भन्नुभयो । त्यसपछि उहाँहरू बस्नु पनि भयो । त्यसपछि केही भएको छैन । जिम्मेवारी दिनेबारे पार्टीले निर्णय गरेको छैन,” भट्टले नेपालभ्युजसँग भने, “उहाँ केन्द्रीय सल्लाहकार परिषद्‌मा हुनुहुन्छ । उहाँले त्यही जिम्मेवारी सम्हाल्नुपर्ला ।”

त्यसपछि पुन: भेट्न ओलीले नै अस्वीकार गरेको बताइन्छ । ओलीले वैशाख ८ र ९ गते पार्टीले गरेको पहिलो महाधिवेशन प्रतिनिधि परिषद्‌को बैठकमा समेत बोलाएनन् । त्यसलाई रावलले ‘पार्टीले आफूलाई निषेध गरेको’  रूपमा अर्थ्याउँदै आफूलाई ‘राजनीतिको घुम्तीमा धकेलेको’ बताएका थिए ।

अहिले भने रावल गृहजिल्ला अछाममा छन् । आफूनिकटका नेता/कार्यकर्ताहरूसँग बृहत् संवाद गर्ने र प्राप्त सुझावअनुरूप निर्णय लिने भन्दै गत जेठ १८ गते अछाम लागेका उनी अझैसम्म त्यही छन् । अहिले पनि नेता/कार्यकर्ताहरूसँगै संवाद गरिरहेका छन् ।

अछामसँगै उनले दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लाका नेता/कार्यकर्ताहरूसँग संवाद जारी राखेका छन् । उनीनिकट नेता एकिन्द्र कुँवरका अनुसार रावलले संवाद गरिसकेपछि त्यहाँबाट प्राप्त सुझावअनुसार निर्णय लिनेछन् र थप पूर्वको यात्रामा निस्किनेछन् ।

आफूनिकट नेता/कार्यकर्तासँग संवादमा रहेका उनले कस्तो निर्णय लिन्छन्, हेर्न बाँकी छ । तर, यता एमालेबाटै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) का नेताहरूले भने रावल आफ्नै पार्टीमा प्रवेश गर्ने जिकिर गर्छन् ।

एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालभ्युजसँग भने, “भीम रावलजी छिट्टै नै हाम्रो पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ । अहिले औपचारिक/अनौपचारिक संवादमा छौँ । सम्भवत: महाधिवेशन (असार१६-२०) पछि उहाँ पार्टीमा जोडिनहुनेछ ।”

रावलले भने आफूले त्यसबारे निर्णय लिइनसकेको बताउँछन् । नेता/कार्यकर्ताहरूसँगको संवादबाहेक अरुमा ध्यान नदिएको उल्लेख गर्दै उनले नेपालभ्युजसँग भने, “एकीकृत समाजवादीमा जानेबारे केही निर्णय लिइसकेको छैन । म अहिले अछाममै छु । थप केही सोचेको छैन ।”

त्यसो त कतिपयले रावल छुट्टै पार्टीमार्फत अगाडि बढ्ने आकलन गर्छन् । कतिपय नेता/कार्यकर्ताहरूले त्यसैगरी अगाडि बढ्न सुझावसमेत दिने गरेका छन् । त्यसमा उनले कुन बाटो रोज्छन्, त्यो भने पछि नै देखिएला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved