काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीयकरण हाबी हुँदा आउनुपर्ने ‘आउटकम’ नआएको बताएकी छन् ।
मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । “शिक्षामा लगानी नभएको होइन,” मन्त्री श्रेष्ठले भनिन्, “मज्जाले लगानी भएको छ तर, बढी दलीयकरण हुँदा जति आउनुपर्ने हो, त्यति आउटकम आएन ।”
उनले शिक्षामा हुने दलीयकरणलाई पूर्ण रूपमा हटाएर मात्रै अगाडि बढ्न सकिने दोहोर्याइन् । त्यसो त उनी सुरुदेखि नै शिक्षकहरूको दलीय आबद्धताका विरुद्ध खह्रो उत्रिएकी छन् ।
यस्तै उनले शिक्षामा ‘गुणस्तर’ भन्ने शब्दलाई विशेष रूपमा बुझ्नुपर्ने बताइन् । “गुणस्तर भन्ने कुरामा साझा बुझाइ बनेपछि मात्रै हामी अगाडि बढ्न सक्छौँ । त्यसलाई साझा रूपमा बुझेपछि बल्ल समस्या ट्र्याक गर्न सहज हुन्छ, अकाउन्टीबिलिटी हुन सहज हुन्छ । अनि कहाँनेरबाट अगाडि बढ्ने हो भन्ने पहिचान हुनसक्छ,” उनले भनिन् ।
मन्त्री श्रेष्ठ अबदेखि विश्वविद्यालयले तीन महिनाभित्र परीक्षा नतिजा प्रकाशन गर्ने बताइन् । आफूले भीसीलगायतका विश्वविद्यालयका सम्बन्धित निकायसँग छलफल गरेको उल्लेख गर्दै यस्तो बताएकी हुन् । “उहाँहरूले विगतमा केही नतिजा खप्टिँदा समस्या भएको भन्नुभयो तर, अबचाहिँ तीन महिनाभित्र निकाल्ने प्रतिबद्धता जनाउनुभएको छ,” उनले भनिन् ।
यहीबीच उनले शिक्षक सरुवा निर्देशिकाले सरुवा प्रक्रियालाई सन्तुलित बनाउने दाबी गरिन् । गत जेठ १४ गते मन्त्रालयबाट पारित भएको निर्देशिकामा शिक्षकहरूको सरुवाबारे विगतको भन्दा फरक प्रावधान राखिएको छ ।
पहिलेको प्रावधानअनुरूप एकजना शिक्षकले सरुवा हुनका लागि सरुवा प्रस्ताव प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, सम्बन्धित पालिका र इकाइबाट पारित हुनुपर्थ्यो तर, नयाँ संशोधित निर्देशिकामा उनीहरू समन्वयकारी भूमिका मात्रै रहने उल्लेख छ ।
“पहिलेको प्रावधानअनुरूप राजनीतिक पहुँच भएका शिक्षकहरूले मात्रै सरुवा पाउँथेँ । अब त्यस्तो छैन । त्यहाँ हामीले एउटा मानकका रूपमा सम्बन्धित विद्यालयमा सबैभन्दा लामो सेवा गरेको शिक्षक सरुवाको पहिलो प्राथमिकतामा रहने भनेर बनाएका छौँ,” उनले भनिन् ।
Facebook Comment
Comment