‘विट द स्पिड’मार्फत वर्ल्डलिंकले भेटायो नेपालको सबैभन्दा छिटो सात बलर 

नेपालभ्युज

‘विट द स्पिड’मार्फत वर्ल्डलिंकले भेटायो नेपालको सबैभन्दा छिटो सात बलर 

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले ‘विट द स्पिड’ अभियानमार्फत नेपालको सबैभन्दा छिटो सात बलर भेट्टाएको छ । देशका १८ भन्दा बढी सहरहरुमा ‘विट द स्पिड’ अभियान सञ्चालन गर्दै वल्र्डलिंकले सबैभन्दा छिटो बलरको खोजी गरेको थियो ।

यस अभियान अन्तर्गत २००० भन्दा बढी युवाहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए । पूर्व बिर्तामोड सहरबाट सुरु गरी दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगन्ज, हेटौडा, काठमाडौँ, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगन्ज, धनगढी तथा महेन्द्रनगरमा सम्पन्न भएको थियो ।

यो अभियान क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को सहयोगमा आयोजना गरिएको हो । नेपालका १८ सहरहरूमा युवाहरूको उत्साहजनक सहभागिता रहेको यस अभियानबाट उत्कृष्ट सात फास्ट बलरहरू काठमाडौंमा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।

जसमा लुम्बिनीबाट प्रदीप जैसवाल उमेर १९, हेटौडाबाट राहुल कुमार यादव उमेर १४, घोराहीबाट आयुष ओली उमेर १७, काठमाडौँबाट मिलन लुइँटेल उमेर २७, बुटवलबाट सन्देश थापा उमेर २१, महेन्द्रनगरबाट रबी दमाई उमेर १५ र धनगढीबाट आयुष द्वारीया उमेर १७ अन्तिम सात प्रतियोगिका रूपमा छानिएका छन् ।

नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ए टिमका बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योग, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने जानकारी वर्ल्डलिंकले दिएको छ ।

यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नई स्थित प्रतिष्ठित ‘एमआरएन पेस्ट फाउन्डेसन’मा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने छ ।

यस प्रतिस्पर्धाको सम्पूर्ण गतिविधिहरू सहितको शृङ्खला वर्ल्डलिंक कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानल मार्फत प्रसारण गरिने जनाएको छ । साथै यसको विजेता घोषणा समेत सोही भिडियो मार्फत गरिनेछ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सोमपाल कामी एम्बेस्डर रहेको यस ‘विट द स्पिड’ अभियानले नेपालभर रहेका प्रतिभाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भविष्यमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ ।

वर्ल्डलिंक कम्युनिकेसनद्वारा आयोजित यस्ता अभियानहरूले नेपालमा युवा प्रतिभालाई प्रोत्साहित गर्नुका साथै युवा खेलाडीहरूलाई खेलकुद तथा अन्य क्षेत्रमा आफ्नो सपना पूरा गर्ने प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेको छ ।

यस अभियानका सम्पूर्ण १८ वटा सहरहरुको प्रतिस्पर्धात्मक कार्यक्रमका भिडियोहरू यस कम्पनीको फेसबुक तथा युट्युब च्यानलमा उपलब्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved