काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराउनुपर्ने बताएका छन् ।
स्वीट्जरल्याण्डको जेनेभामा सुरू भएको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा रहेका उनले यस्तो बताएका हुन् ।
“जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ,” सम्बोधनका क्रममा उनले भनेका छन्, “हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन ।”
अगाडि उनले भनेका छन्, “पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायत हाम्रा हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडमा परिणत हुन थालेका छन् । हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन् । जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्नुका साथै लाखौं मानिसलाई गरिबी र असमानतातर्फ धकेलिरहेको छ । जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ ।”
Facebook Comment
Comment