सभामुखसँग यूएईका राजदूतको शिष्टाचार भेट

नेपालभ्युज

सभामुखसँग यूएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका छन् ।

भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गरेका थिए ।

उनले यूएईले‍ स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए ।

‘यूएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि यूएईको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दछु’, उनले भने ।

सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा यूएई सरकारको प्रशंसा गर्दै उनीहरुको रोजगार तथा जीवन सुरक्षाकालाई विशेष ध्यान दिन अपिल गरे ।

यूएईमा मात्रै करिब ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।

सभामुखले हालै काठमाडौंमा सम्पन्न तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा यूएईलाई धन्यवाद व्यक्त गरे । उनले नेपालबाट अलैंची, चिया लगायतका कृषिजन्य उत्पादन निर्यातको प्रचुर सम्भावना रहेको बताउँदै आवश्यक सहजीकरणका लागि आग्रह गरे ।

यूएईका राजदूत अलसाम्सीले यूएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने जानकारी गरे । उनले गत वर्ष नै भ्रमण तय भए पनि निर्वाचनका कारण भ्रमण पछि सरेको उल्लेख गरे ।

अलसाम्सीले दुई मुलुकबीच भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकार र संघीय संसद्‌को भूमिका अपेक्षित रहेको बताए । उनले यूएई निर्माणका लागि नेपाली नागरिकले दिएको योगदानलाई आफ्नो मुलुकले सदा स्मरण गर्ने समेत उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved