काठमाडौं । आईसीसी टी–२० विश्वकपमा श्रीलंकासँग खेल रद्द भएसँगै नेपालमाथि दबाब बढेको छ ।
वर्षाका कारण अंक बाड्न बाध्य भएको नेपालको दुई खेलबाट एक अंक मात्र भएको छ । आजको खेल जित्न सकेको भए दुई खेलबाट नेपालको दुइ अंक हुने थियो ।
सुपर आठमा छनोट हुन नेपालले आगामी दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराउनुपर्नेछ ।
नेदरल्यान्ड्स र बंगलादेशले दुवै खेल जितेमा वा नेपालले एक खेल हारेमा पनि नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिनेछ ।
आजको खेल रद्द भएसँगै नेपालको समूह डी मा रहेको दक्षिण अफ्रिकालाई भने फाइदा पुगेको छ । श्रीलंका र नेपालले अंक बाँडेसँगै दक्षिण अफ्रिका सुपर ८ मा पुगेको छ ।
नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।
समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले आफूले खेलेको अघिल्ला तीनवटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
दुई खेल खेलेको बंगलादेश दुई अंकसहित दोस्रो र दुई खेल खेलेको नेदरल्यान्ड्स दुई अंकसहित तेस्रो स्थानमा छन् ।
दुई खेल खेलेको नेपाल भने एक अंकसहित तालिकाको चौथो स्थानमा छ ।
तीन खेल खेलेको श्रीलंका एक अंक सहित तालिकाको पुछारमा छ । यो सँगै श्रीलंका सुपर ८ प्रवेशको दौडबाट बाहिरिएको छ ।
समूह ‘डी’ को बाँकी खेलमा अब बंगलादेशले नेदरल्यान्ड्स, नेपालले दक्षिण अफ्रिका, बंगलादेशले नेपाल र नेदरल्यान्ड्सले श्रीलंकाको सामना गर्नेछन् । यो समूहमा अब बंगलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको मात्र ६ अंक पुग्न सक्ने सम्भावना छ ।
यसअघि नै ओमान विश्वकपको उपाधि होडबाट बाहिरिसकेको छ ।
Facebook Comment
Comment