म सामाजिक सञ्जालमा धेरै सक्रिय छैन । कहिलेकाहीँ आफ्नै लेख, मन परेका रचना, अन्तर्वार्ता र घुमडुलका रमाइला विवरण सेयर गर्छु । प्रतिक्रियाहरूमा धेरै चासो राख्दिनँ । त्यसो त म माथि धेरै उल्टापाल्टा प्रतिकिया पनि आउँदैनन् । तर कहिलेकाहीँ भने अलिक आश्चर्यजनक प्रतिक्रिया आउँछन् । सायद मलाई नचिन्नेहरू ठान्दछन् कि ‘म पत्रकार हुँ । म बाह्रभाइको मतियार’ हुँ । यस्तो सम्झनेले दिने प्रतिक्रिया के हुन्छन्, अवश्य नै सबैलाई थाहा छ ।
नचिन्नेले गरेका व्यक्तिगत गालीलाई लिएर धेरै गम्भीर हुन मन लाग्दैन । तर, जब लेख, रचना, विषय सन्दर्भ, मुद्दा र त्यसको लयलाई छोडेर उल्टोपाल्टो टिप्पणी र एकमुष्ट बाह्रभाइको मतियार भएको आरोप आउँछ, आश्चर्य लाग्छ । लाग्छ, कसरी बन्यो यस्तो भाष्य ? गम्न थाल्छु, कन्टेन्ट नहेरी गाली गर्ने ती को हुन् ? ती को हुन्, जो फगत गाली जान्दछन्, गाली गर्नबाहेक अरु केही पनि जान्दैनन् ?
हाम्रो समाजमा यस्तो सतही, परपीडक र द्वेषी भीड कहाँबाट आयो ? को हो त्यो, जसले पत्रकार, पत्रकारिता र आमसञ्चारमाथि विष फैल्याइरहेको छ ? यसमा पत्रकार, पत्रकारिता र आमसञ्चार क्षेत्रको भूमिका कति छ ? र, प्रश्नलाई बाह्रहात उफ्रेर नकार्ने र आलोचना गर्नेलाई पनि बाह्रभाइको बिल्ला भिराउनेको कति छ ?
समाजमा अहिले जुन खाले अविश्वास फैलँदो छ, त्यसलाई हेर्दा मनमा प्रश्न आउँछ कि के अब पत्रकारिताको युग सकिएकै हो ? आफ्नै मनले उत्तर दिन्छ, होइन । पत्रकारिताका माध्यम अवश्य नै फेरिएका छन् र अझै फेरिने छन् । तर, पत्रकारिताको आवश्यकता र औचित्य फेरिने छैन ।
बरु उल्टो सत्य र तथ्यपरक विवरणहरूको सम्प्रेषण, विषय, घटना परिघटनाहरूको गम्भीर अनुसन्धान, विचारको पुनर्गठन र प्रसारणको आवश्यकता अझ बढ्दो छ । किनभने गहिरो, स्वतन्त्र र निष्पक्ष पत्रकारिता नहुने हो भने आगामी दिनमा झुटले मान्छेको मस्तिष्कमाथि कब्जा जमाउने छ र समाज हेरिनसक्नु गरी पत्रु बन्नेछ । त्यसैले गम्भीर पत्रकारिता अझै आवश्यक छ र झन् धेरै आवश्यक छ ।
आज जुन हावाले ‘अल्गोरिदम’ फैल्याउँदै छ, त्यो हावा यसरी नै बहने हो भने समाजमा सत्य एक्लो हुनेछ र हाबी हुनेछ केवल भीड । जुन समाजमा सत्य, तथ्य र विवेकमाथि हल्ला, तमासा र झुटले शासन गर्छ, त्यो समाज हेरिनसक्नु गरी कुरुप हुन्छ । अतः समाजमा सत्य, तथ्य र विवेकको मलजल आवश्यक छ । र, त्यसका लागि आवश्यक छ, अझ गम्भीर, प्रभावकारी र स्वतन्त्र पत्रकारिता ।
यो अर्थमा पत्रकारिताले आफ्नो ओज र गरिमा बचाउन र यसको व्यावसायिक तटस्थतालाई अझ बलियो बनाउन आवश्यक छ । अन्यथा पत्रकारिता कमजोर हुनेछ । पत्रकारिता कमजोर भयो भने उल्कापात सवल बनेर निस्कनेछ र त्यसले लोकतन्त्रलाई विस्तारै-विस्तारै भीडतन्त्रमा रूपान्तरित गरिदिनेछ ।
अतः आजको चासो व्यावसायिक र सृजनशील पत्रकारिता त हो नै, मुख्य चासो हो लोकतन्त्र । मुख्य चासो हो नागरिक सार्वेच्चता, मुख्य चासो हो एक उदार र मानवीय सभ्यता । चाहे छापा होस् वा अनलाइन पत्रकारिता, चाहे टिभीमा होस् या त युट्यूबकारिता । यदि यसले लोकतन्त्रमाथिको आफ्नो जिम्मेवारी छोड्यो भने यो त रहँदैन-रहँदैन, त्यसपछि सबै कुरा र धेरै कुरा बिग्रँदै जानेछन् ।
त्यसैले भनिन्छ— कुनै पनि आधुनिक र सभ्य समाजको परिचय हो त्यहाँको पत्रकारिता ।
इतिहासको सम्झना
अहिले देशमा व्यावसायिक पत्रकारिता, पत्रकार महासङ्घ र महासङ्घको निर्वाचनबारे सार्वजनिक चर्चा चलिरहेको छ । यो सन्दर्भलाई अगाडि राखेर आजलाई नेपाली पत्रकारिताले तय गरेको बाटो र यसको व्यावसायिकता र स्वतन्त्रताबारे थोरै छलफल गरौँ ।
इतिहास भन्छ, श्री ३ जङ्गबहादुरको बेलायत यात्रा निकै रोचक र रोमाञ्चक थियो । उनले त्यो देशमा मस्ती गरेका अनेकन् किस्सा छन् । त्यो महासामन्तको सनक थियो । जसमा ठूलै धनराशी सकियो ।
तर, त्यसका केही राम्रो परिणामहरू पनि थिए । जस्तो कि नेपाललाई बेलायतमा परिचय मिल्यो । बेलायतको समृद्धिबाट नेपाली शासकले सिक्ने मौका पाए । मुख्य कुरा तिनै जङ्गबहादुरले बेलायतबाट फर्किँदा ‘गिद्दे प्रेस’ ल्याए र यसैबाट नेपाली पत्रकारिताको जग हालियो । त्यही ‘प्रेस’ शब्द नै अहिले पत्रकारिता बुझाउने हाम्रो साझा शब्द बनेको छ । र, हामीले भन्ने गरेका छौँ ‘प्रेस स्वतन्त्रता’ ।
म पत्रकारिताको इतिहास धेरै जान्दिनँ । यद्यपि मेरो सूचनामा भएसम्म नेपालमा पत्रकारिताको इतिहास गोर्खा भारत जीवन (विसं १९४३, भारतबाट प्रकाशन ) बाट सुरु हुन्छ । तर, नेपालमै निस्किएको पहिलो पत्रिका भने सुधासागर (विसं १९५५ साउन) हो । र, अखबारका रूपमा गोर्खापत्र साप्ताहिक (हाल गोरखापत्र दैनिक) नेपालको पहिलो (विसं १९५८ वैशाख २४ ) पत्रिका हो । यद्यपि, गोरखापत्रभन्दा अगाडि नै दर्ता गरिएको पत्रिका भने शारदा (विसं १९९१) थियो ।
यसरी नेपालमा पत्रकारिताको युग प्रारम्भ हुन्छ । यो यस्तो समय थियो, जतिबेला विश्वभर प्रजातन्त्र र स्वाधीनताको आन्दोलन चलिरहेको थियो । परिणाम वि.सं. २००७ मा नेपालमा पनि प्रजातन्त्रको आन्दोलन सफल भयो । जसले हाम्रो राजनीति र राज्यप्रणालीलाई आधुनिक युगतर्फ सङ्क्रमित गर्यो ।
प्रजातन्त्रको (२००७) आगमनसँगै नेपाली जनताले राज्य-सत्तामा आफ्नो हिस्सेदारी खोजे । राजनीतिक दल, प्रजातन्त्र र निर्वाचनको नयाँ युग सुरु भयो । जनता नागरिक अधिकार र समृद्धिको पक्षमा देखिए । जनताको यही ‘अपेक्षामा’ जोडिन आइपुगे नयाँ-नयाँ पत्रिका र प्रकाशन गृह/संस्थाहरू ।
जस्तो कि हृदयचन्द्र प्रधानको सम्पादनमा २००७ फागुनमा ४ गते जागरण साप्ताहिक खुल्यो । त्यही सालको फागुन ८ गते बाट कृष्णचन्द्र सिंह प्रधान र गोविन्दबहादुर मल्ल गोठालेको सम्पादनमा आवाज दैनिक आउन थाल्यो । यसरी हेर्दा नेपालमा निजी क्षेत्रको पत्रकारिता २००७ सालबाट सुरु भयो । र, २०१७ सालसम्म निरन्तर अगाडि बढ्यो ।
तर, दुर्भाग्य जब २०१७ सालको प्रतिगामी कदमले बन्दै गरेको स्वतन्त्र र व्यावसायिक पत्रकारिताको वातावरण बिथोल्यो । प्रजातन्त्र पक्षधर र निजी क्षेत्रका स्वतन्त्र प्रकाशनहरूमाथि अङ्कुश लाग्यो । परिणाम विसं २००७ सालदेखि सुरु भएको नेपालको स्वतन्त्र पत्रकारिता २०१७ सालदेखि कुण्ठित बन्यो ।
थोरै र छोटो अवधिमै घटेका यी घटनाले नेपाली पत्रकारितालाई महत्त्वपूर्ण शिक्षा दिए । पहिलो, प्रजातन्त्रबिना स्वतन्त्र पत्रकारिता सम्भव छैन । दोश्रो, स्वतन्त्र पत्रकारिताबिना प्रजातन्त्र प्रबल हुँदैन । अतः प्रजातन्त्र र पत्रकारिता अभिभाज्य छन् । तेश्रो, पत्रिका प्रकाशनमा राज्यको भन्दा सचेत नागरिकको संलग्नता ज्यादा निष्पक्ष र प्रभावकारी हुन्छ ।
प्रतिबन्धित राजनीतिक अवस्था (२०१७ सालपछि) विद्यार्थी आन्दोलन (२०३६ साल), जनमत सङ्ग्रह (२०३७ साल) र त्यस वरिपरि भएका अन्दोलन, दमन र आन्दोलनहरूले आम रूपमा नेपाली समाजमा प्रजातान्त्रिक चेतनाको निर्माण गर्दै लग्यो । जसले नेपाली नागरिकको नयाँ लक्ष्य बन्यो— प्रजातन्त्र । त्यो लक्ष्य प्राप्त गर्न केही समय नेपालमा उद्देश्यमूलक पत्रकारिता प्रखर भएर निस्कियो । अर्थात् सुरु भयो— ‘मिसन’ पत्रकारिता ।
त्यसका लागि दृष्टि, विमर्श, सुरुचि, छलफल, झिल्को, मातृभूमि, समीक्षा, युगधाराजस्ता साप्ताहिक पत्रिका बजारमा आए । प्रजातन्त्रको आन्दोलनसँगै निस्किएका यस्ता पत्रिकाहरू लोकप्रिय र विश्वासनीय हुँदै गए । यिनीहरूसँग सरकारी सञ्चारमाध्यम टिक्न सकेनन् ।
जब २०४६ सालको जनआन्दोलन सफल भयो, नेपालको समग्र क्षेत्र प्रतिस्पर्धा, बहुलवाद र प्रजातन्त्रको उदात्त विश्व बजारमा प्रवेश गर्यो । योसँगै नेपालमा उद्देश्यमूलक वा मिसन पत्रकारिताको युग सकियो र सुरु भयो व्यावसायिक पत्रकारिताको नयाँ युग ।
पत्रकारिताको नयाँ युग
२०४६ पछि संविधानले प्रत्याभूत गरेका प्रेस तथा वाक् स्वतन्त्रताका प्रभावहरू देखा पर्न थाले । नेपालको संविधान २०४७ र छापाखाना तथा प्रकाशन ऐनले अखबारको दर्ता खारेजी, सेन्सर, हस्तक्षेप र पत्रिका जफतलाई बन्देज लगायो । अर्थात, लोकतन्त्र, विश्वव्यापी उदार अर्थनीति र निजीकरणको प्रभाव शक्तिशाली बनेर देखा पर्यो ।
त्यसपछि सञ्चार क्षेत्र सुरक्षित लगानीको क्षेत्र बन्यो । यही अवसरबाट प्रेरित भइ विसं २०४९ फागुन ७ गते देखि निजी क्षेत्रकाबाट कान्तिपुर र द काठमाण्डू पोष्ट निस्कन थाले । नेपालमा स्वतन्त्र र व्यावसायिक पत्रकारिताको नयाँ युग सुरु भयो ।
विस्तारै निजी क्षेत्रबाट अनेक प्रकाशन गृहहरू खुले । कान्तिपुरबाहेक, समाचारपत्र, अन्नपूर्ण पोस्ट, नयाँ पत्रिका, नागरिक दैनिक, सगरमाथा आदि अनेक नामका दैनिक पत्रिका छापिन थाले । नयाँ-नयाँ टिभी च्यानल खुले, एफएम खुले । ठूला प्रकाशन गृहले साप्ताहिक म्यागाजिन निकाल्न थाले । हिमाल, नेपाल, मूल्याङ्कनहरू निकै लोकप्रिय भए । क्षेत्रीय तहबाट धरानको ब्लास्ट, पोखराको आदर्श समाज, बुटवलको दैनिक लुम्बिनी र जनसङ्घर्ष, दाङको युगवोध, वीरगञ्जको प्रतीक दैनिक र धनुषाको जनकपुर टुडेजस्ता पत्रिका निस्कन थाले ।
यसरी व्यावसायिक पत्रकारिता बलियो हुँदै गयो । पत्रकारहरू सङ्गठित हुँदै गए । श्रमजीवी पत्रकारको मुद्दा अर्थपूर्ण रूपमा स्थापित भयो । नियम, कानून, आचारसंहिता बने । पत्रकारिताको औपचारिक अध्ययनका लागि विश्वविद्यालय जानेहरू बढे । पछि अनेकन् नामका अनलाइन (न्युज पोर्टल) आए । जो निकै लोकप्रिय पनि भए र व्यापक पाठकमा पुगे ।
तालिम प्राप्त र पढे/लेखेका युवाहरू पत्रकारितामा आउन थाले । विश्व बजारमा हाम्रा पत्रकारको प्रवेश भयो । विश्वव्यापी राजनीतिक र सामाजिक फोरममा हाम्रा पत्रकार पुगे ।
त्यसबीचमा नेपाली पत्रकारिताले नगरिकका पक्षमा सदैव आफूलाई उभ्यायो । सदैव लोकतन्त्रका पक्षमा उभियो । माओवादी सशस्त्र युद्धका समयमा मानवअधिकारका पक्षमा उभियो । शाहीतन्त्रविरुद्ध उभियो । भ्रष्टाचारविरुद्ध उभियो । पटक-पटकका राज्य दमनविरुद्ध उभियो । वाक् स्वतन्त्रताका पक्षमा उभियो । नेपालको लोकतन्त्रलाई बचाउन र राज्यलाई आफ्ना दायित्वहरू सम्झाउन यसले बलियो प्रतिपक्षको भूमिका खेल्यो ।
यो अर्थमा हाम्रो पत्रकारिता अब्बल छ । अपवादलाई छोडेर हाम्रो मूलधारको पत्रकारिता व्यावसायिक र स्वतन्त्र छ । यसलाई बाह्रभाइको बिल्ला भिराएर हीनताबोधको सिकार बनाउनु किञ्चित आवश्यक छैन । अवश्य नै यसलाई आलोचना गर्न सकिन्छ । तर, यसको मानमर्दन गरेर कतै पुगिँदैन ।
प्रेस स्वतन्त्रताका पक्षमा
धेरै मान्छेहरू भन्दछन् कि निरपेक्ष स्वतन्त्रता संसारमै केही छैन । यसर्थ, यसलाई सापेक्षताम हेनुपर्छ । जस्तो कि मानवअधिकार, लोकतन्त्र, सुशासन र सामाजिक न्यायका विषयहरू आउँदा, पत्रकारिता निरपेक्ष स्वतन्त्र हुँदैन । स्वभावत: मानवअधिकार, लोकतन्त्र, सुशासन र सामाजिक न्यायका पक्षमा उभिन्छ । यदि कुनै देश स्वयम् राजनीतिक परिवर्तन, आन्दोलन र युद्धको समयमा छ भने त्यो देशको पत्रकारिता त्यसबाट प्रभावित हुन्छ नै ।
यसरी हेर्दा लोकतन्त्र, मानवता, जनजीविका, सामाजिक न्याय र सुशासनको पक्षमा उभिनु पत्रकारिताको स्वयम्मा निहित अवशिष्ट चरित्र हो । अन्यथा आम अवस्थामा भने पत्रकारिताको कुनै पक्षधरता हुँदैन । यो स्वतन्त्र र व्यावसायिकता हुन्छ र हुनुपर्छ । लोकतान्त्रिक समाजमा पत्रकारिताको अर्थ नै यही हो । किनभने अमूक पार्टी, दल र शक्तिकेन्द्रको ताबेदारी गरेर पत्रकारिता हुँदैन, हनुमानकारिता हुन्छ । भारतमा यस्तो चरित्रलाई बुझाउन प्रयोग गरिने शब्द हो– गोदी मिडिया ।
स्वतन्त्र र व्यावसायिक पत्रकारिताको जाँच गर्ने सूचक के छन् ? विश्वव्यापी रूपमा यसका केही आधारभूत सूचक छन् । जस्तो व्यावसायिक पत्रकारिताको पहिलो सूचक हो, यथार्थपरक र तथ्यमा आधारित पत्रकारिता ।
यसले भन्छ— आग्रह, पूर्वाग्रहको आधारमा नभइ सूचना, समाचार र टिप्पणीहरू तथ्यपरक हुनपर्छ । अनि मात्र पत्रकारिता व्यावसायिक हुन्छ । उद्देश्यपूरक पत्रकारिता आफ्नो निहित उद्देश्यमा प्रतिबद्ध हुन्छ । तर, व्यावसायिक पत्रकारिता समाचारप्रति इमान्दार हुन्छ । श्रोतप्रति जिम्मेवार हुन्छ । पाठकप्रति उत्तरदायी रहन्छ ।
गलत सूचना र सन्देशले पार्ने प्रभावप्रतिको संवेदनशीलता नै व्यावसायिक पत्रकारिताको पहिलो आधार हो । व्यावसायिक पत्रकारिताको अर्को आधार हो— सन्तुलन । पत्रिकामा स्टोरी, समाचार वा अन्य सामग्री बनाउँदा पत्रकार सन्तुलित हुनु व्यावसायिक पत्रकारिताको मुख्य धर्म हो । हरेक समाचार वा घटनामा संलग्न विपरीत पक्षको सन्तुलनले मात्र व्यावसायिक र स्वतन्त्र पत्रकारिता फस्टाउँछ । समग्रीलाई एकपक्षीय हुनवाट बचाउनु व्यावसायिकताको अर्को सूचक हो ।
अर्थात् व्यावसायिक पत्रकारिता तथ्यपरक भएर मात्र पुग्दैन, सन्तुलित पनि हुनपर्छ । स्वतन्त्र र व्यावसायिक पत्रकारिताको तेश्रो आधार हो— विश्वसनीयता । समाचार, अनुसन्धान र घटनाहरूलाई भरपर्दो श्रोतमार्फत विश्वासनीय बनाउनु व्यावसायिक चरित्र हो । श्रोतहरू आधिकारिक हुनपर्छ । श्रोतको सुरक्षा, आधिकारिकता र विश्वासनीयता कायम राख्नु स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण आधार हो ।
स्वतन्त्र र व्यावसायिक पत्रकारिताको अर्को आधार हो— नैतिकता, निष्ठा र विनम्रता । यसका सीमाभित्र सदैव आबद्ध हुनु जरुरी छ । सधैँ स्वयम् कुनै पनि दबाबबाट मुक्त हुनू । प्रकाशकको व्यावसायिकता र सम्पादनको स्वतन्त्रतालाई जस्तोसुकै अवस्थामा स्थापित गर्नु । सूचना वा सामग्री तयार गर्दा सामाजिक र व्यावसायिक नैतिकता, निष्ठा र विनम्रताभन्दा पर जान हुँदैन ।
यहाँ अर्थशास्त्रीय नभइ मानवीय र लोकतान्त्रिक नैतिकताको कुरा गरिएको हो । व्यावसायिक पत्रकारिताको अर्को महत्त्वपूर्ण पक्ष हो— समता । आफ्नो सामग्रीले कसैलाई पनि हीनताबोध नहोस् । लेख्दा जात, लिङ्ग, भाषा, धर्म, वर्ण, रङ, क्षेत्रलाई आघात नपरोस् । समाचारहरूमा जातीय लैङ्गिक, भाषिक, धार्मिकलगायत रङ र क्षेत्रको संवेदनशीलतालाई ख्याल गर्नु र सदैव मानवीय मूल्यहरूलाई प्रवर्द्धन गर्नु व्यावसायिक र स्वतन्त्र पत्रकारिताको महत्त्वपूर्ण आधार हो ।
व्यावसायिक पत्रकारिताको अर्को आधार हो— सामाजिक उत्तरदायित्व । व्यावसायिक पत्रकारिता समाज र सभ्यताको पक्षमा हुनुपर्छ । समाचारको खरिद-बिक्रीबाट टाढा हुनुपर्छ । पत्रकारिता सफा हुनुपर्छ । सूचनाको हकलाई स्थापित गर्नु नै उसको सर्वोच्च दायित्व हुनुपर्छ । त्यसपछि मात्र पत्रकारिता चौथो अङ्ग बन्छ, भन्नलायक हुन्छ ।
पत्रकारिताले जनताको पक्षधरता गुमाउनासाथ यसको स्वतन्त्रता र व्यावसायिकता समाप्त हुन्छ । मुख्य कुरा व्यावसायिक पत्रकारिता भविष्यमुखी हुनुपर्छ र यसले समाजलाई अगाडि जान योगदान गर्नुपर्छ ।
पुनर्गठनको आवश्यकता
जसरी हामी राजनीतिक पुनर्गठनको कुरा गरिरहेका छौँ, त्यसरी नै अहिले हाम्रो आर्थिक, सामाजिक जीवन र पत्रकारितालाई पनि पुनर्गठन गर्ने बेला भएको छ । यो हाम्रो समग्र संरचना, ज्ञान, जीवनपद्धति र प्रवृत्तिहरूको पुनर्गठनको समय हो । यो अर्थमा हामीले पत्रकारितालाई पनि फर्किएर हेर्नुपर्छ र यसलाई अझ व्यावसायिक, मर्यादित, प्रभावकारी र स्वतन्त्र बनाउने प्रयत्न गर्नुपर्छ ।
हामीकहाँ पत्रकारिता अझै कतिपय सन्दर्भमा दलीय स्वार्थ र पूर्वाग्रहबाट माथि उठ्न सकेका छैनन । हाम्रा अनुसन्धानहरू अझै आवश्यक तहमा व्यावसायिक र सन्तुलित छैनन् । श्रोतको सुरक्षामा हाम्रो पत्रकारिता अझै कमजोर छ । हाम्रा कतिपय प्रकाशन गृह अझै पनि व्यावसायिकभन्दा धेरै नाफामुखी र व्यापारिक छन् । यसो भयो भने, प्रकाशन गृह पत्रकारको नभइ व्यापारीहरूको हुन्छ । त्यस्तो भयो भने प्रेसको व्यावसायिक संवेदनशीलता हराउँछ र सम्पादकीय स्वतन्त्रता कुण्ठित हुन्छ । अतः प्रकाशन गृहहरूको व्यावसायीकरण र सम्पादकीय स्वतन्त्रतालाई अझै बलियो बनाउन आवश्यक छ ।
व्यावसायिकताका लागि विषयगत दक्षता महत्त्वपूर्ण र अनिवार्य हुन्छ । नेपाली पत्रकारिताको इतिहास विषयगत र व्यावसायिक व्यक्तिबाट बनेको होइन । राजनीति गर्नेहरू या लेखक-साहित्यकारहरूको प्रयत्नबाट नेपालको पत्रकारिता सुरु भयो । तर, आज यो विषयगत बन्दै गएको छ । एकजनाले पत्रिका निकाल्ने र उसले सबैथोक लेखेर पाना भर्ने प्रवृत्ति हटेको छ । यो निकै सकारात्मक परिवर्तन हो । तर, अझै पत्रकारहरूको पेशागत सुरक्षा छैन । र, यसलाई बलियो नबनाइ प्रभावकारी र व्यावसायिक पत्रकारिता फस्टाउन सक्दैन ।
एकातिर नेपाली पत्रकारिता अझै अति धेरै राजनीतिकरणको सिकार छ । त्यसैले राजनीतिलाई धेरै ‘स्पेस’ दिइन्छ । अर्कोतिर विषय, समाचार र सूचनाहरू खोज्ने, अध्ययन/अनुसन्धान गर्ने र श्रोतहरूलाई पुनर्पुष्टि गर्ने व्यावसायिकता अझै बलियो भएको छैन । केही प्रकाशन गृहले स्थलगत रूपमा नै अध्ययन, अनुसन्धान गरेर स्टोरी बनाउन प्रेरित गरेको देखिन्छ । तर, यो सीमित र सङ्कुचित छ । यसलाई विस्तारित गर्नुपर्छ ।
यसैगरी नकारात्मकता हाम्रो पत्रकारिताको अर्को दोष हो । हामी पीडा, समस्या र विग्रहका विषय छान्दछौँ । सकारात्मक विषय, सम्भावनाहरूको खोजी, विकास र मानवीय सफलताहरू अझै पत्रकारिताको मूल ‘स्पेस’मा भेटिँदैनन् । यी दोषबाट नेपालको पत्रकारिता निर्मूल हुन आवश्यक छ ।
यसैगरी काठमाडौं केन्द्रित रहनु हाम्रो पत्रकारिताको अर्को दोष हो । त्यसैले भन्न सकिन्छ कि नेपालको पत्रकारिता अझै शहरको पत्रकारिता हो ।
नेपाली पत्रकारिताको सबैभन्दा सवल पक्ष हो— जन पक्षघरता । जनताका ऐजेण्डाभन्दा पृथक नेपाली पत्रकारिताका कुनै एजेडा छैनन् । राजनीतिक रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र जनताको आन्दोलन प्रतिको अपूर्व विश्वास हाम्रो पत्रकारिताको चरित्र हो ।
सशस्त्र द्वन्द्वको बेला नेपालको व्यावसायिक पत्रकारिताले उल्लेखनीय तटस्थता लिएको देखिन्छ । राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध हाम्रो पत्रकारिता अजेय रह्यो । द्वन्द्वको शान्तिपूर्ण रूपान्तरण, मानव अधिकारको सम्मान, युद्धका नियमहरूको पालना, राज्य आतङ्क वा लाल आतङ्क दुवैको समान विरोध नेपाली पत्रकारिताको महत्त्वपूर्ण चरित्र हो । यसर्थ नै नेपालको पत्रकारिताले स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका मूल्य र मान्यतालाई स्थापित गर्दै लगेको छ ।
हामी पत्रकार नहुन सक्छौँ तर, पाठक त हुन सक्छौँ । एक पाठकको रूपमा हामीले यति त स्वीकार्नैपर्छ कि पत्रकारिता सभ्य समाज, लोकतन्त्र र परिवर्तनको शक्ति हो । यसलाई बलियो बनाउनुको विकल्प छैन । किनभने तपाईं वा हामी पत्रकार हौँ कि होइनौँ, यो महत्त्वपूर्ण कुरा होइन । महत्त्वपूर्ण कुराचाहिँ तपाईं हामीलाई पत्रकारिताले के दिइरहेको छ, त्यो हो ।
निश्चय नै हाम्रो लोकतान्त्रिक जागरणको इतिहास धेरै लामो छैन । हाम्रो गुणस्तर निर्धारणको मूल तत्त्व प्रतिस्पर्धा बनिसकेको छैन । जहाँसम्म कागजरहित पत्रकारिताको कुरा छ, मैले यहाँ माध्यमको नभइ ‘कन्टेन्ट’ को कुरा गरेको हुँ । माध्यम के हुने दोश्रो कुरा हो, केन्टेन्ट के हुन्छ त्यसमा विचार गर्नुपर्छ । किनभने पत्रकारिता माध्यमको नभइ कन्टेन्टको विषय हो र यसलाई सवल, स्वतन्त्र र व्यावसायिक नबनाइ हामी सभ्य समाज र लोकतान्त्रिक मूल्यहरूको स्थापना गर्न सक्दैनौँ ।
[email protected]
Facebook Comment
Comment