एउटा इतिहास बोकेर संग्रहालय छिरेको विमान ‘नाइन एन एबीबी’

एउटा इतिहास बोकेर संग्रहालय छिरेको विमान ‘नाइन एन एबीबी’

काठमाडौं । विक्रम संवत् २०३० जेठ २८ गते नेपालको हवाई उड्डयन इतिहासमा पहिलो पटक विमान अपहरण भयो । ५१ वर्षअघि आजकै दिन बिहान करिब ८ बजेर ४० मिनेटमा तत्कालीन शानेवानीको ट्विनअटर विमान अपहरणमा पर्‍यो ।

यसरी भयो नाइन एन एबीबीको अपहरण

विराटनगरबाट काठमाडौंको लागि उडान भरेको विमान तत्कालीन निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको नेपाली कांग्रेसले अपहरण गर्‍यो । नेपाल राष्ट्र बैङ्कको भारु ३० लाख नगदसहित १४ जना यात्रु बोकेर विराटनगरबाट काठमाडौंका लागि उडेको ‘नाइन एन एबीबी’ कल साइन भएको उक्त विमान धावनमार्ग छाडेको करिब ५ मिनेटपछि अपहरणमा पर्‍यो ।

बीपी कोइरालाको निर्देशनमा अपहरणमा परेको उक्त विमानलाई अपहरणकारीले भारतको फारबिसगंजस्थित घाँसे मैदानमा अवतरण गराएर आधा घण्टामा पुनः विराटनगर फर्काइदिएका थिए। अपहरणकारीले विमानमा रहेको नेपाल राष्ट्र बैङ्कको भारु ३० लाख लुटे र चालक दलका सदस्य सहित सबै यात्रुलाई सकुशल छाडिदिए ।

अपहरण हुने बेलाको विमान, तस्वीर:- नेवानी

उक्त विमान अपहरणको योजना गिरिजाप्रसाद कोइरालाले बनाएका थिए भने सुशील कोइराला त्यसको  सहयोगी थिए । नेपाल विद्यार्थी संघका तत्कालीन नेताहरू दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल अपहरणमा संलग्न थिए । अपहरणको नेतृत्व भने दुर्गा सुवेदीले गरेका थिए ।

अपहरणमा पर्दा उक्त विमानलाई क्याप्टेन आरके मानन्धरले उडाएका थिए । उनको सहयोगीमा फ्लाइट अफिसर श्रीदेव वैद्य थिए । त्यसबाहेक विमानमा एक सहयोगी र एक विमान परिचारिका पनि थिइन् । विमानमा अपहरणकारी सहित १४ जना यात्रु थिए । जसमा ४ महिला, ९ पुरुष र १ बच्चा थिए । विमानमा चालक दल सहित कुल १८ जना सवार थिए ।

विमान बारे

क्यानेडेली विमान कम्पनी डे ह्याभिल्यान्ड द्वारा निर्मित DHC-6 मोडेलको उक्त ट्विनअटर विमान तत्कालीन शानेवानीले २०२८ साल असार ३ गते किनेको थियो । विमान नेपाल भित्रिएसँगै यसले ‘नाइन एन एबीबी’ कलसाइन पायो र त्यही कलसाइनमा उडान सुरु गर्‍यो ।

विमानको पहिलो दुर्घटनामा 

यो विमान पहिलो पटक २०४९ साल असार २१ गते आइतबार जुम्ला विमानस्थलमा दुर्घटना भएको थियो । जुम्ला-सुर्खेत उडानको क्रममा धावनमार्ग छाड्ने बित्तिकै विमानस्थलको तार जाली भएको बारमा चक्का अड्किएर दुर्घटनामा परेको थियो । त्यस बेला उडान भर्ने बित्तिकै दायाँ तिरको इन्जिनले कम शक्ति उत्पन्न गर्दा विमानले उचाइ लिन नसकी दुर्घटनामा परेको रिपोर्टमा उल्लेख थियो । उक्त दुर्घटनामा विमानमा सामान्य क्षति बाहेक मानवीय क्षति केही भएन ।

विमानको दोस्रो दुर्घटना

पहिलो पटक दुर्घटनामा परेको २१ वर्षपछि ‘नाइन एन एबीबी’ दोस्रो पटक दुर्घटनामा पर्‍यो । पहिलो पटक सामान्य क्षति भएको उक्त विमान दोस्रो पटक भने पूर्ण रूपमा ध्वस्त भयो ।

२०७० फागुन ४ गते आइतबार काठमाडौं-पोखरा-जुम्ला अनि जुम्ला-नेपालगंजको उडान तालिका सहित काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि विमान उड्यो । पोखरामा पुनः इन्धन भरेर जुम्लाको लागी उडेको विमानले मौसम खराब भएपछि आफ्नो रुट परिवर्तन गर्‍यो र भैरहवा टावरसँग सम्पर्क गर्‍यो ।

मसिनेलेकमा दुर्घटनाग्रस्त विमान, तस्वीर:- नेपाली सेना

 

तर दुर्भाग्यवश दिउँसो १ बजेर १३ मिनेट जाँदा भैरहवा टावरसँग अन्तिम सम्पर्क भएपछि विमान बेपत्ता भयो । सम्पर्क टुटेको विमानको खोजी कार्य सुरु भयो । पोखराबाट फिस्टेलको र काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरलाई खोजी कार्यमा पठाइयो । सम्भावित दुर्घटना स्थलमा स्थल मार्गबाट समेत खोजी कार्य सुरु गरियो । तर मौसम खराब रहेकाले विमानको कुनै सूचना कसैले पाउन सकेनन् ।

भैरहवा टावर सँग सम्पर्क विच्छेद भएको भोलिपल्ट अर्थात् फागुन ५ गते विमान पुर्णरुपमा दुर्घटना भएको अवस्थामा अर्घाखाँचीको मसिनेलेकमा नेपाली सेनाको हेलिकप्टरले फेला पार्‍यो ।

दुर्घटनामा परेको बेला विमानलाई क्याप्टेन शंकर श्रेष्ठले उडाइरहेका थिए । विमानमा चालक दलका ३ सदस्यसहित १८ जना यात्रु यात्रारत थिए । दुर्घटनामा १८ जनाकै ज्यान गयो । दुर्घटनापश्चात् विमानको ‘ब्ल्याक बक्स’ लगायत जल्न बाँकी पार्टपुर्जा अर्घाखाँचीको मसिने लेकको जङ्गलमा फेला पारियो । त्यसलाई पछि नेपालगन्ज विमानस्थलमा ल्याइयो ।

अनि सुरु भयो नाइन एन एबीबीको संग्राहलय यात्रा

तत्कालीन नेपाली कांग्रेसका नेताहरू बीपी कोइराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, रामनारायण मिश्र, देवानसिंह राई लगायतलाई पञ्चायती सरकारले बन्दी बनाई राखेको सुन्दरीजल स्थित बन्दी गृह, प्रजातन्त्रको पुनः स्थापना भएसँगै २०६१ सालमा ‘वीपी संग्रहालय’ मा परिणत भयो । र यसका संस्थापक अध्यक्ष भए परशुराम पोखरेल । संग्रहालय बनेसँगै बीपी र उनको राजनीति जीवनसँग जोडिएको सामाग्रीहरू सङ्कलन गरी संग्रहालयमा राख्न थालियो । ‘नाइन एन एबीबी’ विमान पनि बीपी र कांग्रेसको राजनीतिक इतिहाससँग एकदम महत्त्व राख्ने भएकोले दुर्घटनाग्रस्त विमानलाई संग्रहालयमा राख्ने योजना अध्यक्ष पोखरेलले बनाए ।

वीपी संग्रहालय राखिएको विमान, तस्वीर:- सरोज बस्नेत/नेपालभ्युज

अध्यक्ष पोखरेलले नेपालगन्ज विमानस्थलमा रहेको उक्त विमानको बाँकी पार्टपुर्जा ल्याउने र संग्रहालयमा त्यसलाई विमानको स्वरूप दिने योजना बनाए । तर उनको योजना सोचे अनुसार सजिलो भएन । विमानको पार्टपुर्जा पाउन विमान बिमा गरिएको कम्पनीलाई पैसा तिर्नुपर्ने भयो । विमान निर्माता क्यानेडियन कम्पनीलाई कल साइन बापतको पैसा समेत तिर्नुपर्ने भयो । यही बीचमा कहिलेकाहीँ नेपाल वायुसेवाले समेत अड्को थाप्न थाल्यो ।

पोखरेल भन्छन्, ‘सबै ठाउँमा कुरा गर्दै जाँदा कल साइन ‘नाइन एन एबीबी’ सहित विमानको पार्टपुर्जा १० हजार डलर तिर्नुपर्ने भयो । तर त्यति धेरै पैसा तिर्न संग्रहालय सक्षम थिएन ।’

पछि क्यानडाको इन्सुरेन्स कम्पनी म्याक्लरेन्सलाई विमानको इतिहास बुझाएर बारम्बार ई-मेल गर्दा ऊ विमान दिन तयार भयो । पोखरेलका अनुसार बिमा कम्पनीले उक्त विमान सित्तैमा दिन नमिल्ने हुँदा सुरुमा १० हजार डलर तिर्नुपर्ने भनिएको विमानको पार्टपुर्जा र कलसाइन पछि १ डलरमा बीपी संग्रहालयलाई बेचियो र विमानको संग्रहालयको यात्रा सुरु भयो ।

विमानको पार्टपुर्जा संग्रहालयमा ल्याएसँगै एभिएसन इन्जिनियरको प्रत्यक्ष निगरानीमा विमानको स्वरूप दिन थालियो । र करिब ६ महिनाको अथक प्रयासपछि ‘नाइन एन एबीबी’ ले विमानको स्वरूप पायो र संग्रहालयको सम्पत्ति बन्यो । यसरी एउटा विमानले उसको इतिहासमा अपहरणदेखि संग्रहालयसम्मको यात्रा बनायो ।

वीपी संग्रहालय राखिएको विमान, तस्वीर:- सरोज बस्नेत/नेपालभ्युज

अहिले बीपी संग्रहालयमा अपहरित विमान सहित तत्कालीन अवस्थामा नेपाली कांग्रेसले गरेको सशस्त्र द्वन्द्व ताका बनाइएका तोप, ट्याङ्क, केही बन्दुकहरू, बीपीले चढ्ने जिप, बीपी लगायतका बन्दी नेताहरूको निजी सामग्री संग्रहित गरिएको छ ।

विमानको इतिहासमा ‘आइतबार’ निकै अशुभ रह्यो । यो विमान अपहरणमा परेको, पहिलो पटक दुर्घटनामा भएको र दोस्रो पटक ध्वस्त हुने गरी क्र्यास भएको दिनहरू आइतबार नै थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved