को हुन् कंगनालाई थप्पड हान्ने कुलविन्दर कौर ?

नेपालभ्युज

को हुन् कंगनालाई थप्पड हान्ने कुलविन्दर कौर ?

काठमाडौं । बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मन्डीबाट नवनिर्वाचित भाजपा सांसद कंगना रनौतले बिहीबार मोहाली एयरपोर्टमा सीएआईएसएफकी एक महिला कन्स्टेबलले आफूलाई थप्पड हानेको बताइन् ।

कंगना बिहीबार एनडीए बैठकमा सहभागी हुन नयाँ दिल्ली जाँदै थिइन् ।

रनौतलाई थप्पड हानेको आरोप लागेकी कुलविन्दर कौर नामकी ती महिला कर्मचारीले किसान आन्दोलनका क्रममा रनौतले दिएको बयानबाट आफू रिसाएको बताएकी छन् ।

यस घटनापछि सीआईएसएफले कौरलाई निलम्बन गरी अनुसन्धान सुरु गरेको छ ।

हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले भनेका छन्, ‘घटनाको अनुसन्धान भइरहेको छ, के भयो छानबिनपछि थाहा हुनेछ । त्यसपछि दोषीलाई कारबाही गरिने छ । सुरक्षाकर्मीले यस्ता घटना गराएमा दुर्भाग्यपूर्ण छ, यो ठीक होइन ।’

तर, धेरैले कुलविन्दर कौरको बचाउ पनि गरिरहेका छन् । प्रसिद्ध सुटर हिना सिद्धुले ट्वीट गरेकी छिन्, ‘कसैको भावनामा चोट पुर्‍याएको र थप्पड हानेको कारणले राज्य पूर्ण रूपमा आतंकवाद र हिंसाको चपेटामा छ भन्ने होइन ।’

घटनाबारे के भन्छिन् कंगना ?
कंगनाकाअनुसार बिहीबार दिउँसो करिब ३ बजे एयरपोर्टमा सुरक्षा जाँचको क्रममा सीआईएसएफ जवान कौरले आफूलाई थप्पड हानेर दुर्व्यवहार गरेको बताइन् ।

कंगनाले बिहीबार साँझ एक भिडियो सार्वजनिक गर्दै घटनाबारे बताएकी छिन् ।

उनले भनिन्, ‘म सकुशल छु, म बिल्कुल ठीक छु । चण्डीगढ एयरपोर्टमा भएको घटना सुरक्षा जाँचका क्रममा भएको थियो । म सुरक्षा जाँचपछि बाहिर निस्किने बित्तिकै अर्को क्याबिनमा रहेकी महिला सीआईएसएफ सुरक्षाकर्मीले मलाई जाँचका लागि १० मिनेट पर्खाइन् र त्यसपछि मेरो मुखमा थप्पड हानिन् र मलाई गाली गर्न थालिन् ।’

‘जब मैले उनलाई यसो गर्नुको कारण सोधे, उनले भनिन् कि उनी किसान आन्दोलनलाई समर्थन गर्छिन् । म सुरक्षित छु तर, मेरो चिन्ता यो छ कि हामी पञ्जाबमा बढ्दो आतंकवाद र अतिवादलाई कसरी नियन्त्रण गर्ने छौं ।’ उनले थप भनिन् ।

कौरविरूद्ध एफआईआर दर्ता गरिएको छ ।

यसैबीच सामाजिक सञ्जालमा महिला हवल्दार कौरको भिडियो सेयर भइरहेको छ । यो भिडियोमा उनी भन्छिन्, ‘उनले एक/सय रूपैयाँ लिएर किसान आन्दोलनमा बसेका छन् भनेकी थिइन्, उनले बयान दिएको बेला मेरी आमा पनि आन्दोलनमा बसिरहेकी थिइन् ।’

नोभेम्बर २०२० र डिसेम्बर २०२१ को बीचमा किसानहरूले सरकारले ल्याएका तीन कृषि कानुनको विरूद्ध विरोध गरेका थिए । यस समयमा राजधानी दिल्ली र दिल्लीको सीमामा पञ्जाब, हरियाणा र राजस्थानका किसानहरू ठूलो संख्यामा जम्मा भएका थिए ।

को हुन् कुलविन्दर कौर ?
समाचार एजेन्सी पीटीआईका अनुसार कौर सन् २००९ मा सीआईएसएफमा भर्ना भएकी थिइन् । सन् २०२१ देखि चण्डीगढ विमानस्थलमा सुरक्षाकर्मीको रूपमा तैनाथ थिइन् । उनका श्रीमान पनि सोही विमानस्थलमा काम गर्छन् ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार उनी पञ्जाबको कपुरथला जिल्लाको सुल्तानपुर लोधीका बासिन्दा हुन् । उनी त्यहाँको तलवंडी चौधरिया थानाको माईवाल गाउँकी बासिन्दा हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved