एजेन्सी । भारतको लोकसभा चुनावमा थुप्रै कलाकार उम्मेदवार बनेका थिए । कतिपयले हार पनि व्यहोरे भने धेरैले शानदार जित हासिल गरेका छन् ।
अभिनेता अरुण गोविलले उत्तर प्रदेशको मेरठबाट जित दर्ता गरेका छन् । यद्यपी उनको जित अन्तर भने निकै साँघुरो थियो । उनी भाजपाबाट लडेका थिए । रामायण सिरियलमा रामको भूमिका गरेका कारण उनी चर्चित थिए ।
त्यस्तै चुनावी प्रचारप्रसारको क्रममा निकै चर्चामा रहेकी कंगना रनौतले हिमाञ्चल प्रदेशको मन्डीबाट जित हासिल गरेकी छन् । भाजपाबाट चुनाव जितेकी उनको अन्तर भने फराकिलो थियो ।
त्यस्तै राजनीतिमा सक्रिय हेमा मालिनीले उत्तर प्रदेशको मथुराबाट जित हासिल गरेकी छन् । उनले यसअघि पनि दुई पटक सोही ठाउँबाट चुनाव जितेकी थिइन । उनी पनि भाजपाकी नेता हुन् ।
चर्चित भोजपुरी कलाकार रवि किशनले उत्तर प्रदेशको गोरखपुर संसदीय क्षेत्रबाट जित हासिल गरेका छन् । उनी यसअघि पनि त्यहीबाट भाजपाका सांसद थिए ।
त्यस्तै अर्का भोजपुरी गायक तथा नायक मनोज तिवारीले भाजपाको टिकटबाट उत्तरपूर्वी दिल्लीबाट चुनाव जितेका छन् । उनी लगातार तेस्रो पटक सो क्षेत्रबाट सांसद बनेका हुन् ।
अभिनेता शत्रुघ्न सिन्हाले त्रिणमुल कांग्रेसबाट चुनाव जितेका छन् । पश्चिम बंगालको आसनसोलमा चुनाव लडेका उनी फराकिलो अन्तरले विजयी भए । उनी पनि लामो समयदेखि राजनीतिमा छन् ।
त्यस्तै अभिनेता पवन कल्याणले आन्द्र प्रदेशमा विधानसभाको चुनाव जितेका छन् । उनी जनसेना पार्टीका प्रमुख हुन् ।
अर्का दक्षिण भारतीय फिल्मका कलाकार सुरेश गोपीले केरलको त्रिसुरबाट जित हासिल गरेका छन् । केरलमा गोपीकै कारण पहिलो पटक भाजपाले सिटको खाता खोलेको छ ।
Facebook Comment
Comment