मधेस प्रदेश सभा बैठक बस्दै, सरकार ढाल्ने र टिकाउने रणनीतिमा दलहरू

मधेस प्रदेश सभा बैठक बस्दै, सरकार ढाल्ने र टिकाउने रणनीतिमा दलहरू

जनकपुरधाम । मधेस प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ १३ गतेको बैठकले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो  ।

सो निर्णयअनुसार तेस्रो अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी कानुन अधिकृत चन्दनकुमार ठाकुरले जानकारी दिए ।

प्रदेश सभाले बैठकको सूचना पनि जारी गरिसकेको सूचना अधिकारी ठाकुरले बताए । दोस्रो अधिवेशनको अन्तिम बैठक गत वैशाख ५ गते बसेको थियो । त्यसको झण्डै डेढ महिनापछि आज प्रदेशसभा बैठक डाकिएको हो ।

मुख्यमन्त्री अल्पमतमा, पाँचौ पटक विश्वासको मत लिने तयारी

सत्ता साझदारी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएपछि अहिले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री यादवले यही अधिवेशनको बैठकमा वैशाख २३ गते पाँचौं पटक विश्वासको मत लिने तयारी गरेका छन् । यद्यपी, मुख्यमन्त्री यादवले विश्वासको मत लिनेबारे प्रदेश सभामा औपचारिक जानकारी प्राप्त नभएको प्रदेश सभाका सूचना अधिकारी ठाकुरले बताए ।

सुचना अधिकारी ठाकुरका अनुसार आजको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा सभाको तेस्रो अधिवेशन आह्वान भएको प्राप्त पत्र बैठकमा सभामुखले पढेर सुनाउने कार्यक्रम तय भएको छ ।

मुख्यमन्त्री यादवले विश्वासको मत पाउनका लागि अन्य राजनीतिक दलहरूसँग बैठक, छलफल गर्दै आएका छन् तर, अहिलेसम्म विश्वासको मत पाउने आधार टुङ्गोमा पुगेको ठोकुवा गर्न सकिएको छैन ।

कुन-कुन दलको समर्थन पाउने वा नपाउने कुरामा विश्वस्त नदेखिए पनि जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा(एकीकृत समाजवादी), राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाउनेमा आशावादी रहेको यादव बताउँछन् ।

यी दलको समर्थन पाएमा मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्नेछ । सरकार गठनको लागि यहाँ ५४ सांसद चाहिन्छ । यदि मुख्यमन्त्री यादवलाई कांग्रेस, लोसपा, नेकपा एस, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरे विश्वासको मत पाउनेछन् ।

अर्कोतर्फ जनमत पार्टीको नेतृत्वमा नयाँ गठबन्धन बनाएर एमाले, नेकपा माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीले मुख्यमन्त्री यादवलाई पदबाट हटाउनको लागि ज्ञापनपत्र बुझाउने तयारी गरिएको बताइएको छ ।

जनमत पार्टीका केन्द्रिय सचिव वीपी साहले आज दिउँसो मधेस प्रदेश प्रमुखसमक्ष ज्ञापनपत्र बुझाउने तयारी भएको जानकारी दिए ।

सचिव साहले भने, ‘अल्पमतमा परिसकेका मुख्यमन्त्रीले दीर्घकालिन असर पर्ने खालका निणर्यहरू गरेका छन्, त्यसैले हामीले ज्ञापनपत्र बुझाउन लागेका हौं ।’

यसरी जसपा नेपाल नेतृत्वको सरकारलाई जोगाउन कांग्रेस लगायतका केही दलहरू लागि परेका छन् । तर, सरकारलाई ढालेर जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्र सम्पूर्ण ताकत लगाएका छन् ।

राप्रपाले एमाले सहितको गठबन्धन सरकारलाई मधेसमा समेत समर्थन नगर्ने धारणा सार्वजनिक गरिसकेको छ । तर, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले एमाले सहितको गठबन्धनलाई समर्थन गर्ने दाबी एमाले नेताहरूले गरिरहेका छन् ।

नेकपा एसले समर्थन गरे पनि तीन दलीय गठबन्धनलाई आवश्यक बहुमत संख्या नपुग्दा थप संख्या पुर्‍याउन काठमाडौंमा एमाले, माओवादी र जनमतका नेताहरू एकजुट भएर लागेका छन् । सत्ताधारी जसपा नेपाल नेकपा एसको साथ रहनेमा विश्वस्त देखिन्छ ।

सरकारमा एकीकृत समाजवादीका २ जना मन्त्री छन् । एस संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका छन् । अर्का प्रभावशाली सभासद बेची लुंगेली श्रम तथा यातायात मन्त्री रहेकी छन् ।

एकीकृत समाजवादीले सत्ता गठबन्धनसँग नयाँ बन्ने सरकारमा आफुहरूलाई सम्मानजनक स्थान हुनुपर्ने बताउदै आएको छ र अहिलेसम्म सरकारमा रहिरहेको छ भने लोसपाको आधिकारीक धारणा सार्वजनिक भएको छैन।

यसरी मधेस प्रदेशको तेस्रो अधिवेशनबाट अहिलेको नेतृत्व परिवर्तन हुने वा अहिलेकै नेतृत्वले निरन्तरता पाउने वा अर्को नयाँ गठबन्धन बन्ने भन्नेबारे अहिले सर्वत्र चासोको विषय बनेको छ ।

नयाँ सरकार बनाउने र सरकार टिकाउने खेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेत प्रभावित बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved