२०१४ मार्च १६ !
बंगलादेशमा नेपाल क्रिकेट टिमले वर्ल्डकपमा डेब्यु गरेको दिन थियो, त्यो । त्यसदिन दुइटा खेल भए । घरेलु टिम तथा आयोजक राष्ट्र बंगलादेशसँगै त्यतिबेला एसोसियट राष्ट्रहरुमध्ये दमदार प्रदर्शन गर्दै आएको अफगानिस्तान, हङकङसँगैको समूहमा नेपाल समावेश थियो । पहिलो खेल दिउँसो थियो, बंगलादेशले अफगानिस्तानलाई हरायो । बेलुका नेपालसँग हङकङ भिड्नेवाला थियो, त्यस खेलको पर्खाइमा हजारौँ नेपाली दर्शकहरु थिए ।
संयोगले त्यसदिन रङ्गहरुको पर्व होली पनि थियो । नेपालले बेलुका हङकङ विरुद्ध खेल्ने खेल हेर्न नेपालीहरु दिउँसो होली मनाएर बसेका थिए । बेलुका हङकङ विरुद्ध नेपालले विश्व क्रिकेटको रङ्गमन्चमा देखाउने खेल हेर्न गल्लीहरु सजिएका थिए, चोकचोकमा प्रोजेक्टरहरु सेट गरिएका थिए, घरघरका टिभी कोठाहरु बुक भइसकेका थिए, देशव्यापी माहोल यस्तो थियो कि देशले एक उत्सव मनाउन गइरहेको छ ।
भौगोलिक हिसाबले पहाडी देश, लाखौं वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका देशहरुको तुलनामा सानो/मझौला देश, नेपालका गाउँबस्ती, सहर बजारमा नौलो उल्लासको दिन रह्यो त्यो । संशयको कुरो के थियो भने, त्यतिबेला हुने लोडसेडिङ । बेलुका हुने नेपालको खेल हेर्न पाइने हो वा नपाइने, भयंकर अन्योल थियो । सयौं युवा विद्यार्थीसँगै क्रिकेटप्रेमी दर्शकहरुले नेपालको खेल हुने दिन बिजुलीको लाइन काट्न नहुने भन्दै राजधानीस्थित एक सहर, कीर्तिपुर विद्युत अफिसमा नाराबाजी गरेका थिए । त्यतिबेला क्रिकेट हेर्न पाइने भनेपछि कीर्तिपुरमा विद्यार्थी जीवन बिताउँदै गरेको यो पंक्तिकार पनि नाराबाजीमा होमिएको थियो ।
देशभित्र चोक, गल्लीमा मात्रै यस्तो उल्लास सीमित थिएन । भर्खरै उदाउँदै गरेका सामाजिक सञ्जालबाट विदेशी भूमिमा पनि नेपालले खेल्ने विश्वकपको माहोल कस्तो बनाएको थियो, प्रष्टै देख्न सकिन्थ्यो । एक सिङ्गे गैंडा र देशको झण्डा अंकित राष्ट्रिय टिमको जर्सीमा सजिएर फोटो खिच्ने अनि सामाजिक सञ्जालका भित्ताहरुमा सजाउने होडबाजी देखिन्थ्यो । त्यस्तै, केही दर्शकहरु विश्वकप क्रिकेट हुने बंगलादेशस्थित स्टेडियममै बसेर नेपालले खेलेको खेल हेर्न पुगेका थिए ।
जजसले जुनसुकै ठाउँमा रहेर भए पनि नेपालले खेल्ने विश्वकप हेर्न आतुर थिए । बंगलादेशको जाहुर अहमद स्टेडियममा नेपाली दर्शकहरुको भरिभराउ उपस्थितिका बीच नेपालले सानदार खेल खेल्यो । हङकङविरुद्ध नेपाली क्रिकेट टोली बलिङ, ब्याटिङ, फिल्डिङ सबैतिर बलियो देखियो । ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रन, पारस खड्काले ४१ रन बनाएर समग्रमा हङकङविरुद्ध १५० रनको टार्गेट प्रस्तुत गरेका थिए । त्यस खेलामा हङकङ नेपाली बलिङ र फिल्डिङसामु घुँडा टेक्न बाध्य भयो ।
अहिले न्युजिल्यान्ड क्रिकेटको सिनियर टिमका रेगुलर सदस्य रहेका मार्क च्यापमान नेपाल विरुद्धको सोही खेलबाट टी २० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । हङकङका सबैजसो ब्याट्सम्यान सस्तैमा समेटिए । हङकङ मात्रै ६९ रनमा अलआउट हुँदा नेपालले उक्त खेलमा ८० रनको फराकिलो जित निकाल्यो ।
राति ९/१० बजेतिर नेपालले विश्वकपमा रवाफिलो विजय सुरुवात गरेको खुसीयालीमा चोकचोक, गल्लीगल्लीमा हर्सोल्लास सहित विजयी जुलुस निकालिए । अर्को दिन समाचारका मुख्यमुख्य हेडलाइनमा पत्रपत्रिका बजारभरी आए । एफएम रेडियो, टेलिभिजनमा नेपाली क्रिकेटबारे अनेकौं खबर, बहसहरु छेडिए ।
त्यसको चार दिनपछि नेपालको म्याच घरेलु टोली बंगलादेशसंग थियो । टेष्ट राष्ट्रहरुसँग भिड्ने मौका नेपालले सोही वर्ल्डकपमै पहिलो पटक पायो । दोस्रो खेल बंगलादेशविरुद्ध नेपालले अनुभव लिने मौकामा मात्रै सीमित रह्यो ।
लगत्तै त्यसको दुई दिनपछि नेपालले चीरप्रतिद्वन्द्वी अफगानिस्तानविरुद्ध खेल्ने तालिका थियो । तत्कालीन अवस्थामा अफगानिस्तान एकदिवसीय मान्यता पाएको राष्ट्रमध्ये शक्तिशाली टिम थियो । उसले अन्तरमहादेशीय कपमा बलियो उपस्थिति जनाउँदै टेष्ट राष्ट्रको निम्ति ‘लबिङ’ गरिरहेको थियो । सो वर्ल्डकपभन्दा केही दिनअगाडि मात्रै सम्पन्न एसिया कपमा अफगानिस्तानले बंगलादेशलाई हराएको पनि थियो । तत्कालीन अफगानिस्तान कप्तान मोहम्मद नाबीले टी २० वर्ल्डकपमा आफ्नो टिम ग्रुप चरण भन्दामाथि सुपर टेनमा बढी ध्यान राखेको भनेका थिए । बिडम्बना ! अफगानिस्तानको सोचमाथि नेपाल बाधक बन्यो । एसिया कपमा बंगलादेशविरुद्ध जित निकालेर बलियो मनस्थितिमा वर्ल्डकप खेल्न आएको अफगानिस्तानलाई नेपालले हरायो ।
नेपालले तुलनात्मक रुपमा बलियो मानिएको अफगानिस्तानविरुद्ध पनि जित निकालेपछि उसको अघिल्लो चरणमा पुग्ने सपना अधुरो बन्यो । यता नेपाल र बंगलादेशमध्ये सुपर टेनमा कुन टिम पुग्ने भन्ने अड्कलबाजी सुरु भयो । सोही दिन दिउँसो सम्पन्न अफगानिस्तान र नेपाल बीचको खेलमा नेपाल विजय भएपछि धेरैको चासो बंगलादेश र हङकङ बीचको खेलमा गयो ।
हङकङले बंगलादेशलाई सुरुवातदेखि नै दबाबमा राख्यो । हङकङविरुद्ध बंगलादेश पुरै २० ओभर पनि ब्याटिङ गर्न सकेन । बंगलादेश १७ औं ओभरमा १०८ रनमा नै अलआउट भयो । नेपाल अघिल्लो चरणमा पुग्नको लागि हङकङको जित मात्रै पर्याप्त हुने थिएन । हङकङले १४ औं ओभरअगावै बंगलादेशविरुद्ध विजयी हुनुपर्ने थियो ।
घरेलु मैदानमा आफैं आयोजक राष्ट्र हुँदाहुँदै पनि अघिल्लो चरणमा पुग्न नसके निकै आलोचित हुन सक्ने बंगलादेशले सम्भावित गणितीय समीकरणलाई बुझ्दै हङकङ विरुद्ध खेल गुमाए पनि १४ औं ओभरभन्दा अगाडि जित्न नदिने गरी खेल्यो । हङकङको कम अनुभवका बीच बंगलादेशले आफ्ना मुख्य बलर सुरुवातदेखि नै लगाएर १४ औं ओभरपछि खेल हङकङलाई बुझायो । यससँगै रोकिएको थियो, नेपालको सन् २०१४ को टी २० वर्ल्डकपको यात्रा ।
टी २० वर्ल्डकपमा शानदार प्रदर्शनसँगै घर फर्किएको नेपाल क्रिकेट टिमले निकै आरोह र अवरोह भोग्यो । क्रिकेट संघ निलम्बन र फुकुवादेखि विविध उतारचढावका बीच नेपाली क्रिकेट टिमले सन् २०१६, सन् २०२० र सन् २०२२ गरी टी २० वर्ल्डकपको तीन ओटा संस्करण गुमाउन पुग्यो । पुबुदु दासानायकेको कोचिङ ‘इरा’मा सन् २०१४ को वर्ल्डकपमा सहभागिता मात्रै नजनाएर एउटा छुट्टै छाप छोडेर फर्केको नेपाल अहिले मोन्टी देसाइको ‘इरा’मा पुनः सन् २०२४ को टी २० वर्ल्डकपमा पुगेको छ ।
नेपालले सहभागिता जनाएको पहिलो वर्ल्डकप र अब नेपालले खेल्ने सन् २०२४ को वर्ल्डकपमा धेरै फरक छ । सन् २०१४ र सन् २०२४ मा बीच अंक १ को ठाउँमा अंक २ फेरिएको मात्रै छैन टिमका सदस्य, क्रिकेट संघको व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय क्रिकेटको टी २० शैली, क्रिकेट खेल्ने देशहरुमा निकै ठूलो फरक आइसकेको छ ।
सन् २०१४ को टिमबाट वर्ल्डकप खेलेका एक जना सदस्य सोमपाल कामी मात्रै अहिले नेपालले खेल्ने टी २० वर्ल्डकप २०२४ मा सहभागी हुँदैछन् । तत्कालीन समयका कप्तान पारस खड्का अहिले नेपाल क्रिकेट संघको सचिव पदमा कार्यरत छन् ।
विश्वव्यापी रुपमा क्रिकेट विकास सम्बन्धी काम गर्ने संस्था आईसीसीले टी २० क्रिकेटलाई लिएर फराकिलो अवसर दिएको छ । आईसीसीका सदस्य राष्ट्रहरुले एक अर्का सदस्य राष्ट्रबीच अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेगरी क्रिकेट खेल, प्रतियोगिता आयोजना गर्ने अधिकार दिने गरेको छ । मुख्य कुरो त, आईसीसीले टी २० वर्ल्डकप खेल्ने देशहरुको संख्या बढाएर २० पुर्याएको छ ।
पछिल्लो समययता विश्व खेलकुदका रङमञ्चमा नेपालले क्रिकेट खेलबाट छाप छोड्दै आएको छ । दक्षिण एसिया आफैंमा क्रिकेटको हब भएको हुनाले पनि त्यसको बाछिटा नेपालमा पर्नु स्वाभाविक नै मानिन्छ । छिटो र छरितो खेल बुझिने फुटबलपछि विश्वमा क्रिकेटले ठूलो फ्यान फलोइङ बटुल्दै गएको छ । सबैजसो महादेशमा क्रिकेट विश्वकप चाहे टी २० होस् या वान डे विश्वकप होस्, प्रतिस्पर्धा तीव्र रुपमा बढ्दै गएको छ ।
डिजिटल मिडियाको विकाससँगै क्रिकेट खेलको लोकप्रियता झनै चुलिएको छ । आईसीसीले यसपटकको वर्ल्डकपलाई ‘आउट अफ दिस वर्ल्ड’ भनेर सर्वाधिक भ्युज बटुल्ने ध्याउन्नमा लागेबाटै थाहा हुन्छ, यसपटकको टी २० वर्ल्डकप कति लोकप्रिय बनाउनेतिर लागिएको छ भनेर ।
यसपटक नेपालले विश्वकपमा आफ्नो दमदार पुनरागमन देखाउन सक्ने अवसर छ । लगालगको वर्ल्डकपमा सहभागिता हुन नपाएको नेपालले विश्व क्रिकेटमा नेपाली क्रिकेटको छुट्टै ब्राण्ड छाड्न सक्छ । १० वर्ष पहिले जस्तै यसपटक पनि युवाहरु बाहुल्य जोसिलो टिम बोकेर गएको छ ।
सन् २०१४ मा सहभागिता जनाउँदा नेपालले आईसीसीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलको अनुभव बिना नै उपस्थिति जनाएको थियो । त्यसयता नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । एकदिवसीय मान्यताको नवीकरण पनि गत वर्ष गरिसकेको छ । आईसीसीको नयाँ प्रावधान अनुसार एकदिवसीय वर्ल्डकपको लागि हुने क्वालिफायरमा टेष्ट राष्ट्र जिम्बावे, अफगानिस्तान, वेष्ट इन्डिज, आयरल्याण्ड जस्ता देशहरुसँग खेलेर अनुभव बटुलिसकेको छ । गत वर्ष मात्रै एसिया कपमा विश्व क्रिकेटका दुई ठूला हस्ती भारत र पाकिस्तानसँग खेलेर बेग्लै छाप छोडेको छ । दक्षिण एसियाका आठ ओटा देशहरुमध्ये नेपालले क्रिकेट खेल्न बाँकी रहेको देश श्रीलंकासित यसै टी २० वर्ल्डकप मार्फत् भिड्दैछ ।
देशमा बढ्दै गएको बेरोजगारी, कमजोर हुँदै गएको अर्थतन्त्रका बीच युवाहरु देश छोडेर विदेशिने लहर चलिरहेको बेला दिनकै नयाँनयाँ ब्रेकिङ न्युजहरुले मात्रै तरंगित भइरहने नेपाली समाजले खेलकुदका माध्यमबाट एकैछिन भए पनि दुःख बिर्सिने निहुँ पाउँदै आएका छन् । त्यसै खेलकुदमध्येकै एक खेल क्रिकेट पछिल्लो समय नेपालीजनहरुको एकताको सूत्र बन्दै आएको छ । नेपालमा क्रिकेट ल्याउने घरानाहरु, यसको पृष्ठभूमिलाई एकातिर पन्छाएर हेर्ने हो भने नेपाल क्रिकेट पछिल्लो दशक यता नेपालीहरुको मनमा बसेर दुःखपीडा बिर्साउने खेल बनेको छ । विश्वका चर्चित लिगहरु खेलेर नाम र दाम कमाउने बाटो पनि क्रिकेटले दिएको छ ।
विश्वभरका मान्छेहरुले हेर्ने वर्ल्डकपमा आफ्नो खेलकला देखाउन सके ठूलाठूला लिगहरुको ध्यान खिच्न सकिन्छ । क्रिकेटलाई खेल मात्रै नभएर अब व्यापार पनि बनाउने जिम्मेवारी अहिलेको क्रिकेट टिमसँगै रहेको छ । वर्ल्डकपमा सहभागिता मात्रै नभई छुट्टै छाप छोड्ने अभिभारा अहिलेका १५ जना क्रिकेट खेलाडीहरु माथि रहेको छ । यी सबै आशाहरुको चाङमा अझै आशा थपिने गरी खेलेर घर फर्किनु निकै ठूलो उपलब्धि हुनेछ ।
अत: छिमेकी देश भारतले क्रिकेटमार्फत् निकै ठूलो व्यापार विस्तार गरेको छ । भारतभित्र क्रिकेट खेल मात्रै नभएर संस्कृति र रोजगारीको मध्यम बनिसकेको छ । त्यहाँका व्यापारीहरुले क्रिकेटमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै गएका छन् । भारतमा देशको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ क्रिकेट । खेल मार्फत व्यापार विस्तार गर्ने यो मेसोमा हामी किन पछाडि पर्ने ?
दक्षिण अमेरिकामा हुर्किँदै गरेको एक किशोरले युरोपका ठूला लिगहरुमा खेलेर पैसा कमाउने सपना देख्न सक्छ भने हाम्रा नौजवान युवाहरुले के क्रिकेट खेलेर पैसा कमाउने सपना देख्न सक्दैनन् ? अहिलेको टी २० वर्ल्डकप मार्फत् सन् २०१४ मा नेपालले बंगलादेशमा टी २० वर्ल्डकप खेल्दाको जस्तै उभार फर्काउन सकोस्, वर्ल्डकप खेल्नेहरुको नाममा शुभकामना ।
Facebook Comment
Comment