राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा किन हटाइन्छ कस्मेटिक श्रृङ्गारदेखि टोपीसम्म ?

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा किन हटाइन्छ कस्मेटिक श्रृङ्गारदेखि टोपीसम्म ?

काठमाडौं । अघिल्लो वर्ष असार १ गते प्रतिनिधि सभाको शून्य समयमा धारणा राख्दै जनमत पार्टीका सांसद अब्दुल खानले नेपालगंजको एउटा घटनाको चर्चा गरे । उनले भने, ‘बाँके जिल्ला, नेपालगंज उपमहानगरपालिका, वडा नम्बर ३ की खैरुन निशा अन्सारीले राष्ट्रिय परिचयपत्र बनाउन इन्कार गरेकी छिन् ।’

सांसद खानले अन्सारी एउटा प्रतिनिधि पात्र मात्रै भएको भन्दै तराई मधेसका हजारौँ पुरुष र महिलाले राष्ट्रिय परिचयपत्र बनाउन इन्कार गरेको दाबी गरे ।

कारण खुलाउँदै उनले भने, ‘राष्ट्रिय परिचयपत्र बनाउँदाखेर संविधानको धारा २४, २६ र २९ को भावना विपरीत, सांस्कृतिक र धार्मिक मर्यादा विपरीत महिलाहरूले सिन्दूर हटाउनुपर्ने र दोपट्टा हटाउनुपर्ने, पुरुषहरूले कण्ठी हटाउनुपर्ने, टीका हटाउनुपर्ने । यस्ता बाध्यकारी नियम बनाएर राष्ट्रिय परिचयपत्रको फोटो खिचिन्छ ।’

उनले उल्लेखित बाध्यकारी नियम हटाउन सरकारसँग आग्रह पनि गरे ।

नेपालमा बसोबास गर्ने विभिन्न भाषा, धर्म र समुदायका महिला वा पुरुषले लगाउने विशिष्ट कपडाहरू छन् । अन्य पहिचानजन्य शृंगारहरू पनि छन् । जुन धार्मिक र सांस्कृतिक पहिचानसँग पनि जोडिएक छ । कतिपय त श्रीमान् जिवित् छँदासम्म महिलाले लगाइरहन्छन् । कतिपय पुरुषले पनि ढाका टोपी लगाउँछन् । विशेष परिस्थितिमा बाहेक खोल्दैनन् ।

तर राष्ट्रिय परिचय पत्र बनाउँदा त्यस्ता पोषाक र पहिरन खोलेर फोटो खिच्नुपर्ने हुन्छ । खानले उठाएको विषय यहीँनेर जोडिएको छ ।

यद्यपि, यस सम्बन्धमा धारणा राख्ने उनी मात्रै होइनन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस विषयमा चर्चा गरेका थिए ।

गत वर्ष बागमती प्रदेशको प्रथम अधिवेशनमा आफ्नो भनाइ राख्दै ओलीले ढाका टोपी नेपालीको पहिचान भएकाले टोपी लगाएरै राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन पाउनुपर्ने बताएका थिए ।

त्यसक्रममा ओलीले कुनै पनि फोटो खिच्दा पन्जाबीले पगरी नखोल्ने सन्दर्भको चर्चा गरे । ‘परिचयपत्र बनाउन जाँदा हाम्रा दिदीबहिनीहरुले सिन्दूर पखाल्न पर्ने, पोते खोल्न पर्ने; यो कस्तो कानुन हो ? पहिचान पहिचान भन्नेहरू यस्ता विषयमा चाहिँ नबोल्ने, भाँडभैलो मच्चाउने विषयमा चाहिँ लड्ने ?’, उनले प्रश्न गरेका थिए ।

साथै, ओलीले नेपालको संस्कृति ध्वस्त पार्न सरकार आफैं लागिपरेको आरोपसमेत लगाएका थिए । ‘सिन्दूर पखालेर, पोते खोलेर नेपाली विवाहित महिलाको पहिचान खोज्ने ?’ उनको प्रश्न थियो ।

धार्मिक र सांस्कृतिक विषय संवेदनशील मानिने समाजमा तिनकै परिचय र पहिचान झल्काउने यो विषयले अन्य सन्दर्भमा पनि चर्चा पाउने गरेको छ ।

आखिर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा किन पखाल्ने सिन्दूर ? किन खोल्ने टोपी ?

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यस विषयलाई सार्वजनिक जानकारीमा पनि राखेको छ । उसद्वारा तयार गरिएको राष्ट्र परिचयपत्र सम्बन्धी प्रश्नको १२ नम्बरमा लेखिएको छ, ‘राष्ट्रिय परिचयपत्र कार्यविधि २०७८ को दफा १६ (ग) र (घ) अनुसार कस्मेटिक शृङ्गार, टोपी, बुर्का, क्याप लगायतका सामग्री लगाएर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न मिल्दैन ।’

त्यस्ता सामग्री र गहना लगाइ फोटो खिच्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आकार र गुणस्तरको फोटो खिच्न नसकिने साथै, अनुहार र मुखाकृतिसमेत अस्पष्ट हुने भएकाले कुनै पनि कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगायतका सामग्री गहना नलगाइ फोटो खिच्नुपर्ने विभागको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved