माधवको मनमा छैन चैन !

अहिले पनि उनी सत्तारूढ गठबन्धनमा चैनले बस्न सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक सत्ता गठबन्धन परिवर्तन गरेपछि आफ्नो पूर्वदल एमालेसमेतको उपस्थितिमा बनेको समीकरणमा उनी चुलबुल गरिरहन्छन्, हलचल गरिरहन्छन् ।

माधवको मनमा छैन चैन !

काठमाडौं । हुनसक्छ, माधव नेपाललाई आफ्नै दलीय हैसियतमा विश्वास छैन । त्यसैले त उनी घरी बालुवाटार छिर्छन्, घरी बूढानीलकण्ठ पुग्छन् ।

त्यसो त माधव सत्ताभन्दा पर बस्न रुचाउँदैनन्, उनलाई सत्ता चाहिन्छ, चाहिएको छ । त्यसैले सत्तामा सुरक्षा खोज्दै उनी यताउता चहारिरहन्छन् ।

भन्नलाई त उनी सहज रूपमा नै भनिदिन्छन्, ‘माधव नेपाल पद र सत्ताका लागि मरिहत्ते गर्ने मान्छे होइन’ भनेर । यो लाइन उनी दोहोर्‍याउँछन्, तेहर्‍याउँछन् । तर, व्यवहारत: देखाउन भने सक्दैनन् ।

हुन त अहिले पनि उनी सत्ताधारी नै हुन् । सङ्घमा दुई मन्त्रालय पाएको उनको दल नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वसमेत पाएको छ । यति हुँदा पनि उनकै भाषामा भन्दा उनको मनमा चैन भने छैन ।

नेकपा (एमाले) चोइट्याएर बनाएको एकीकृत समाजवादी आशातीत रूपमा उठ्न नसकेपछि त्यति खुसी हुन नसकेका माधव लोकतान्त्रिक-वाम गठबन्धनबाट कम्तिमा एक वर्ष प्रधानमन्त्री बन्ने मौका खुस्किएपछि अझ बेचैन छन् ।

अहिले पनि उनी सत्तारूढ गठबन्धनमा चैनले बस्न सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक सत्ता गठबन्धन परिवर्तन गरेपछि आफ्नो पूर्वदल एमालेसमेतको उपस्थितिमा बनेको समीकरणमा उनी चुलबुल गरिरहन्छन्, हलचल गरिरहन्छन् ।

उनी कहिले प्रमुख प्रतिपक्ष दलका नेतासँग संवादमा बस्छन्, कहिले विपक्षी दलको बैठकमा मिसिन्छन् त कहिले गठबन्धन जतिबेला पनि जे पनि हुनसक्ने अभिव्यक्ति दिन्छन् । केही हप्ता अगाडिको मात्रै कुरा हो, माधव भन्थे— सत्ता गठबन्धन जतिबेला पनि जे पनि हुनसक्छ ।

तर, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएपछि उनी चुपचाप छन् । तर पनि मनमा चैन भने देखिँदैन, सत्ताबाट बाहिरिन्छु/बाहिरिनुपर्छ कि भन्ने भय सायद उनमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने माधव अर्को गठबन्धनतिर जान्छन् भन्नेमा विश्वास गर्दैनन् । बिहीबार बिहान मात्रै माधवसँग आफ्नो कुरा भएको भन्दै उनले भनेका छन्, “उहाँ यता पनि उता पनि जस्तो देखिएको थियो । आज बिहान मात्रै कुरा गर्दा म समीकरणभन्दा बाहिर छैन, हुन्न भन्नुभएको छ । कुरा क्लियर छ ।”

त्यसो त माधव र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्नेबारे ‘भर्बल’ सहमति भएको थियो । वैशाख ५ गते साँझ कांग्रेस नेता डा. नारायण खड्काको घरमा भएको संवादका क्रममा दुवै नेताहरू यसमा सहमत भएका थिए ।

जसै त्यसअघि २०८० फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक सत्ता गठबन्धन परिवर्तन गर्दा कांग्रेसले माधवलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । त्यसयता माधव कांग्रेससँग टाढिएका छैनन् । बेला-बेला कांग्रेस सभापति देउवासँग संवाद गरिरहन्छन् ।

त्यसपछि बुधबार साँझ मात्रै माधव देउवा निवास बूढानीलकण्ठ पुगे । त्यहाँ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलगायतका विपक्षी दलका नेताहरू थिए ।

त्यहाँ मुख्यगरी मधेस प्रदेश सरकारबारे कुराकानी भएको प्रचार गरिए पनि वैकल्पिक गठबन्धनबारे पनि छलफल भएको स्रोतले बतायो । “मधेस प्रदेश सरकार गठनको सम्भावनाबाहेक सङ्घीय सरकारको समीक्षालगायत भावी दिनमा मिलेर अगाडि बढ्नेबारे पनि छलफल भयो,” स्रोतले भन्यो ।

सत्ताधारी माधवको यो ‘ल्याङल्याङ’ सँग सत्तारूढ अरु दलहरू भने खुसी छैनन् । एमालेका एक नेता भन्छन्, “उहाँ सबैको हुने प्रयासमा नै देखिनुहुन्छ । हुनलाई उहाँ सत्तामा नै हुनुहुन्छ । उहाँ भरोसा नै छैन जस्तो गर्नुहुन्छ । त्यसो गर्नु ठीक होइन । उहाँले यो प्रवृत्ति हटाएर ढुक्कसँग अहिलेको सत्ता गठबन्धनको एक हिस्सा भएर बस्नुपर्दछ ।”

राजनीतिक विश्लेषक भने माधवको यो हलचललाई ‘बार्गेनिङ्ग’ को रूपमा अर्थ्याउँछन् । विश्लेषक हरि रोका भन्छन्, “यो सत्ताको बार्गेनिङ्गबाहेक केही होइन ।”

अहिले गठबन्धनसँग उहाँले किन असुरक्षित महसुस गर्नुभएको हो ? भन्ने नेपालभ्युजको जिज्ञासामा विश्लेषक रोका थप्छन्, “केही भइहाल्छ कि, मेरो भाग गुमिहाल्छ कि भन्ने डर भएपछि त्यसो गर्नु परिहाल्यो । उहाँलाई मात्रै होइन, अहिले सबै दलका नेताहरूलाई सत्ता नै चाहिन्छ ।”

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने माधवको हलचलमा ‘ह्याङओभर’ देख्छन् । पहिले ठूलो पार्टी चलाएको तर, अहिले सानो पार्टीको नेतृत्व गर्नुपर्दा पहिलेकै ह्याङओभर उनमा रहेको आचार्यको विश्लेषण छ ।

“माधवजीले पहिले ठूलो पार्टी चलाएको तर, अहिले सानो पार्टीको नेतृत्व उहाँलाई भारी भइरहेको छ तर, के गर्नु ? गर्नैपर्‍यो, सक्रियता देखाउनैपर्‍यो । उहाँले आफ्नो सक्रियता देखाउनैका लागि पनि कहिले बूढानीलकण्ठ पुग्नुहुन्छ, कहिले बालुवाटार पुग्नुहुन्छ,” उनले भने ।

विश्लेषक आचार्य यतिबेला माधव सङ्गठन बनाउनेतर्फ लाग्नुपर्ने बताउँछन् । “माधवजी सङ्गठन बनाउनतर्फ लाग्नुभएकै छैन । तर, त्यो ह्याङओभरका कारणले ठूला नेताहरूसँग बसिरहनुपर्ने हुन्छ । अहिले त्यही गरिरहनुभएको छ,” उनले भने ।

जे होस्, माधव सत्तारूढ भइकन पनि निरन्तर प्रमुख प्रतिपक्षी कांग्रेससँगको उठबसमा छन् । उनको दल जत्रो भए पनि उनीजतिको परिपक्व नेताले ‘आलोकाँचो’ राजनीति गरिरहेका छन् ।

अपेक्षित रूपमा पार्टी माथि लाग्न नसकेको, राष्ट्रिय पार्टी समेत बन्न नसकेको, १ वर्ष प्रधानमन्त्री बन्ने मौका गुमेकोलगायतका विषयले पनि माधवको मनमा साँच्चै चैन छैन !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved