काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।
सर्वोच्च अदालतले एमाले संसदीय दललका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गरेसँगै पाण्डे ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चले ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको छ । सोही अनुसार प्रदेश प्रमुखले आज पाण्डेलाई सपथ गराउने छन् । पाण्डेले राप्रपासहितका दलको समर्थन लिएर सरकार गठन गर्ने बताइएको छ ।
गण्डकी प्रदेशमा कांग्रेससँग २७ सांसद छन् । ६० सदस्यीय संसदमा बहुमत जुटाउन पाण्डेलाई थप ४ सांसदको समर्थन आवश्यक हुन्छ । त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँगै अन्य दुई सांसद पनि पुर्याउनुपर्ने छ । राप्रपासँग २ जना सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गर्दा पनि आवश्यक सङ्ख्या पुग्दैन ।
कांग्रेसले बहुमत पुर्याउनका लागि माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको समर्थन लिने प्रयास थालेको छ ।
यदि उनको समर्थन प्राप्त भयो र माओवादीले कुनै कारबाही नगरेमा पाण्डेको सरकारले विश्वासको मत पुर्याउन सक्छ । उनले विश्वासको मत ३१ पुर्याउन नसके पाण्डे एक महिनापछि स्वत: पद मुक्त हुनेछन् ।
त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
गण्डकी प्रदेशमा नयाँ निर्वाचनपछि तीन पटक सरकार परिवर्तन भइसकेको छ ।
गण्डकी प्रदेशमा फेरि एक सांसदको खेल सुरु भइसकेको छ । पाण्डेका लागि राप्रपा र मनाङेले साथ दिए पनि एक सांसद अपुग छ । यहि एक सांसद जुटाउन सके मात्रै पाण्डे नेतृत्वको सरकार टिक्ने छ , नभए फेरि एक महिना पछि अर्को सरकार बन्ने अनि त्यसले पनि बहुमत जुटाउन नसके प्रदेश सभा नै बिघटन हुने अवस्थामा पुग्ने छ ।
Facebook Comment
Comment