आगामी वर्ष बङ्गलादेशमा विजुली बेच्ने अर्थमन्त्रीको घोषणा, बुढिगण्डकी निर्माण सुरु हुने

नेपालभ्युज

आगामी वर्ष बङ्गलादेशमा विजुली बेच्ने अर्थमन्त्रीको घोषणा, बुढिगण्डकी निर्माण सुरु हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याउने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा बङ्गलादेशमा विजुली बेच्ने तयारी रहेको बताएका हुन् ।

उनले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा नौ सय मेगावाट बिजुली थप हुने समेत बताएका छन् । हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेकामा आगामी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

सुक्खायामको माग सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको पनि मन्त्री पुनले बताए । उनले १ हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना आगामी वर्ष निर्माण सुरु गर्ने घोषणा पनि गरे ।

६ सय ३५ मेगावाट क्षमताको दूधकोशी, चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण पनि अघि बढाउने लागेको उनले बताए ।

सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिकको लगानीलाई सुरक्षित गर्ने गरी ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला र ७० दशमलव तीन मेगावाट क्षमताको सिम्बुआ खोला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने पनि घोषणा गरेको छ ।

ढल्केबर इनरुवा प्रसारण लाइन, बाह्रबिसे खिम्ती लप्सीफेदी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गरिने प्रतिबद्धता मन्त्री पुनले जनाए । सेती करिडोर, भेरी करिडोर र बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने लक्ष्य निर्धारण गरेको उनले बताए ।

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने लक्ष्य बजेटले लिएको छ । इनरुवा पूर्णिया, दोदोधारा बरेली प्रसारण लाइन निर्माणका लागि आवश्यक व्यवस्था गरिएको छ । प्रसारण लाइनको ‘राइट अफ बे’ का लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि जग्गाधनीलाई आयोजना प्रभावित क्षेत्रका सर्वसाधारण सरह नै शेयर प्रदान गरिने व्यवस्था बजेटमा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved