आगामी ५ दिन तातो हावा चल्नसक्ने, सतर्क रहन आग्रह

नेपालभ्युज

आगामी ५ दिन तातो हावा चल्नसक्ने, सतर्क रहन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ ।

लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू-भागको थोरै स्थानहरूमा विगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ, ‘आगामी ५ दिन (वैशाख १० गते देखि १४ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै, पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ।’

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने महाशाखाले भनेको छ ।

साथै, हल्का लुगा लगाउन, सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसंग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन पनि महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंजस्ता उपत्यका तथा खोँच भएका स्थानमा पनि तापक्रम बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved