कांग्रेस नेता आलमको मुद्दा वैशाख ३ गतेको पेसीमा

नेपालभ्युज

कांग्रेस नेता आलमको मुद्दा वैशाख ३ गतेको पेसीमा

काठमाडौं । कांग्रेस नेता मोहमद अफताब आलम लगायत  विरुद्ध दायर भएको मुद्दाको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको छ । रौतहट जिल्ला अदालतले आगामी वैशाख ३ गतेदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइको तयारी गरेको हो ।

रौतहटको राजपुर बमकाण्डका आरोपित आलमको मुद्दाको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धवप्रसाद ढोडारीले जानकारी दिए  । उनका अनुसार वैशाख ३गते  सबै न्यायाधीश उपस्थित भएमा सो मुद्दामा अन्तिम सुनुवाइ सुरु हुनेछ ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटमा बम बनाउँदै गर्दा  भएको विस्फोटमा परी घाइते भएका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँलाई आलमले घाइते अवस्थामै इटाभट्टामा जिउँदै जलाएको आरोप लागेको छ ।

सोही घटनामा सरकारले मुद्दा दर्ता नै नगरेपछि सर्वोच्च अदालतको निर्देशनात्मक आदेशबाट उक्त घटनाको पुनः अनुसन्धान हुँदै २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा ‘विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’ मा मुद्दा दर्ता भएको थियो ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले २०७६ साल कात्तिक २९ गते आलमसहित पक्राउ परेका व्यक्तिहरूलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतको सो आदेशपछि  आलम उच्च अदालत र सर्वोच्च अदालत पुगे पनि दुवै अदालतले आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बताएपछि आलम हालसम्म थुनामै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved