भियतनामी अर्बपति लानलाई मृत्युदण्ड, २७ अर्ब डलर घोटाला गरेको ठहर

नेपालभ्युज

भियतनामी अर्बपति लानलाई मृत्युदण्ड, २७ अर्ब डलर घोटाला गरेको ठहर

काठमाडौं । भियतनामी अर्बपति महिला ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

बीबीसीका अनुसार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ। लान भान थिन्ह फाटकी संस्थाकी अध्यक्ष हुन्।

उनीमाथि घुसखोरी, बैंकका नीतिनियमको उल्लंघन र रकम हिनामिना गरेको अदालतले ठहर गरेको छ । ११ वर्षको अवधिमा भियतनामको ठूलो बैंक साइगोन कमर्सियल बैंकबाट २७ अर्ब डलर घोटाला गरेको ठहर भएको बीबीसीले जनाएको छ ।

लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको तर, २७ अर्ब फिर्ता गर्न नगरेको बैंकले जनाएको छ । देशकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन्।

हो चि मिन सहरकी लानले आमासँग आफ्नो व्यापारिक यात्रा कस्मेटिक्स सामग्री बेचेर सुरु गरेकी थिइन्।

सन् १९८६ देखि उनले घर जग्गा जोड्न थालेकी थिइन् । सन् १९९० सम्म आइपुग्दा उनले थुप्रै होटल तथा रेष्टुरेन्टहरू खडा गरिसकेकी थिइन्।

सन् २०११ सम्म लान एक परिचित व्यापारीको रूपमा उदाइसकेकी थिइन्।

उनले त्यतिबेला तीन वटा साना बैंकलाई मर्ज गरी साइगोन कमर्सियल बैंक खडा गरिन्। भियतनामी कानुनअनुसार कुनै पनि व्यक्तिले बैंकको ५ प्रतिशत शेयर भन्दा बढी राख्न पाइँदैन।

तर, उनले सयौं नक्कली कम्पनी र मानिसहरू खडा गरी बैंकको ९० प्रतिशत बढी शेयर आफ्नो नाममा गरेको अभियोजनकर्ताहरूले बताएका छन्।

सन् २०१९ फेब्रुअरीदेखि आफ्ना सवारी चालकलाई ९४ अर्ब अमेरिकी डलर नगद निकाल्न लगाएको र आफ्नो बेसमेन्टमा लुकाएको अभियोजनकर्ताको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved