काठमाडौं । संसारकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ ।
जुआन भेनेजुएलाका बासिन्दा हुन् । सन् २०२२ फेब्रुअरीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो । त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् जुआनको मृत्यु भएको जानकारी दिएका छन् ।
जुआनको जन्म सन् १९०९ मे २७ मा भएको थियो । उनका ११ छोरा, ४१ नाति-नातिना, १८ पनाति–पनातिनी र १२ खनाति–खनातिनी छन्।
गिनिज रिपोर्टका अनुसार जुआन पेसाले किसान थिए । मेहनत, आराम गर्ने र दिनहुँ एक गिलास उखुको मदिरा पिउनु नै आफ्नो लामो आयुको रहस्य रहेको उनले बताएका थिए ।
५ वर्षको उमेरदेखि जुआनले आफ्ना बुबा र भाइहरूसँग खेतमा काम गर्न थालेका थिए । उनीहरुलाई उखु र कफी खेतीमा सहयोग गर्थे ।
त्यसपछि उनी सेरिफ (स्थानीय प्रहरी अधिकृत) भए र आफ्नो क्षेत्रमा जग्गासम्बन्धी समस्या समाधान गर्न थाले । तर, त्यो अवधिमा पनि उनले खेतीलाई निरन्तरता दिए ।
सन् १९३८ मा जुआनले एडियोफिना गार्सिया नामकी महिलासँग विवाह गरे । उनकी श्रीमतीको सन् १९९७ मा मृत्यु भयो।
Facebook Comment
Comment