कांग्रेसको आरोप-

‘डीपी अर्याल र कविन्द्र बुर्लाकोटी सञ्चालक समिति सदस्य रहेको सहकारीले बचतकर्ताको ४ करोड फिर्ता गरेन’

नेपालभ्युज

‘डीपी अर्याल र कविन्द्र बुर्लाकोटी सञ्चालक समिति सदस्य रहेको सहकारीले बचतकर्ताको ४ करोड फिर्ता गरेन’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै कांग्रेस सांसद रामकृष्ण यादवले यसबारे बोलेका हुन् ।

“डीपी अर्याल हाम्रो नयाँ कृषिको उपाध्यक्ष हुँदा निक्षेपकर्ताहरूले ४ करोडभन्दा बढी रकम फिर्ता नपाएको विषय छ,” सांसद यादवले भने, “अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सहकरीको सञ्चालक समिति सदस्य थिए ।”

उनले थपे, “अचम्मको कुरा त के भने सोही सहकारीमा पनि अस्वाभाविकरूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । र, यो काम अहिलेका श्रममन्त्रीलगायतले गरेको आरोप छ । अहिले समस्याग्रस्त यस सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने समाचार आइरहेका छन् । यो घटनाले थप पुष्टि के गर्‍यो भने सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भनेर ! यसकारण भनिरहेका छौँ कि निष्पक्ष छानबिनको आवश्यकता छ त्यसका लागि संसदीय छानबिन समिति बनाउनुपर्छ ।”

सांसद यादवले गृहमन्त्री रवि लामिछाने ठगी प्रकरणमा जोडिएको र उनी मातहतका निकायहरूले छानबिनका सन्दर्भमा काम गर्न नसक्ने बताए । “स्वयम् गृहमन्त्रीको नाम ठगीमा जोडिएको छ । यसकारण उनी मातहतका निकायहरूले निष्पक्ष छानबिन गर्न सक्दैनन् कि भन्ने सन्देश संसद्‌भित्र र बाहिर पनि गएको छ,” उनले भने ।

सरकारले सुशासनको कुरा गरेको तर, निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउन भने रोकिरहेको उल्लेख गर्दै उनले भने, “सरकारको कथनी र करणीबीचमा मतभेद छ । यो भनेको सुशासनको बाधक हो ।”

उनले आफूहरूको अन्तिम माग नै संसदीय समिति गठन भएको दोहोर्‍याए । उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई दोषी देखाउने यथेष्ठ प्रमाणहरू रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved