रुसी सेनामा भर्ना भएका नेपालीले गुहारे भारत- नेपालले सकेन, हाम्रो उद्धार गरिदेउ

‘‘ हमारे नेपाल से कुछ नहीं हो रहा है । हम चाहते हैं कि यहां मौजूद सभी नेपाली अपने वतन लौट चाहते हैं । नेपाल और भारत के बीच अच्छे संबंध हैं । भारत और भारतीय दूतावास शक्तिशाली हैं । इसलिए हम आपसे मदद माँगना चाहते हैं’’ उनीहरूले हिन्दी भाषामा भनेका छन् ।

नेपालभ्युज

रुसी सेनामा भर्ना भएका नेपालीले गुहारे भारत- नेपालले सकेन, हाम्रो उद्धार गरिदेउ

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपाली युवाको टोलीले त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश सार्वजनिक गर्दै पाँच नेपाली युवाहरूले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै छिमेकी देश भारतलाई हिन्दी भाषामै गुहारेका हुन् ।

आफूहरूलाई त्यहाँबाट निकालिदिन नेपाली राजदूतावासले पनि चासो नदिएको बताउँदै उनीहरूले भारतसँग सहयोग मागेको उनीहरूले बताएका छन् ।

आफूसँगै रहेका तीन भारतीय नागरिकहरूलाई भारत सरकारले फिर्ता लगेपछि आफूहरूलाई पनि त्यहाँबाट निकालिदिन नेपाली युवाहरूले भारत सरकारलाई भनेका हुन् ।

“हमारे नेपालसे कुछ नहीं हो रहा है । हम चाहते हैं कि यहां मौजूद सभी नेपाली अपने वतन लौट चाहते हैं । नेपाल और भारतके बीच अच्छे संबंध हैं । भारत और भारतीय दूतावास शक्तिशाली हैं । इसलिए हम आपसे मदद माँगना चाहते हैं,” उनीहरूले हिन्दी भाषामा भनेका छन् ।

उनीहरूले आफूलाई एजेन्टले झुक्काएर रूसी सेनामा भर्ती भएको बताएका छन् । उनीहरूले आफूहरूसँगै ३० जना नेपाली त्यहाँ पुगेको तर, अहिले पाँचजना मात्रै बाँकी भएको बताएका छन् ।

कसैलाई कता पठाएको र कोही गम्भीर घाइते भएको भन्दै उनीहरूले अहिले आफूहरू पाँच जना मात्र बाँकी रहेको बताएका छन् ।

भिडिओमा केके भनेका छन् युवाहरूले

भिडिओमा पाँच नेपाली युवा रुसी सैन्य पोशाकमा देखिन्छन् । एक युवा हिन्दीमा भन्छन्– ‘‘अहिले हामी रुसी सेनामा छौँ । हामी आफ्नो देश नेपालबाट आएका थियौँ ।’’

उनले अगाडि भनेका छन्– ‘‘अहिले हामीलाई यहाँ निक्कै धेरै समस्या भइरहेको छ । एजेन्टले झुटो बोलेर हामीलाई यहाँ पठायो । रुसमा गएर हेल्परमा काम गर्ने भनेर हामीलाई पठाएको थियो । तर हामी यहाँ फायरमा, बारमा गइरहेका छौँ । तसर्थ,हामी यहाँबाट निस्कन चाहन्छौँ ।’’

उनले नेपाल सरकार र दूतावासप्रति अविश्वास व्यक्त गर्दै भारतीय दूतावासप्रति आशा व्यक्त गरेका छन् । भनेका छन् – ‘‘हामीसँग तीन जना भारतीय साथीभाइ थिए । तर, भारत सरकारले उनीहरूलाई फिर्ता लग्यो । तर, नेपाली दूतावासले हामीलाई कुनै सहयोग गरिरहेको छैन । नेपालबाट केही भइरहेको छैन । तसर्थ हामीले छिमेकी देश भारतसँग आग्रह गरे हौँ।’’

उनले भारतीय दूतावाससँग आशा गर्नुको कारण खुलाउँदै भनेका छन्– ‘‘किनभने भारत र नेपाल बीच निक्कै राम्रो सम्बन्ध छ । तपाईँहरूको देशको दूतावास निक्कै शक्तिशाली छ । यहाँ आएका सबै नेपाली फर्किन चाहन्छन् । हामीसँग फ्रड भएको छ । हेल्पर भनेर हामीलाई लडाइँमा पठाइएको छ ।’’

उनले आफ्नो टोलीबारे जानकारी दिँदै भनेका छन्– ‘‘हामी ३० जनासँगै थियौँ, अब ५ जना मात्रसँगै छौँ । कसैलाई कता, कसैलाई कता पठाइयो । केहीलाई चोटपटक लागेको छ ।’’

अन्तमा: उनीहरूले हात जोड्दै भनेका छन्– ‘‘त्यसैले हामीले तपाईँहरूलाई आग्रह गरेका हौँ । सक्नुहुन्छ भने हामीलाई पनि यहाँबाट निकाल्नुस् ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved