काठमाडौँ । महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरिएको छ ।
वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्वपूर्ण योगदान पुर्याएवापत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले जनाएको छ ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्धारा आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित १०३ औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
यस्तै, महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ संगीत साधक सरिता मिश्रलाई प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमै केन्द्रित हुनुपर्नेमा जोड दिए । “परिवर्तनको अनुभूति वास्तविकरुपमा गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गले पाउन नसक्दासम्म संविधान र गणतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुन सक्दैन”, उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा आएको हो कि भनेर पनि यतिबेला चिन्ता प्रकट भइरहेको राष्ट्रपति पौडेलले उल्लेख गरे ।
राष्ट्रपति पौडेलले कतिपय सन्दर्भमा कतै हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले त यस्तो अवस्था आएको होइन भन्दै कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन भन्ने प्रश्न गरे । “मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ”, उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
“२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनस्र्थापनाका आन्दोलनहरूमा अग्रपंतिmमा रहेर सदैव सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुन्थ्यो, निधिजीको स्मृति दिवसमा म उहाँंप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु”, राष्ट्रपति पौडेलले भने ।
उनले करिव पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भावका पक्षमा, सामाजिक न्यायका पक्षमा निधिले गर्नुभएको काम हामी सबैका लागि सँंधै प्रेरणाको स्रोत हो, राजनीतिमा सिद्धान्त तथा निष्ठाप्रतिको समर्पण भाव तथा व्यवहारिक जीवनमा सादगी र उच्च विचार अनुकरणीय र प्रेरणादायी पक्ष रहेकोबारे चर्चा गरेका थिए । यस्ता अग्रज र आदरणीय व्यक्तिको स्मृति र सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले उनको योगदानलाई चीरस्थायी र जीवन्त बनाउन रचनात्मक काम गरेकोमा राष्ट्रपति पौडेलले सराहना व्यक्त गरे ।
Facebook Comment
Comment