राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश 

नेपालभ्युज

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश 

काठमाडौं । राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारका तर्फबाट विधेयक पेश गरेका हुन् ।

“राजनीतिक दलसम्बन्धी ३०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सोपश्चात् उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित सभासमक्ष पेश गर्दछु,” अध्यादेश पेश गर्दै उनले भने ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा त्यत्तिबेलाको राष्ट्रिय जनता पार्टी (राजपा) र सङ्घीय समाजवादी (सपा) फुटाउने उद्देश्यसहित केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०-४० प्रतिशत सदस्य संख्या आवश्यक पर्ने राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएका थिए ।

उक्त अध्यादेशमा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०-४० प्रतिशत सदस्य संख्या आवश्यक पर्नेको ठाउँमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखिएको थियो । यसपछि उक्त अध्यादेशको कडा आलोचना भयो । त्यसपछि उनले त्यो अध्यादेश फिर्ता लिएका थिए ।

तर, त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पनि त्यही अध्यादेश ल्याए । उनले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने प्रावधान राखेका थिए ।

उक्त प्रावधानअनुरूप नै नेकपा (एमाले) का तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे भने जनता समाजवादी पार्टी (जसपा) बाट छुटिएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे ।

यी दुईवटा पार्टी निर्वाचन आयोगमा दर्ता भएबित्तिकै सरकारले उक्त अध्यादेश खारेज गरेको थियो । उक्त अध्यादेश खारेज भएपछि राजनीतिक दलसम्बन्धी ऐन निष्क्रिय थियो । अब त्यसलाई संसदीय प्रक्रियाबाटै ब्युँताउनुपर्ने भएकाले सरकारले विधेयक ल्याएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved