गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन, उकासियो स्थानीयको जीवनस्तर

नेपालभ्युज

गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन, उकासियो स्थानीयको जीवनस्तर

लमजुङ । लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् ।

एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि छ । पहिले रोदी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह, युवा क्लब भएर पर्यटन पवर्द्धनमार्फत गाउँको विकासमा जुटेका छन् ।

क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन् । यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ । ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ ।

समूहमार्फत सुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवद्र्धनमा पनि जोडिएको छ । यसका लागि उनीहरु समिति नै स्थापना गर्दै अघि बढिरहेका छन् । मुलुकको कठिन परिस्थिति बाबजुत पनि लमजुङको घलेगाउँबाट ग्रामीण पर्यटनको सुरुआत भएको थियो ।

विसं २०५७ मा घलेगाउँमा पहिलो पटक महोत्सवको सुरुआत गर्दै सोही वर्षबाट अघि बढेको होमस्टे कार्यक्रम सञ्चालनमा आएको छ । घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समयमा अन्य समुदायका गाउँमा समेत फैलिएको छ ।

घलेगाउँसहित भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मुलगायतका गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ । ती गाउँका स्थानीय पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक तान्न जुर्मुराएका छन् । विषेश गरी लमजुङ, डा हर्क पिक, मनास्लु हिमाललाई छर्लङ्ग देख्न तथा नियाल्न सकिने ठाउँ रहेकाले त्यहाँबाट मस्र्याङ्दी मिदिम, खुदीलगायतका नदीनाला पनि देखिन्छ ।

विश्वप्रख्यात चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेका छन् । ग्रामीण पर्यटनको अवधारणा पनि गुरुङहरुबाटै सुरु भएको हो । घलेगाउँ सार्क राष्ट्रकै नमूना गाउँका रुपमा प्रख्यात छ । जुन समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा अवस्थित छ ।

घलेगाउँमा एक सय २५ घरधुरी छन् । उनीहरुले विसं २०५६ मा ग्रामीण पर्यटनको अवधारण भित्र्याएर विसं २०५७ बाट महोत्सव मनाउन सुरु गरेका हुन् । जिल्लाकै सबैभन्दा धेरै पर्यटक आउने यहाँ विदेशी तथा आन्तरिक पर्यटकको चाप छ ।

ग्रामीण पर्यटनबाटै स्थानीयले वार्षिक लाखौँ कमाउने गरेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, “पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुँदा घलेगाउँको स्वरुपसमेत बदलिएको छ । घलेगाउँमा यतिबेला ४४ घरमा घरबास ९होमस्टे० सेवा सञ्चालन छ । पर्यटन व्यवसाय विस्तारै सफल बन्दै गएपछि केही विदेशीका युवासमेत गाउँमै फर्किएका पर्यटन व्यवसायमा लागेका छन् ।

यहाँ सुरुवातदेखि हालसम्म वर्षेनी जस्तै महोत्सव समेत हुँदै आएको छ । घलेगाउँ गुरुङ चलचित्रको छायाँकनस्थल समेत बनेको छ । घलेगाउँ सुखी गाउँसमेत घोषणा भइसकेको छ । त्यस्तै, क्व्होलासोथर गाउँपालिका–४ भुजुङ गाउँमा करिब पाँच सय घरधुरी गुचमुच्च भएर रहेका छन् ।

भुजुङ गाउँमा विसं २०६४ बाट घरबास सञ्चालनमा आएको हो । अहिले ३२ घरवास सञ्चालनमा छन् । त्यस्तै केही होटलसमेत सञ्चालनमा छन् । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ समय समयमा यहाँ मेला तथा महोत्सव हुँदै आएका छन् । महोत्सव र पर्वले यहाँको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्दै आएको छ ।

भुजुङ गाउँबाट छिमेकी जिल्ला कास्कीका गुरुङ गाउँ सिक्लेस तथा ताङतिङ पनि जान सकिन्छ । यस्तै, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ गाउँ मनास्लु हिमालको काखमा अवस्थित छ । यहाँबाट मस्र्याङ्दी नदीको नागबेली देख्न सकिन्छ ।

समुद्री सतहदेखि एक हजार छ सय ८० मिटर उचाइमा रहेको भुजुङमा आमा समूह, बाबा समूहलगायत स्थानीय निकै सक्रिय छन् । पर्यटन प्रवद्र्धनका लागि विसं २०६२ यता महोत्सव गर्दै आएको छ । यस गाउँ पनि घरवास कार्यक्रम सञ्चालनमा छ ।

त्यस्तै, सिउरुङ नजिकै राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको हर्षिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ । घनपोखा गाउँ, खासुर गाउँमा समेत ग्रामीण पर्यटन प्रवद्र्धनको अवधारणा भित्रिएको छ ।

त्यस्तै, ग्रामीण पर्यटनले चिनिएको गाउँ हो, पसगाउँ । गुरुङ समुदायको बाहुल्यता रहेको यहाँ ग्रामीण पर्यटनको विस्तार गर्ने उद्देश्यले विसं २०६० मा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो ।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष तथा पसगाउँ सामूहिक होमस्टे समितिको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद गुरुङ लमजुङमा ग्रामीण पर्यटन अवधारण भित्र्याउन गुरुङ समुदायको ठूलो भूमिका रहेको र त्यसमाथि सबैभन्दा बढी क्व्होलासोथर गाउँपालिकाका स्थानीयको योगदान रहेको बताए । ग्रामीण पर्यटनमा सबैभन्दा बढी होमस्टे रहेको र यसबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

पालिकाले पर्यटक आकर्षित गर्न पर्यटन पूर्वाधार पार्क, संरचना निर्माणदेखि पर्यटकको बसाइ लम्ब्याउने विषयमा ध्यान केन्द्रित गरेको छ । हाल पसगाउँमा २१ घरमा होमस्टे सञ्चालन छ । कृष्णचरित्र नृत्य, झ्याउरे नाच, सारङ्गी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यका लागि पसगाउँ परिचित छ । लमजुङको पर्यटकीय ठाउँमा विस्तारै पर्यटन पूर्वाधारको विकास भइरहेको छ ।

विषेश गरी प्राकृतिको छटा र स्थानीयको कला संस्कार संस्कृति हेर्न पर्यटक आउने गरेका छन् । पर्यटक आउँदा ग्रामीण पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीयको जीवनस्तरसमेत उकासिएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved