काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सहरी क्षेत्र र तराई–मधेसमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई–मधेशका जिल्लामा जनपरिचालन, सङ्गठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रले मङ्गलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ । अधिवेशन सकिए पछि तराई–मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ ।
यस्तै माओवादी केन्द्रले उत्तर दक्षिण र पूर्व–पश्चिम अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी माओवादी केन्द्रले सङ्घीयता, गणतन्त्र एवं समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत परिवर्तनका मुद्धालाई थप संस्थागत गर्न अभियान चलाउने भएको छ । त्यसका लागि जनवर्गीय सङ्गठन र मुक्ति मोर्चाको सम्मेलन गर्ने भएको छ ।
जनवर्गीय सङ्गठन एवं मोर्चाको सम्मेलन गरेर पुनः गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए । यस्तै, प्रवासमा रहेका नेपालीका लागि प्रशिक्षण र सङ्गठित गर्ने निर्णय गरिएको छ ।
अभियानमा नखटिनेलाई कारबाही
माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष अभियान’ मा नखटिने पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।
अभियानमा नखटिने कार्यक्षेत्रमा नखट्ने कार्यकर्तालाई स्पष्टिकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने पार्टीले निर्णय गरेको छ । –रासस
Facebook Comment
Comment