काठमाडौं । बिहीबारबाट हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने भएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले उत्पादन गरेको र भारतीय लगानीमा नेपालमा उत्पादन भएको दुवै प्रकारका विद्युत् बिक्री गर्नेबारे सम्झौताको तयारी भइरहेको छ ।
गत जेठसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रारम्भिक सहमति भएको थियो । पुस ११ गते प्रधानमन्त्रीको रूपमा एक वर्षे कार्यकाल पुरा गरेको सन्दर्भमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्युत् उत्पादनमा नेपालले फड्को मारेको बताएका थिए ।
यसअघि मंसिर तेस्रो साता सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षरका लागि तयारी भइरहेको जानकारी दिएका थिए ।
गत १७ देखि २० जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति समेत भ्रमणका क्रममा भएको थियो ।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन विदेशमन्त्री एस जयशंकर नेपाल आउन लागेका हुन् । ‘नेपालको जोड विद्युत् व्यापार सम्झौतामा केन्द्रित हुने’ परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतले भन्यो, ‘‘सबैले महत्त्व दिएको विषय भएकाले भारतले नेपालबाट १० वर्षमा १० हजार बिजुली लैजाने मोडालिटीको बारेमा सम्झौता गर्ने गरी नै नेपाल पक्षबाट तयारी छ ।’’
बैठकको तयारीको लागि परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर एजेन्डाबारे छलफल गरेका छन् । मन्त्री साउदले मंगलबारै पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूसँग छलफल गरे ।
छलफलका क्रममा पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव दिएका थिए ।
यस्ता छन् एजेन्डा
भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा भारतले नेपाललाई दिँदै आएको साना सहयोग परियोजना अन्तर्गतको सहयोग पाँच करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पुर्याउने सम्झौतामा पनि हस्ताक्षर हुन लागेको स्रोतले बताएको छ ।
बैठकमा नेपालले अन्तर्राष्ट्रिय हवाई मार्गको अनुमति माग गर्दै भारत पक्षसँग प्रस्ताव राख्नेछ ।
अरुण तेस्रो जलविद्युत आयोजनाबारेमा समेत भारतीय पक्षसँग छलफल हुने छ । तोकिएकै मिति सन् २०२५ सम्म सकिने अवस्था बन्ने÷नबन्नेबारे भारतीय पक्षले छलफल गर्ने छ । अरुण तेस्रो जलविद्युत आयोजना मुआब्जा विवादका कारण रोकिएको छ ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा भारतले तयार पारेको डिपिआरमा भने अहिलेसम्म सहमति हुन सकेको छैन ।
दुई देशका मन्त्रीले ३ वटा विद्युत् प्रसारण लाइनको संयुक्त उद्घाटन गर्ने, यस्ता छन् अरू एजेन्डा
पञ्चेश्वर अझै अघि नबढ्ने
प्रधानमन्त्री प्रचण्डको जेठमा भएको भारत भ्रमणमा पञ्चेश्वरको संयुक्त डीपीआरलाई ३ महिनामा टुङ्गो लगाउने सहमति भएको थियो ।
गत असारमा पोखरामा भएको प्राधिकरण सञ्चालक समितिको विज्ञ समूहको बैठकले ३ महिनाभित्र डीपीआरलाई अन्तिम रूप दिने निर्णय गरेको थियो ।
तर, प्रधानमन्त्रीको भारत भ्रमणको ७ महिना बितिसक्दा पनि डीपीआरको टुङ्गो लागेको छैन ।
अहिले विदेशमन्त्री जयशंकरको भ्रमणले अन्य एजेन्डासँगै पञ्चेश्वर बहुउद्देश्य आयोजनाको संयुक्त विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लाई अघि नबढाउने ऊर्जा मन्त्रालय स्रोतले बताएको छ।
यस्तो छ भ्रमण तालिका
विदेशमन्त्री जयशंकर भारतीय वायु सेनाको विशेष विमानबाट बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ ।
बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकरसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि आउनेछन् । साथै विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीलगायत विदेश मन्त्रालयका अधिकारीहरू आउने तय भएको छ ।
दुई दिने नेपाल बसाईको क्रममा विदेशमन्त्री जयशंकरले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाहेक उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयले रात्रिभोजमा पनि आयोजना गर्ने छ । त्यसमा पनि उनी सहभागी हुनेछन् ।
रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गर्ने तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।
को हुन् जयशंकर ?
२०१४ मा मोदी प्रधानमन्त्री बनेपछि एस जयशंकरलाई २०१५ जनवरी २९ मा भारतीय विदेश सचिवमा नियुक्त गरिएको थियो । विदेश सचिव सुजाता सिंहलाई हटाएर अमेरिकाका लागि भारतीय राजदूत रहेका एस जयशंकरलाई ल्याइएको थियो ।
सुजाता सिंहको कार्यकाल करिब ६ महिना बाँकी छँदै जयशंकरलाई मोदीले ल्याएका थिए । उनको कार्यकाल २०१७ जनवरी २८ मा सकिने थियो । तर, मोदी सरकारले २०१८ जनवरी २८ सम्म जयशंकरको कार्यकाल थप गरेको थियो ।
भारतीय विदेश सचिवको कार्यकाल सकिए लगतै उनले विदेश मन्त्रीको जिम्मा पाएका हुन् ।
दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले विदेश मन्त्रालयको जिम्मेवारी जयशंकरलाई दिएका थिए ।
भारतको ‘प्रधानमन्त्री संग्रहालय’, जहाँ सजिएको छ नेपालले दिएको हात्तीको दाँत (हेर्नुहोस् ४० तस्वीर)
नेपाल भारत सम्बन्धको नयाँ आयाम – ‘रोटीबेटी’देखि ‘यूथ कनेक्टिभिटी’सम्म
दुनियाँ मन्दीमा रहँदा भारतमा आर्थिक कायापलट हुँदै, यस्तो छ तीव्र विकास गर्ने ‘गतिशक्ति मास्टर प्लान’
मोदीको ‘नमामी गङ्गे’ मिसन, जसले सफा बनाउँदैछ गङ्गा
Facebook Comment
Comment