यो हप्ता नेपाली साहित्यको बजारमा एउटा फरक बान्कीको किताब सार्वजनिक भयो-‘दन्किँदो भूटान’ । सन् १९७० मा एक जना भूटानी नागरिक देवीभक्त लामीटारेले लेखेको ३५० पृष्ठभन्दा मोटो त्यो किताब विमोचन भनिएन, न त लोकार्पण नै भनियो । अलि फरक प्रकारले पुस्तक सार्वजनिक गर्नेहरूले अन्तरक्रिया भनेर कार्यक्रम गर्थे । तर, त्यस दिन त्यसो पनि भनिएन ।
न उदघोषण भयो, न आयोजक थिए, न त कुनै खास अतिथि । उपस्थित केही पत्रकार, लेखक र वुद्धिजीवीले पुस्तक उठाए, विमोचन भयो । लेखकको मृत्यु भइसकेको र प्रकाशक संस्थाका कोही पनि नभएको अवस्थामा सम्पादक विनोद ढुङ्गेलले अनौपचारिक रूपमा किताबको बारेमा बताए । ब्यानर छाप्ने र टाँग्ने काम भएन, बरु डिजिटल बोर्डमा देखियो– ‘हस्तान्तरण तथा चर्चा’। उपस्थितजनको सादगी भेटघाटमार्फत पाठकसमक्ष कृति हस्तान्तरण गर्ने र हस्तान्तरित कृतिबारे आपसी चर्चा गर्ने काम भयो ।
कार्यक्रममा सम्पादक ढुङ्गेलबाहेक नेपालमा भएका भूटानी विद्वान डा. गोविन्द रिजालले भूटानी सत्ताबारे बोले । अमेरिकाबाट आएका भूटानी साहित्यकार शेखर कोइरालाले तेस्रो देश पुनर्वासमा गएका भूटानीहरूको सोचाइबारे मन खोले । भूटानी शरणार्थीबारे जानकार लेखक डा. तारालाल श्रेष्ठले किताबको अनुपमताबारे दिल खोले । बाँकी उपस्थितमध्ये केहीले सम्पादकको मेहनतको प्रशंसामा बोले । अनौपचारिक कार्यक्रम सादगीका साथ सम्पन्न भयो ।
प्रकाशक भूटान मिडिया सोसाइटीको तर्फबाट विद्यापति मिश्रले प्रकाशकीयमा उल्लेख गरेअनुसार किताबको अवधारणाको वीजारोपणदेखि नै सम्पादक ढुङ्गेलको सक्रिय भूमिका देखिन्छ । ‘अरू कसैले कहिल्यै चासो नदेखाएको अवस्थामा पनि भूटानी नागरिकको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज दिएको सावित हुने’ काम गरेको प्रकाशकीय दाबीलाई अहिलेको भूटानी शरणार्थीको अवस्थाले पुष्टि गरेको देखिन्छ ।
भूटानमा ‘प्रजाराज’ को वकालत
भूटानी राजतन्त्रले १९५१ मार्चमा महासुर बस्नेत क्षेत्रीको क्रूरतापूर्वक हत्या गरेपछि उद्वेलित किशोर देवीभक्त लामीटारेले सन् १९७० मा पहिलो पटक सार्वजनिक गरेको र त्यसपछि दुई पटक छापिए पनि हाल अनुपलब्ध रहेको किताबलाई प्रकाशकले ‘भूटानी प्रजातान्त्रिक आन्दोलनको पहिलो प्रकाशन’ भनेको छ । त्यसअलावा यो भूटानमा प्रतिबन्धित रहेको कुरा पनि किताबको आवरणमै उल्लेख छ ।
भूटानभित्र राजतन्त्रको दमनले उग्र रूप लिँदै गर्दा र सबैको बोली बन्द हुँदै गर्दा लामीटारेले आगो ओकल्ने साहित्य सिर्जना गरेको तथा त्यहाँको प्रजातान्त्रिक आवाजलाई भारतमा बसेर प्रतिनिधित्व गरेको देखिन्छ । भूटान स्टेट कांग्रेसका नेताका रुपमा राजनीतिक परिचय भए पनि उनी दलगत चिन्तनभन्दा माथि र स्पष्ट खुला समाजका पक्षधर देखिन्छन् र भूटानमा ‘प्रजाराज’ को वकालत गरेका छन् ।
लामीटारेले राजनीतिक सञ्चारलाई व्यक्तिगत भेटघाट र आम सञ्चारका माध्यमबाट सामान्य रूपमा अगाडि बढाउनेबाहेक प्रचारका अरू कुनै संयन्त्र बनाएको देखिँदैन । आमसञ्चारप्रति भने ठूलो विश्वास देखिन्छ । भलै आमसञ्चारका माध्यमहरूले भने उनलाई धेरै चासो दिएको पाइँदैन । शायद शक्तिका आधारमा उनी कमजोर देखिएकोले सञ्चारजगतले उनलाई अन्देखा गरेको हुनुपर्छ । त्यसैले नै भारतका सञ्चारमाध्यमको प्राथमिकतामा उनी नपरेको, नेपाली सञ्चारमाध्यमलाई जानकारी नभएको बुझ्न कठिन छैन । भूटानका सञ्चारमाध्यमले त निषेध गर्ने नै भए ।
भूटानी शरणार्थीको तेस्रो देश पुनर्वासपछि भूटानी प्रजातान्त्रिक आन्दोलन थप सेलाएकाले उनी र उनको पार्टी मात्र हैन, अरू नेता र पार्टीहरू पनि बेखबर भए । तर, भूटानी शरणार्थी मिडियाका लागि भने लामीटारे चासोका पात्र बनिरहेका देखिन्छन् । शायद त्यसैको परिणाम हो– ‘दन्किँदो भूटान’को प्रकाशन भूटानी शरणार्थी पत्रकारहरूको संस्था भूटान मिडिया सोसाइटीले गर्नु । यद्यपि यसको सम्पूर्ण आर्थिक चाँजोपाँजो विद्यापति मिश्रले गरेको जानकारी सम्पादकले दिएका छन् ।
मूलप्रवाह भनिने मिडियाको आँखामा नपरेको वा कम परेको भए पनि एक्लै आफ्नै ढंगको राजनीतिक सञ्चारमा सक्रिय रहेकै अवस्थामा सन् २०२२ को शुरुमा उनको निधन भएको थियो । सन् २०२३ को उनको वार्षिकीको अवसर पारेर किताब निकालेको जस्तो देखिए पनि निकै महिना ढिलो भएको देखिन्छ । उनले सञ्चारका माध्यमबाट राजनीतिक चिन्तनलाई स्पष्टरूपमा प्रवाह गर्ने गरी अपनाएको उपाय सबै राजनीतिक कार्यकर्ताका लागि प्रेरक हुनसक्छ ।
“परम्परागत सञ्चार सामग्रीका रूपमा हुलाकमार्फत राजनीतिक सामग्री बाँड्ने र नयाँ माध्यमका रूपमा फैलिँदै गएको इन्टरनेटमार्फत संसारसामु विचारप्रवाह गर्ने उनको सोच आफैँमा भूटानमा प्रजातन्त्र बहालीका कुरा गर्ने सबैका लागि उदाहरणीय मात्र हैन, अनुकरणीय पनि हो”, सम्पादक ढुङ्गेलको यो मूल्याङ्कन आफैँमा स्पष्ट छ । किताबमा ढुङ्गेलले लेखेको ५० पृष्ठ लामो सम्पादकीय परिचय एक गहन अनुसन्धानात्मक सामग्रीको रूपमा समेटिएको छ । यसको अध्ययन मात्र पनि समग्र किताबको जानकारी प्राप्त गर्नका लागि पर्याप्त छ ।
‘रेड स्वामी’को स्पष्ट दृष्टि
आक्रामक भएका जानकारी तथा विचारमूलक सामग्रीको संकलनजस्तो देखिने ‘दन्किँदो भूटान’ मा लेखकले शुरुमा मूलतः भूटानको भूगोल र इतिहासलाई केलाएका छन् । त्यसपछि विचारको शृंखला पेश गरेका गरेका छन् । उनी झट्ट हेर्दा हिंसाको प्रयोगका पक्षधर होइन, भूटानमा संवैधानिक राजतन्त्रको पक्षधर जस्ता लाग्छन् । दलित र महिलाको पक्षमा छन् । यसो हुँदाहुँदै पनि राजतन्त्र र हतियारको प्रयोगका मामलामा उनका विचार सापेक्षिक छन् ।
संवैधानिक सीमाभित्र नबस्ने हो भने भूटानी राजतन्त्र नै नरहने ठान्छन् । त्यसरी हेर्दा उनी गणतन्त्रवादी देखिन्छन् । “प्राचीन समयमा राजाले केवल आफ्ना स्वार्थका लागि आफूलाई सूर्यवंशी र चन्द्रवंशी हौं भन्ने गफ ठोक्तथे । त्यस्ता बोक्रे गफको लामो लेखाजोखा प्राचीन पौराणिक ग्रन्थहरूमा पाइन्छ तर वर्तमान युगले अब राजालाई भगवान् मान्न सक्दैन तर यौटा शोषकको सरदारचाहिँ मान्नेछ”, उनको कठोर भाषा छ ।
भाषा त प्रायः कठोर नै छ । हिंसाको राजनीति स्वीकार नगरे पनि अन्तिम उपायका रूपमा हिंसालाई अंगीकार गर्नुपर्नसक्ने उनको दृष्टिकोण छ ।
भूटानमा हिंसाको राजनीति नआउनका लागि जनता नै सर्वोच्च शक्ति हुनुपर्ने र ‘प्रजाराज आएन भने प्रजातन्त्रका दुश्मनहरूप्रति आफ्ना हातमा भएका हतियारको प्रयोग जनताले गर्ने’ उनी देख्छन् । भारतीय कम्युनिस्टहरूले ‘रेड स्वामी’ नाम दिएका उनी कम्युनिस्ट होइनन् बरू ‘ठूला–ठालु मानिएका वर्गलाई दबाइएन भने’ कम्युनिज्यमलाई रोक्न पनि नसकिने उनको प्रष्ट मत छ ।
सन् १९९० को दशकमा नेपाली मूलका नागरिकलाई लखेटेपछि औपचारिक रूपमा भूटानी शरणार्थी समस्या देखापरेको हो । तर, त्यसो हुने कुरा उनले त्योभन्दा दुई दशकअगाडि नै देखेका रहेछन् । ‘अब भूटानी गोरखा जनतालाई अल्पमतमा ल्याउनका लागि भोटे राजतन्त्रले सिधासाधा जनतालाई गुप्त रूपमा डराएर नेपाल भगाउन थालेको छ, अनि उनीहरूका जमिनमा भोटेहरूलाई आवाद गर्दै छ’, उनको भनाइ छ ।
धार्मिक र जातीय विभेद मात्र नभएर वर्गीय विभेदको कुरा पनि उठाएका उनले शासक र शासितबीचको अन्तरद्वन्द्वलाई पनि केलाएका छन् । क्षेत्रीय विभेदका सन्दर्भमा पनि उनले नेपालको उदाहरण उतिबेलै दिएका रहेछन् । नेपालको दक्षिणमा धेरै रहेका मधेसीलाई दबाइएको तुलनात्मक उदाहरण पेश गर्दै भूटानको पनि दक्षिणी क्षेत्रमा बस्ने गोरखाको अवस्थालाई चित्रण गरेका छन् । करीब ५० वर्षअघि नै ‘नेपाली भाषाको गुलामीबाट मुक्त हुनका लागि’ मधेसीले संघर्ष गर्ने भविष्यवाणी गरेको कुरा निकै रोचक र आश्चर्यजनक छ ।
लामीटारेले भूटानी राज्यसत्ताले बौद्ध धर्मको नाममा लुट र हिंसा मच्चाएको प्रसङ्गलाई निडरताका साथ उठाएका छन् । अन्धविश्वास र संकीर्ण परम्परावादी सोचका कारणले भूटानी समाज पिछडिएको र भूटानी जनताको विकास र समृद्धिको प्रमुख बाधक नै यथास्थितिवादी सामन्ती राजतन्त्र रहेको निश्कर्ष निकालेका छन् । दक्षिण एसियाका नेपाललगायतका मुलुकमा राजतन्त्रको पतन भइसकेको तथ्यलाई लामीटारेले भूटानी जनताका माझ आशा जागृत गर्ने दृष्टान्तका रूपमा समावेश गरेका छन् ।
भूटानी राजतन्त्रको कटु आलोचना गरेका लामीटारेले यौनदेखि धूमपानसम्मका गतिविधि समेटिएको पुस्तकमा प्रजातन्त्र, धर्मनिरपेक्षता, समानतामूलक समाज र जनतामा सार्वभौमसत्ता निहीत हुनुपर्ने कुराको पैरवी गरेका छन् । भूटानी सत्ताको संरक्षकका रूपमा जगजाहेर भारतमा बसेर भूटानी सत्ताकै कटु आलोचना गर्नसक्नु उनको साहसको परिचायक पनि हो । त्यसैले ‘दन्किँदो भूटान’ एक आँटी राजनैतिक एतिहासिक दस्तावेज हो भन्नेमा कुनै द्विविधा छैन ।
एक हिन्दू जोगीको जीवन बिताएका उनी भने राज्य धर्म निरपेक्ष हुनुपर्छ भन्ने पक्षका हिमायती भएको कुरा किताबमा ठाउँ–ठाउँमा भेटिन्छ । हजारौं वर्षको इतिहासमा एकपल्ट पनि धर्मले मानिसलाई सुखी बनाउन नसकेको बरु एकापसमा लडाएको ठान्ने उनी कुनै खर्राट क्रान्तिकारीभन्दा कडा भाषामा भन्छन्, “यजमानहरूले पण्डित पुरोहितहरूका खुट्टा धोएर फोहोर जस्तो पानी पिउनुपर्दछ । यस्ता मूर्ख दस्तुरहरूलाई धर्म भन्दै छन् । फोहोरलाग्दा दस्तुर र धर्मको परस्परमा कुनै सम्बन्ध छैन ।”
यसबाहेक भूटानी सत्ता केही मुठ्ठीभर शासकहरूको घूसखोरीको अखडा भएको र जातीय रूपमा एक पक्षीय भएको भन्दै लामीटारेले समानताका पक्षमा डटेका छन् । आजभन्दा ५० वर्षअघिको समाजमा पनि लामीटारेले ‘भूटानबाट क्षेत्री, बाहुन र कामी दमाईंको अन्यायपूर्ण सामाजिक भेदभाव’ समाप्त हुनुपर्ने शंखघोष गरेका छन्, जुन चानचुने कुरा होइन ।
उनले जातीय विभेदको खुलेर प्रतिरोध गरेका छन् र यस्तो विभेदपूर्ण प्रथा कायम राख्ने राजतन्त्रलाई जनताले ‘कन्ट्रोल’ गर्नुपर्ने दृष्टिकोण राखेका छन् । ‘धर्मका ठेकेदारहरूमा ज्ञान र चरित्रबलको अभाव छ’ भन्ने ठोकुवासहितको एउटा खण्डमा उनी भन्छन्, ‘अमेरिकीहरूले जुन चन्द्रमालाई जुत्ताले लत्याएर आए, उसैलाई भगवान् भनी पूजा गरिरहेछन् ।’
त्यसपछि ‘समाज सुधार प्रथम कार्य हो’ शीर्षक खण्डमा ‘राजालाई आफ्नू मानमनिताको मतलब छ, देश बनाउने कामसँग मतलबै छैन’ भन्ने व्याख्या गरेका छन् । यस किताबमा उनले पटक–पटक जनताको स्वतन्त्रता भएन भने शासकले देशको स्वतन्त्रता पनि बचाउन नसक्ने तर्क पेश गरेका छन् । भूटानको अब स्वतन्त्रता नै गुम्यो भने पनि राजतन्त्रकै कारणले गुम्छ भन्ने लामीटारेको जिकिर पनि पुस्तकमा विभिन्न ठाउँमा छ ।
उनले सिक्किम भारतमा विलय हुने दाबा पनि यही दृष्टिकोण आधारमा गरेका थिए । त्यसका लागि ‘सिक्किमको भविष्य अनिश्चयात्मक भइरहेको छ’ शीर्षकमा एउटा खण्ड नै छ । यस खण्डमा उनले एक ठाउँमा ‘भूटान र सिक्किमलाई प्रकृतिले यौटै अनुहारमा बनाएको’ हुनाले दुइटा देशको एउटै महासंघ बनाउँदा उचित हुने बताएका छन् । यो विवादित विचारमा भारत–चीन भू–राजनैतिक स्वार्थहरूको टकराव पाइन्छ । यसबारे सम्पादकीय परिचयमा नेपालको सन्दर्भ पनि जोडिएको छ ।
लामीटारे बहुपत्नी प्रचलन र बाल यौन हिंसाका विषयमा खरो विरोध गरेर महिलाका पक्षमा देखा परेका छन् । जातीय र लैंगिक सन्दर्भहरूमा उनले प्रयोग गरेका शब्दावलीलाई भने तत्कालीन समाजको सामाजिक बहसको सन्दर्भमा ग्रहण गर्नुपर्ने सम्पादकीय स्पष्टोक्ति छ ।
पुस्तक प्रकाशनको पहिलो समयावधिदेखि जीवनका अन्तिम दिनहरूसम्म आइपुग्दा पनि उनका विचार, अडान र दृष्टिकोणमा समानता पाइनु एक स्पष्ट राजनीतिक चरित्र हो । मानव जातिमै उमेर बढ्दै जाँदा पैदा हुने चिन्तनगत पार्थक्य उनमा देखिँदैन । पुरानो सामग्री र पछिल्ला अन्तर्वार्ताहरूको तुलनात्मक अध्ययनबाट चिन्तनमा रहेको अडान स्पष्ट फेला पार्न सकिन्छ । त्यस्तो चिन्तनमा रहेको निरन्तर अडान शरणार्थीको घर फिर्ती अधिकार, भारतको भूमिका, बुद्धधर्मको आडमा भूटानी सत्ताले थोपरेको अधिनायकवादी शासन, धर्म र सामाजिक विभेदप्रतिको आवाज आदिमा देखिन्छ ।
तानाशाहहरूलाई भोलिका जनताले निमोठेर फाल्नेछन् भन्ने लामीटारेको भविष्यवाणी नेपालको सन्दर्भमा सही सावित भएको छ । विगतका घटनाको विश्लेषण गर्ने मात्रै होइन, छिमेकी देशका राजनैतिक घटनाक्रम र इतिहासका सन्दर्भहरूको सापेक्षतामा कतिपय पछि भावी घटनाहरूको सम्भावनासमेत औँल्याउने उनलाई दूरदृष्टि र बौद्धिक क्षमताका व्यक्तिको रुपमा चिन्न सकिन्छ ।
पुस्तक सम्पादनमा नयाँ प्रयोग
भूटानको राजनीति मात्र नभएर भूगोल, इतिहास, समाज र संस्कृतिका पनि कतिपय पाटालाई समेटेर यो किताबमा लामीटारेले नेपाल, भारत र सिक्किमका विभिन्न गम्भीर राजनीतिक परिदृश्यहरूलाई उजागर गरेका छन् र भूटानी परिवेशसँग तिनको तुलनात्मक विश्लेषण पनि गरेका छन् ।
भूटानी राज्यसत्ताले नेपालीभाषी जनता मात्र हैन, समाजको तल्लो तहका अन्य जातिमाथि पनि थोपरेका असमानताका पक्षहरूलाई समेत खोतलेर आम जनताले प्रयोग गर्ने सिधा भाषामा पेश गरेको छ ।
पुस्तकमा उनको अद्यावधिक विचार पनि केही विषयमा आएको पाइन्छ । पुराना लेखाइ र पछिल्ला अन्तरर्वार्ताका बीचमा हेर्दा उनले शरणार्थीलाई घर फर्किन दिने मात्र नभएर अहिलेसम्मको क्षतिको क्षतिपूर्ति पनि दिनुपर्ने माग नयाँ उठाएका छन् । भूटानमा केही वर्षयता देखापरेको राजनीतिक परिवर्तनमा पनि शरणार्थीकै भूमिका रहेको तर्क, भूटानमा परिवर्तनका लागि तेस्रो देश पुनर्वासमा गएका शरणार्थीको थप प्रभावकारी भूमिका हुन सक्ने दाबी उनको अद्यावधिक विचार हुन् ।
संरचनाको दृष्टिले ऐतिहासिक किताबलाई अद्यावधिक गर्ने मोडलमा नेपालको सन्दर्भमा सम्पादक ढुङ्गेलले नयाँ प्रयोग गरेका छन् । पाद टिप्पणीबाट अद्यावधिक गर्ने र पुरानो सामग्रीलाई संरक्षण पनि गर्ने उनको सीप र विधि वैज्ञानिक तथा व्यावहारिक छ । यसै उपायबाट उनले भूटानका सत्तारुढ प्रधानमन्त्रीको हत्या, सेना प्रमुखको मृत्युदण्ड, राजाप्रसादको सत्तासंघर्षका इतिहासबारे पनि जानकारी दिएका छन् ।
नेपाली किताबको संसारबाट पुराना गैरआख्यानात्मक सामग्री दुर्लभ हुँदै गएको सन्दर्भमा यस कृति दुई वटा पक्षमा नवीन छ ।
पहिलो– लेखकको भाषा शैली । पुरानो पाराको नेपाली भाषाको स्पष्ट र सिधा लेखन शैली सहज, मौलिक र स्वादिलो छ ।
दोश्रो– सम्पादनको सीप र विधि । पुरानो किताबमा भएका तथ्यहरूलाई अद्यावधिक गर्दा यथाशक्य मौलिकता नबिगारिदिँदा पुरानो किताब नयाँ सन्दर्भमा पढ्न पाइने भएको छ ।
पुराना किताबको अक्षर नै नचिनिने भएका कारण गरिएका केही प्रयासबाहेक नेपालमा यस्तो प्रयोग त्यति भएका पाइँदैन । पुराना किताबलाई यसरी अद्यावधिक गरेर पाठकसमक्ष पस्किने हो भने नयाँ पुस्ताका पुस्तकप्रेमीले स्वाद मानी–मानी पढ्न पाउने थिए । यसबाट पठन संस्कृतिको मात्र नभएर भाषिक सीपको पनि पुस्तान्तरण हुने थियो । नेपाली भाषाको प्रयोगमा जबर्जस्ती अंग्रेजी वा हिन्दीबाट तानेर ल्याइएका सामग्री शब्द र शैलीको बर्चश्व बढ्दै गएको यो बेला नेपाली भाषाको श्रीवृद्धिमा समेत यो विधिले ठूलो योगदान गर्ने स्पष्ट छ ।
नितान्त एकल प्रयासमा यस किताबका सम्पादकले अपनाएको यो पुस्तक अद्यावधिक र सम्पादन गर्ने विधि नवीन र एक हदसम्म मौलिक छ । यसका लागि उनले पुस्तकप्रेमी पाठकलाई ठूलो गुन लगाएका छन् भने इच्छुक प्रकाशन तथा सम्पादकलाई नयाँ बाटो देखाएका छन् । यसलाई निःसंकोच अरूले पनि प्रयोग गर्दै जाने हो भने नेपाली भाषा, साहित्य र इतिहासमाथि ठूलो गुन लगाएको ठहरिने छ । यसतर्फ सरकारी तथा गैरसरकारी प्रकाशकको इच्छाशक्ति र दक्ष सम्पादकको तत्परता आवश्यक र अपेक्षित छ ।
‘दन्किँदो भूटान’ कै सन्दर्भमा भन्नुपर्दा वेबसाइटका सामग्रीलाई संरक्षण गर्ने क्रममा समेटिएका सामग्रीले केही पृष्ठ बढाएका छन् भने कतिपय मामिलामा सन्दर्भलाई छिरोलिदिएका पनि छन् । किताबको गहनताको सापेक्षतामा मूल्यलाई बढी भन्नुभन्दा यसलाई वितरकले कतिसम्म इच्छुक पाठकसमक्ष पुर्याउन सक्लान् भन्ने चाहिँ पाठकको कोणबाट विचार्दा सरोकारको विषय हो ।
जे होस्, नेपाल किताब बजारको भीडमा नयाँ सीप, शैली र ढाँचाको ‘दन्किँदो भूटान’ राजनीतिक सामग्री मात्र नभएर एक फरक स्वादको साहित्यका रुपमा पनि देखापरेको छ ।
इमेल : [email protected]
(मानवशास्त्री डा. ज्ञवाली समाजका किनारीकृत तथा पछाडि पारिएका समुदायको अधिकार तथा अर्थ–राजनीतिक विषयमा अध्ययन तथा लेखनमा रुचि राख्छन् – सं.)
Facebook Comment
Comment