रुसी सेनामा गएका माओवादी लडाकुको बकपत्र- दलालहरू सत्ताकै वरिपरि छन्, हामी पेट पाल्नकै लागि यता आउनुपर्यो

सर्वहारा वर्गको मुक्तिका लागि श्रीमतीसहित माओवादी युद्धमा लागेका उनले पेट पाल्नकै लागि रुसी सेनामा भर्ती हुनपरेको दुखेसो व्यक्त गरेका छन् ।

नेपालभ्युज

रुसी सेनामा गएका माओवादी लडाकुको बकपत्र- दलालहरू सत्ताकै वरिपरि छन्, हामी पेट पाल्नकै लागि यता आउनुपर्यो

काठमाडौं । करिब १० वर्ष माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी म्याग्दीका डाइमण्ड रुसी सेनामा भर्ती भएका छन् । सर्वहारा वर्गको मुक्तिका लागि श्रीमतीसहित माओवादी युद्धमा लागेका उनले पेट पाल्नकै लागि रुसी सेनामा भर्ती हुनपरेको दुखेसो व्यक्त गरेका छन् ।

आफूले युद्ध लडेर नेता बनाएकाहरु सत्ताको वरिपरि नै हुँदा आफू भने जोखिम मोल्न तयार भएरै रुसी सेनामा आएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विचारसहितको भावुक स्टाटस यस्तो छ–

म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थाबारे केही बोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ । यसबारे यहाँ आएका अरु साथीहरूले के बोल्छन ्। के गर्छन त्यो उनीहरुको विषय भयो ।

तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागि बन्दुक वोकेर झण्डै १ दशक रगत–पसिना बगाइयो । अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन । परिणामत आज पनि सत्ता–शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ । परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ ।

यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ ।

पृष्ठभूमि, कथा–व्यथा भिन्नभिन्न होलान् तर वाध्यताले डोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ती भई युद्धको मोर्चामा खटिइरहनु भएको छ। युद्धरत देशको (यो सामान्य सैनिक जागिर जस्तो होइन) सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक–नकारात्मक सबै विषय अनुभुत गर्न सकिन्छ ।

यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु । युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के–के हुन्छ ? के–के गर्नुपर्छ ? के–के भोग्नुपर्छ ? सैन्य संगठनभित्र के गर्न पाईन्छ ? के गर्न पाईन्नँ ? सैन्य कानुन–अनुशासन के–कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ विषयवस्तुलाई यसरी सरल रुपमा बुझिदिनुहुन म विशेष आग्रह गर्दछु।

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल–मिडिया हाउसहरुमार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी–युरोपियन गठबन्धन एवम् तिनका एजेन्टहरुको मतियार बन्न सकिन्न।

न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छ।आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन।जोखिमपूर्ण यात्राको पाइला–पाइलामा चुनौती त छ नै ! यद्यपि हार कहिल्यै मानिँदैन, गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ।

अन्त्यमा,

सयौं साथीहरूले रसियामा भर्ती हुन आउनुपर्‍यो, के–कसरी हो ? च्यानल मिलाईदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएकोछ । एक–एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन । तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी– यहाँ अहिले भर्ती बन्द छ, दलालहरुको भ्रममा नपर्नुहोला।

धन्यवाद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved