‘घुर्मी र हर्कपुरमा चिहान खन्दैछौँ’

नेपालभ्युज

‘घुर्मी र हर्कपुरमा चिहान खन्दैछौँ’

विराटनगर । प्रदेश १ पुनः नामाकरण सङ्घर्ष समितिका नेता गोपाल किरातीले आफूहरूले घुर्मी र हर्कपुरमा चिहान खन्दै गरेको बताएका छन् । हाल महाकाली-मेची सङ्कल्प यात्रामा रहेका नेकपा (एमाले) प्रति लक्षित गर्दै किरातीले यस्तो बताएका हुन् ।

खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता किरातीले भने, “चिहानमा गाड्नुपर्ने हो या नपर्ने हो ? हामी शान्तिपूर्ण गर्छौँ । शान्तिपूर्ण भनेर चिहानको कुरा भन्नुहोला । तर, शान्तिपूर्ण आन्दोलनमा हाम्रा साथीहरूको चिहान खने हामी छोड्नेवाला छैनौँ र छोड्दैनौँ । हामी तयारी गरिरहेका छौँ ।”

एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेशकुमार भट्टराई र नेता महेश बस्नेतलाई रोक्नुको कारणचाहिँ के हो भन्ने प्रश्नमा किरातीले भने, “ओलीजीले हामीलाई आतङ्ककारी भन्नुभयो, अपराधी भन्नुभयो । योगेशजीले पहिचानवादीलाई लल्कार्नुभयो । महेश बस्नेतले तेरो बाउको बिर्ता हो भनेर धम्क्याए । त्यसकारण उनीहरूलाई हामी निषेध गर्ने, भण्डाफोर गर्ने र प्रतिरोध गर्ने हो ।”

यस्तै किरातीले कोशी नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई निर्णय सच्याउने दबाब दिनका लागि निषेध गरिएको बताए । “ज-जसले हस्ताक्षर गरे । उनीहरूलाई दबाब गरिरहेका हौँ । उनीहरुलाई दबाब दिनका लागि, हाम्रो कुरा सुनाउनका लागि कार्यक्रम गरिएको हो । ८२ सांसद जबरजस्ती आए कालोमोसो दल्ने वा कालो झण्डा देखाउने काम हुन्छ,” उनले भने ।

एमालेले मङ्सिर १४ गतेयता सुरू गरेको मध्यपहाडी यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारी छ । यसअघि किरातीले एमालेले जबरजस्ती गरे आफूहरूको लासमाथि टेकेर हिँड्नुपर्ने चेतावनी दिएका थिए । प्रदेश १ पुनः नामाकरण सङ्घर्ष समितिले पनि मङ्सिर २६ गतेदेखि उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म अनिश्चितकालीन बन्द आह्वान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved