काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो । सोमबार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर मंगलवार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।
सुनको मूल्य अझै बढ्ने व्यवसायीहरू बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रूपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो । तर पछिल्लो दुई हप्ता लगातार रूपमा सुनको मूल्य उच्च रूपमा बढिरहेको छ । तर मंगलबार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दी बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरूले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रूपमा लिँदा विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरू बताउँछन् ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दी, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरूको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रूपमा वृद्धि भएको बताए । उनले दुई, तीन हप्तादेखि उच्च रूपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबिचको व्यापारिक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताए ।
विश्व ठुला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रूपमा सुनमा लगानी गरेको उनको भनाई छ । विश्वका लगानीकर्ताहरूले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रूपमा बढेको उनको दाबी छ । संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले केही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताए ।
‘विश्वका शक्तिशाली देशहरू युद्धहरूमा संलग्न हुनु, व्यापारमा ठुलो अन्तर आउनु,विश्व व्यापीहरूमा दिनप्रति दिन मूल्यवृद्धि हुँदै जानु र उद्योगधन्दाहरू फस्टाउने भन्दा पनि समस्यामा पर्न लागेको कारणले गर्दा सबैको ध्यान सुनमा गएको कारण पछिल्लो समय सुनको मूल्य उतारचढाव आएको आएको छ,’ उनले भने ‘ विश्वको सुरक्षित लगानी भनेकै सुनमा भएको विश्वास बढेकाले सुनको मूल्य उच्च रूपमा बढेको हो ।’
उनले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलबार मूल्यमा गिरावट आएको बताएका छन् । नेपाली बजारमा पनि त्यसैको असर देखिएको उनको भनाई छ ।
उनले नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताए ।
Facebook Comment
Comment