काठमाडौं । देशमा लोकतन्त्रका लागि तीन ठूला आन्दोलन र क्रान्ति भए । २००७ साल, २०४६ साल र २०६२/०६३ मा । विसं १९९७ सालको शहीद काण्ड, २०३६ सालको जनमत संग्रह, २०६३ को मधेस जनविद्रोहजस्ता पूरक विद्रोह पनि लोकतन्त्रकै लागि थिए ।
त्यसो त एक दशक लामो माओवादी जनयुद्ध पनि लोकतन्त्रकै पूर्णताका लागि भनिएको थियो । तर, जनतामा अझै लोकतन्त्र पूर्ण र सार्थक नभएको, उन्नत लोकतन्त्रका लागि फेरि एउटा अर्को नयाँ लोकतान्त्रिक आन्दोलन हुनुपर्ने धारणा प्रबल हुँदै गएको छ ।
जनान्दोलन २०६२/०६३ र नयाँ संविधान २०७२ को घोषणापछि लोकतन्त्रको आन्दोलन पूरा भएको ठानिएको थियो । तर, अहिले जनसाधारणामा होस् वा बौद्धिक विमर्शमा लोकतन्त्र विचलित र क्षयीकृत भएको गुनासो बढ्दो छ । लोकतन्त्र विचलन भएको विभिन्न अवस्थाको अर्थ दिन दलतन्त्र, गुटतन्त्र, नेतातन्त्र, परिवारतन्त्र, लुटतन्त्र, अल्पतन्त्र, सिन्डिकेटतन्त्र, दलालतन्त्रजस्ता शब्द प्रयोग हुन थालेका छन् ।
झट्ट सुन्दा यी सबै शब्द उस्तैउस्तै लाग्दछन् । तर, अर्थ केही फरक छ । यी शब्दले एकपछि अर्को चरणमा लोकतन्त्र झनै संकुचित र सीमित हुँदै गएको, विकृत, विसंगत र क्षयीकृत हुँदै गएको अर्थ दिन्छन् ।
यहाँ यी शब्द बीचको अर्थ समानता र भिन्नता केलाउने प्रयत्न गरिएको छ ।
लोकतन्त्र
लोकतन्त्रको अर्थ हो— नागरिक सर्वोच्चताको प्रणाली र व्यवस्था । नागरिकले आफ्नो सरकार आफैँ छान्ने र आफ्नै हित र आवश्यकताअनुरूप सरकार र राज्यलाई हिँडाउने प्रणालीलाई लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा पनि दल हुन्छन् । तर, नागरिक हितको अधीनस्थ हुन्छन् ।
लोकतन्त्रमा नागरिकले राजनीतिक दलहरूको निगरानी मात्र हैन, राम्रो नराम्रो कामको ‘मूल्याङ्कन’ गर्ने क्षमतासमेत राख्दछन् । राम्रो गर्ने दल र नेतालाई फेरि भोट दिन्छन र जिताउँछन, नराम्रो गर्ने दल र नेतालाई चुनावमा हराउने मात्र हैन, सार्वजनिक खबरदारी र आन्दोलनमार्फत समेत पराजित गर्दछन् । अनेक कमजोरीका बाबजुद लोकतन्त्रलाई संसारकै सबैभन्दा उत्तम राजनीतिक प्रणाली मानिन्छ ।
दलतन्त्र
दलतन्त्र भनेको लोकतन्त्रभित्र उत्पन्न हुने एक यस्तो अनौपचारिक विकृति तथा विसंगति हो, जसले नागरिकलाई हैन, दललाई सबैभन्दा शक्तिशाली संस्थाका रूपमा स्थापित गर्दछ । नागरिक दल र दलपतिका सामु कमजोर र निरीह हुँदै जान्छन् । समाजको सबै क्षेत्रमा दलीयकरण गरिन्छ । यहाँसम्म कि कर्मचारीतन्त्र र सरकारी बेतनधारी क्षेत्रमा समेत दलीय संगठन र ट्रेड युनियनको जालो हुन्छ ।
तिनले सबै नागरिकलाई बराबर ठानेर, स्वतन्त्र, निष्पक्ष र तटस्थ भएर हैन, आफ्नो दलको हितलाई केन्द्रमा राखेर काम गर्दछन् । समाज र राज्यका कुनै पनि क्षेत्र स्वायत्त, स्वशासित, मर्यादित र सार्वभौम रहँदैनन् ।
सामुदायिक वन, आमा समूह, सहकारी संस्था, कर्मचारीतन्त्र सबै दलीय संयन्त्रले ढाकेका हुन्छन् । नागरिकले क्षमता, योग्यता, दक्षताका आधारमा हैन, दलीय संलग्नताका आधारमा जिम्मेवारी पाउँछन् । सार्वजनिक प्रतिष्ठाको आधार दलीयता संलग्नता बन्छ, व्यक्तिको निष्ठा, क्षमता र नैतिकता हैन ।
कुनै खास दलमा लागे वा त्यसलाई समर्थन गरेबापत् कमजोर पनि राज्यका ठूला-ठूला पदमा पुग्छन् । राजनीतिक नियुक्ति पाउँछन् । कुनै अमूक राजनीति दलमा संलग्न नहुने वा समर्थन नगर्ने सक्षम, दक्ष वा पेशागत सीप भएको नागरिकले कहिल्यै कुनै जिम्मेवारी पाउँदैन । पाइहाल्यो भने पनि त्यसलाई असफल बनाउन चौतर्फी घेराबन्दी गरिन्छ ।
लोकतन्त्रमा जस्तो नागरिकले दललाई हैन, दलतन्त्रमा दलले नागरिकलाई ‘मूल्याङ्कन’ गर्दछ । दलले राम्रो गरेपनि नराम्रो गरेपनि, सधैँ वा जीवनभरि एउटै र आफ्नो दललाई मात्रै समर्थन गर्नुपर्छ, भोट दिनुपर्छ भन्ने परामर्श तीव्र बनाइन्छ ।
दलले नागरिकको मातृपार्टी भावनाको मनोवैज्ञानिक शोषण गर्दछ । सार्वभौम नागरिकलाई आफ्नो पार्टीको सदाबहार झोले वा ‘भोट बैंक’ मात्र बनाएर उसको जिन्दगी सिध्याइदिन्छ । दलतन्त्र लोकतन्त्र एक कदम साँघुरिएको संकेत हो ।
गुटतन्त्र
लोकतन्त्र जब दलतन्त्रबाट अझ एक कदम पछाडि सर्दछ वा साँघुरिन्छ, तब त्यो गुटतन्त्र हुन्छ । गुटतन्त्रमा दलीय भावनासमेत प्रभावकारी वा निर्णायक रहन्न । दलभित्रका गुट निर्णायक हुन्छन् । एउटै दलभित्रको एउटा गुटले अर्को गुटलाई शत्रु देख्न र निषेध गर्न थाल्दछ ।
गुटमार्फत दल कब्जा गरिन्छ र दलमार्फत राज्य कब्जा गरिन्छ । कुनै दलभित्रको गुट राज्यको सर्वोच्च शक्ति भएर उदाउँछ । त्यो गुटले आम नागरिक र अरु दललाई मात्र हैन, आफ्नै दलभित्रको अर्को गुटलाई समेत चरम दमन वा बेवास्ता गर्दछ ।
चुनावमा टिकट नदिने, कुनै जिम्मेवारी नदिनेदेखि निस्क्रिय बस्न, पलायन हुन, पार्टी छोड्न वा पार्टी फोड्न र अर्को गुट निर्माण गर्न बाध्य बनाउँछ ।
गुटतन्त्र निर्मम हुँदै जाँदा आफैँले जीवनभरि दु:ख र मेहनत गरेर बनाएको पार्टीमा मान्छे आफैँ बस्न नसक्ने हुन्छन् । जस्तो, नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइराला गुटको उदयपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरू पार्टी परित्याग गर्न बाध्य भएका थिए ।
एमालेमा ओली गुटको उदयपछि दुई पूर्वपार्टी प्रमुख माधव नेपाल र झलनाथ खनाल पार्टी परित्याग गरी अर्को सानो पार्टी गठन गर्न बाध्य भए । माओवादीमा गुटतन्त्रकै कारण प्रचण्ड गुटसँग टिक्न नसकेर डा. बाबुराम भट्टराई र मोहन वैद्य पलायन भएका थिए ।
नेतातन्त्र
नेतातन्त्र गुटतन्त्रको पनि आफैँ संकुचित रूप हो । गुटतन्त्रमा कम्तीमा एउटा गुटले अर्को गुटसँग संघर्ष गरेर शक्ति हासिल गर्दछ । नेतातन्त्रमा भने कुनै गुटभित्रको पनि मुख्य नेताले सबै शक्ति एक्लै आफ्नो हातमा लिन्छ । गुटका अन्य सदस्यलाई समेत निरीह र दासजस्तो बनाउँछ ।
आफ्नै गुटभित्र पनि कसैलाई बोल्न वा निर्णयलाई प्रभावित गर्न दिँदैन । गुटभित्रको कसैले कुनै विमति राखेमा नेता ऊप्रति ‘बायस्’ वा पूर्वाग्रही हुन्छ । नेताले जे भन्यो त्यही निर्णय हुन्छ । नेता नै सर्वैसर्वा, नेता नै पार्टी, पार्टी नै नेता हुन पुग्दछ ।
नेपाली कांग्रेसभित्रको अहिलेको अवस्था गुटतन्त्र हो । किनकि त्यहाँ सभापति देउवा, महामन्त्री गगन थापा र शेखर कोइरालाको गुटबीचको संघर्ष जारी छ । यदाकदा इतर गुटले संस्थापन गुटलाई झुकाएको पनि देखिन्छ । जस्तो कि कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउने प्रकरणमा सभापति देउवा कोइराला गुटसँग झुक्न बाध्य भए । अन्ततः देउवाले पनि कार्कीलाई नै समर्थन गरे । पार्टी अनुशासन उल्लंघनको कारबाही गर्न सकेनन् । यो गुटतन्त्र हो ।
हिजो माधव नेपाल, झलनाथ खनालसमेत हुँदा एमालेमा पनि गुटतन्त्र थियो । तर, उनीहरूको बर्हिगमनपछि त्यहाँ नेतातन्त्र कायम हुन पुगेको छ । अब ओलीको गुटसँग टकराव लिनसक्ने कुनै गुट बाँकी छैन । ओली नै गुट, ओली नै पार्टी भएको छ । यो नेतातन्त्र हो ।
मोहन वैद्य र बाबुराम भट्टराईको बहिर्गमनपछि माओवादीमा कायम भएको पनि नेतातन्त्र हो । त्यहाँ प्रचण्डले जे भन्यो त्यही निर्णय हो । एमसीसी प्रकरणमा त्यो सबैभन्दा राम्रो गरी देखिन्छ । जबसम्म प्रचण्ड एमसीसीको विरुद्धमा थिए, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, लिलामणी पोखरेल, लेखनाथ न्यौपाने सबैले एमसीसीको चर्को विरोध गर्दै हिँड्थे । एमसीसी पास भए पार्टी छोड्नेसम्मको सार्वजनिक अभिव्यक्ति दिन्थे ।
तर, जब प्रचण्ड आफैँले ‘यूटर्न’ गरे सबै ‘तैँ चुप, मै चुप’ भए । पार्टी छोड्न त परै जाओस्, प्रचण्ड रिसाउलान् भनेर डरले थुरथुर हुँदै सबै उनकै पछि लुरुलुरु हिँड्न थाले । यो नेतातन्त्रको राम्रो उदाहरण हो ।
परिवारतन्त्र
लोकतन्त्र जब दलतन्त्र, गुटतन्त्र हुँदै नेतातन्त्रमा संकुचन हुन्छ, तब परिवारतन्त्रको उदय हुन्छ । शक्तिशाली नेताका परिवारका सदस्य, नातागोता, आसेपासे, सचिवालय सदस्य, बाल्यकालका दौतरीले अनौपचारिकरूपमा शक्ति अभ्यास गर्न थाल्दछन् । यी बाहिर ठूला र औपचारिक पदमा देखिँदैन् । तर, ठूला र औपचारिक पदमा भएकालाई समेत भित्रभित्रै नचाउन सक्ने हुन्छन् ।
घुस तथा कमिसन संकलन, ठेक्कापट्टा कसलाई दिने वा नदिने, राजनीतिक नियुक्ति, कर्मचारीको सरुवा, बढुवामा यिनीहरूको भूमिका हुन्छ । नेता बाहिरबाट हेर्दा यी सबै कुरा टाढा रहेजस्तो देखिन्छ । तर, भित्रभित्रै आफ्नो ‘किचेन क्याबिनेट’ र परिवारका सदस्यलाई यस्ता काममा परिचालन गरिरहेको हुन्छ ।
लुटतन्त्र
लुटतन्त्र लोकतन्त्रको सर्वाधिक संकुचन बिन्दु र परिवारतन्त्रको अझ विस्तारित रूप हो । अब शक्तिशाली नेताका परिवार वा ‘किचेन क्याबिनेट’ का सदस्यले राज्य, कर्मचारीतन्त्र, सेना, प्रहरी, व्यावसायिक जगत् र कुटनीतिक वृत्तमा भित्रभित्रै अनौपचारिक संजाल बनाउँछन् ।
तिनको काम अब आर्थिकरूपमा देश र जनतालाई लुट्नु हुन्छ । जसरी हुन्छ ‘कलेक्सन’ गर्नु, त्यसको निश्चित हिस्सा पार्टीका लागि र ठूलो हिस्सा परिवारको आर्थिक उन्नतिमा लगाउनु लुटतन्त्रको मुख्य उद्देश्य हुन्छ ।
सिन्डिकेटतन्त्र
सिन्डिकेटतन्त्र भने भ्रष्ट र बदनाम राजनीतिक दलबीचको मिलोमतो र अस्तित्व रक्षाको प्रयत्न हो । दलहरू अरुबेला एकअर्काका विरोधी वा प्रतिस्पर्धीजस्तो देखिन्छन् । फरक विचार र एजेण्डाको कुरा गर्दछन् । एकअर्कालाई सत्तोसराप, गाली र आलोचना गर्दछन् । तर, जब अस्तित्व संकटको अवस्था आउँछ, एकले अर्काको ‘रेस्क्यू’ गर्दछन् ।
जस्तो कि गत चुनावमा कांग्रेसले प्रचण्ड र माधव नेपाल गुटको ‘रेस्क्यू’ गर्यो भने एमालेले जसपा र राप्रपाको ‘रेस्क्यू’ गर्यो । यी दलको आधिकारिक विचार र एजेण्डामा आकास जमिनको भिन्नता थियो । तर, चुनावमा सबैले एकअर्कालाई जोगाए । शक्ति आफूभन्दा बाहिर नजाओस् र वर्चस्व कायमै रहोस् भन्नका लागि तुरुन्तै सम्झौता गरे । अहिले विजातीय र गैरवैचारिक मिलीजुली सरकार चलाइरहेका छन् ।
सिन्डिकेटतन्त्रको प्रभाव केवल राजनीतिक भागबन्डामा मात्र सीमित हुँदैन । यो लुटतन्त्रमा समेत सामेल हुन्छ । राजनीतिक सेन्डिकेटका सदस्य वा साझेदार लुटतन्त्रका पनि साझेदार हुन्छन् । यिनले मिलीजुली कमिसन खान्छन्, मिलिजुली भ्रष्टाचार गर्दछन् ।
जस्तो कि नक्कली भुटानी शरणार्थी प्रकरणमा । यसमा सबै ठूला दलका नेता कार्यकर्ता, परिवार सदस्य र प्रशासक सामेल देखिन्छन् ।
अल्पतन्त्र
अल्पतन्त्र भने राष्ट्रिय जीवनका सबै क्षेत्र र संस्थाहरूको पिरामिडको उपल्लो तहमा भएका सीमित व्यक्तिहरूको अनौपचारिक क्लब हो । यसलाई अंग्रेजीमा ‘सर्कल अफ पावर एलिट’ भन्ने गरिन्छ । यसभित्र कुटनीतिज्ञ, प्रशासक, संवैधानिक निकायका प्रमुख, न्यायिक नेतृत्व, ठूला व्यापारिक घरानाका सदस्य मात्र हैन, मिडिया, सार्वजनिक बौद्धिक र सेलिब्रेटीको पनि साँठगाँठ हुन्छ ।
देशका करिब १ सयदेखि ५ सय परिवार भित्रभित्रै एकअर्कोको नजिक हुन्छन् । एकअर्काको स्वार्थमा सहयोग गर्दछन् । राज्यका सबै नीति यिनकै वरिवरि घुम्छ । नेतालाई व्यापारीले चुनावमा चन्दा दिन्छ । नेताले व्यापारीलाई बजेटमा कर छुट गर्दिन्छ । नेताले प्रशासकलाई चाहेजस्तो सरुवा, बढुवा वा राजनीतिक नियुक्ति गर्दिन्छ । प्रशासकले घुस, कमिसन संकलन गरी नेतालाई पार्टी चलाउने पैसा दिन्छ ।
नेता र व्यापारीले मिडियालाई विज्ञापन र बौद्धिक जगतलाई राजनीतिक नियुक्ति वा कुनै प्रोजेक्ट दिएर उद्धार गर्दछन् । मिडिया र बौद्धिक जगत्ले नेता र व्यापारीको हितमा भाष्य नियन्त्रण गर्दिन्छन् । लेख्दिने, बोल्दिने सार्वजनिक बहसलाई कसैको हितअनुकूल बङ्ग्याइदिन्छन् ।
यस्तो अघोषित क्लब नै अल्पतन्त्र हो ।
दलालतन्त्र
दलालतन्त्र लोकतन्त्रको अर्को विकृति हो । सामान्यतः दलाल दुई प्रकारका हुन्छन् । आर्थिक स्वार्थमा मात्र सीमित हुने दलाल र राजनीतिक तथा सत्ता समीकरण नै फेरबदल गर्नसक्ने गरी काम गर्ने दलाल । यिनलाई क्रमशः ‘कमिसन ब्रोकर’ र ‘पावर ब्रोकर’ भन्ने गरिन्छ ।
दलालले ठूला विकास परियोजना, ग्लोबल टेन्डर र ठूला सार्वजनिक खरिदमा ‘कमिसन डिल’ गर्दछन् । सबैको भाग लगाएर नेता र प्रशासकको घरघरमा पुर्याइदिन्छन् । जस्तो कि वाइडबडी जहाज र सेक्युरिटी प्रेस खरिद काण्ड यसको राम्रो उदाहरण हुन् । यस्ता काण्ड एक त सार्वजनिक नै हुँदैनन्, भइहाले पनि सबैले एकअर्कालाई जोगाउँछन् र ‘डिसमिस’ गर्दिन्छन् ।
‘पाबर ब्रोकर’ भने अझ खतरनाक हुन्छन् । यिनले सरकार बनाउने र ढाल्ने, सांसद किनबेच गर्ने, नेताहरूलाई मिलाउने र फुटाउने, ठूला कर्मचारी र राजदूत पदमा आफ्नो आवश्यकताअनुसार नियुक्ति र सरुवा गर्नेसम्मको हैसियत राख्दछन् ।
‘पावर ब्रोकर’ का रूपमा जासुस, कुटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीको पनि ठूलो भूमिका हुन्छ । यी बाहिरबाहिर देखिँदैनन् । तर, भित्रभित्रै यिनले निकै ठूला-ठूला योजना र षड्यन्त्र फत्ते गर्दछन् ।
हाम्रो लोकतन्त्र, दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, परिवारतन्त्र, लुटतन्त्र, सिन्डिकेटतन्त्र, अल्पतन्त्र र दलालतन्त्रमा पतन हुँदै गएको जनगुनासो अकारण हैन । यी शब्द त्यसै जन्मिएका र जिब्रोमा झुन्डिएका हैनन् ।
यो सत्य हो कि आज यस्ता विकृति, विसंगति निरन्तर बढ्दो छ र लोकतन्त्र साँच्चै नै संकटमा पर्दै गएको छ ।
Facebook Comment
Comment