काठमाडौं । राजनीतिशास्त्रमा एक अवधारणा छ— डिप स्टेट । यसको शाब्दिक अर्थ हुन्छ— गहिरो राज्य । गहिरो राज्य भन्दा सायद सघन, कामकाजी र भित्रैसम्म बलिया राज्य भन्ने बुझिन्छ । तर, यसको वास्तविक अर्थ भने त्यो हैन । ‘डिप स्टेट’ को अर्थ हो— राज्यभित्र लुकेको राज्य, गोप्यराज्य, भित्री राज्य वा अदृष्य राज्य/सरकार । अनौपचारिकरूपमा राज्य शक्तिको दुरूपयोग गर्ने सञ्जाल ।
त्यस्तो वर्ग वा तप्का, जसले राज्यको कुनै वैधानिक हैसियत वा पदमा न रहिकन राज्यका नीति निर्णयलाई प्रभावित गर्न र आफूअनुकूल बनाउन सक्दछ, त्यसलाई ‘डिप स्टेट’ भनिन्छ । ‘डिप स्टेट’ शक्तिशालीहरूको त्यस्तो अनौपचारिक सञ्जाल वा समूह हो, जसले राज्यका पदमा नबसेरै पनि बसेकाहरूको भन्दा बढी शक्ति अभ्यास गर्दछ ।
वैधानिक विधिबाट बनेको सरकारलाई समेत हल्लाउने, थर्काउने, हप्काउने वा डर देखाएर छुलछुल्ल बनाउने हैसियत राख्दछ ।
सामान्यतः सरकार वैधानिक प्रक्रियाबाट आएको हुन्छ । लोकतन्त्रमा सरकार जनताबाट प्रत्यक्ष निर्वाचित भएर वा संसद्बाट बहुमत हासिल गरेर बनेको हुन्छ । तर, ‘डिप स्टेट’ यो प्रक्रियामा देखिँदैन । डिप स्टेटका सदस्य न आफैँ चुनाव लड्दछन्, न राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री नै हुन्छन् । तर, प्रधानमन्त्री वा मन्त्री बनाउने वा हटाउने तागत उनीहरूमा हुन्छ । उनीहरू त्यस्तो व्यक्ति वा पार्टीलाई जिताउन लाग्दछन्, जो उनीहरूको हितअनुरूप काम गर्न राजी हुन्छ वा राजी हुने सम्भावना रहन्छ । मन्त्री बनाउने वा फेर्ने निर्णयमा ‘डिप स्टेट’ को हात हुन्छ ।
को-को हुन् डिप स्टेट ?
अदृश्य बसेर राज्यको उपल्लो तहमा पहुँच पुर्याउन, बर्चश्व जमाउन वा निर्णयअनुकूलन गर्ने क्षमता राख्ने व्यक्तिको समूह नै ‘डिप स्टेट’ हो । एक क्षण कल्पना गरौँ— यस्तो क्षमता को-कोसँग हुन्छ ?
पहिलो— ठूला व्यापारिक घराना हुन् । यिनले राजनीतिक दललाई चुनावको बेला पैसा दिएका हुन्छन् । पार्टी चलाउन, नेताको गुट पाल्न पैसा दिएका हुन्छन् । पैसाको बलमा आफ्ना स्वार्थअनुरूपका निर्णय गर्न गराउन प्रधानमन्त्री वा मन्त्रीलाई बाध्य गराउँछन् ।
समान प्रतिस्पर्धी स्थितिमा रहेका दलमध्ये त्यसैले जित्ने सम्भावना बढी हुन्छ, जसले व्यापारिक घरानाको आर्थिक सहयोग पाएको हुन्छ । तसर्थ, सरकारमा आएका नेता यो वर्गलाई चिढ्याउन चाहँदैनन् ।
दोस्रो— प्रशासक वा शक्तिशाली पूर्वप्रशासक हुन् । यिनले राजनीतिक नेतृत्वलाई अप्रत्यक्ष भयमा राखेका हुन्छन् । उनीहरूअनुकूलका निर्णय नगरे सरकार नै अप्ठ्यारोमा पर्ने जोखिम हुन्छ । प्रशासन यन्त्रले सहयोग गरेन भने सरकार असफल हुन्छ भन्ने डरले प्रधानमन्त्री तथा मन्त्रीले यिनका कुरा वा सल्लाहलाई धेरै महत्त्व दिन्छन् ।
तेस्रो— सेना, प्रहरी र जासुसी संयन्त्रको नेतृत्व हो । यस्ता संयन्त्र सरकारको अधीनस्थ रहेको मानिन्छ । तसर्थ, सरकारसँग यिनीहरू आफैँ डराउनपर्ने हो । तर, अनौपचारिकरूपमा एक यस्तो अवस्था निर्माण गरिएको हुन्छ कि स्वयम् सरकार उनीहरूसँग डराउनुपर्ने हुन्छ । अन्यथा सरकार नै संकट पर्दछ । राजनीतिक नेतृत्वले पद गुमाउनुपर्ने हुन सक्दछ।
प्रधान सेनापति रुक्माङत कटवाललाई हटाउन खोज्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो सरकार गिरेको उदाहरण नेपाल मै छ । सेना प्रहरीलगायत राज्यको सशस्त्र बलले असहयोग गर्ने डर निर्वाचित सरकारलाई पनि हुन्छ । किनकि सशस्त्र शक्ति भड्कियो भने त्यसले ल्याउने अस्थिरता र दुष्परिणाम नियन्त्रण गर्न निर्वाचित सरकारलाई पनि गाह्रो हुन्छ ।
चौथो— विदेशी कुटनीतिज्ञ र जासुसहरू हुन् । शक्ति राष्ट्रका कुटनीतिज्ञ तथा जासुस स्थानीय डिप स्टेटसँग कुनै न कुनै रूपले जोडिएका हुन्छन् । यिनले आन्तरिकरूपमा निर्वाचित सरकारमाथि सधैँ एक प्रकारको दबाब बनाएका हुन्छन् ।
पाँचौं—स्वयम् प्रधानमन्त्री तथा मन्त्रीको परिवार, नातेदार तथा मित्र मण्डली हो । कुनै व्यक्ति शक्तिमा पुग्नेबित्तिकै त्यसको वरिपरि यस्तो एउटा वृत्त तयार हुन्छ, जसले शक्तिको अवैधानिक तथा गोप्य अभ्यास गर्ने प्रयत्न गर्दछ । प्रधानमन्त्री वा मन्त्रीका बाल्य तथा युवाकालीन मित्र, प्रेमी, प्रमिकासमेत यो वृत्तमा हुन सक्दछन् ।
छैटौँ— धर्मगुरु हुन् । धर्मगुरुले एकातिर नैतिकता, आर्दश र अध्यात्मको उपदेश दिन्छन् । तर, राज्य शक्तिप्रति उनीहरूको मोह विचित्रको हुन्छ । उनीहरूसँग धार्मिक सम्प्रदाय वा संगठन हुन्छ । जनप्रभाव हुन्छ । त्यसमार्फत् समाज र राज्यलाई प्रभावित गर्ने तागत हुन्छ । धर्मगुरुले पनि राजकीय पदमा बसेका व्यक्तिलाई प्रभावित गर्ने सामर्थ्य राख्दछन् । यो भने देशअनुसार फरक-फरक हुन्छ ।
सातौं— कतिपय देशमा भने आपराधिक समूह, माफिया, लागूऔषध तस्कर तथा गुण्डाको समूहले पनि डिप स्टेटको काम गरेको हुन सक्दछ । जस्तो कि बोलिभिया, कोलम्बिया, मेक्सिकोजस्ता केही ल्याटिन अमेरिकी देशको बारेमा भनिन्छ— त्यहाँ सरकारभन्दा लागूऔषध तस्कर निक्कै बलिया वा प्रभावशाली हुन्छन् ।
‘डिप स्टेट’ को कुन पक्ष बढी प्रभावी छ त्यो देशैपिच्छे भिन्नै हुन सक्दछ । जस्तो कि— पश्चिमका देशमा चर्च र पोप निक्कै बलिया हुन्छन् । पाकिस्तानमा सेना बलियो छ भित्रभित्रै । भारतमा प्रधानमन्त्रीमाथि व्यापारिक घरानाका अतिरिक्त धार्मिक संगठनको दबाब बढी हुन्छ । भाजपा सरकार राष्ट्रिय स्वयंसेवक संघ र विश्व हिन्दू महासंघको इच्छाविपरीत चल्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
डिप स्टेटको अवधारणा मूलतः नकारात्मक अर्थमा बनेको हो । तर, कतिपय राजनीतिशास्त्रीले यसलाई हिजोआज सकारात्मक अर्थमा पनि लिने गर्दछन् । जस्तो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा उनले ‘डिप स्टेट’ भताभुङ्ग पारेको बताइन्छ । जसको अर्थ हुन्छ— स्थायी सरकारका प्रचलन, परम्परा, कार्यसंस्कृति र मूल्यमान्यतालाई ध्वस्त पार्नु । राज्य अंगको विश्वासनीयता र निष्पक्षता कमजोर हुनू ।
त्यसो त ‘डिप स्टेट’ को अवधारणाले सामाजिक बर्चश्व र राज्यबीचको अघोषित सम्बन्धलाई समेत व्यक्त गर्दछ । जस्तो कि भारतमा डिप स्टेट भन्नाले दक्षिणी गैरहिन्दी भाषी राज्यको तुलनामा उत्तरी हिन्दीभाषी राज्यको प्रभाव धेरै हुनुलाई पनि बुझिन्छ ।
नेपालमा खस-आर्य समुदायको राजनीतिक तथा प्रशासनिक प्रभावलाई पनि एक प्रकारले डिप स्टेट मान्ने गरिन्छ ।
डिप स्टेट क्रियाशील हुनु भनेको राज्य कुनै न कुनै प्रकारले ‘बायस’, अपारदर्शी वा भ्रष्ट हुनु हो । यसले राज्य र सरकारमा सबै नागरिकको पहुँच बराबर नभएको अवस्थालाई चित्रण गर्दछ ।
सन् १९५५ मा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हान्स मोर्गेनथ्यूले ‘ड्यूअल स्टेट’ शब्द प्रयोग गरेका थिए । यसको अर्थ निर्वाचित सरकारभित्र हुने सेनाको प्रभावलाई समेत समानान्तर सरकारका रूपमा चित्रण गर्नु थियो ।
सन् १९५६ मा प्रकाशित समाजशस्त्री सी.डब्लु.मिल्सको किताब ‘द पावर एलिट’ मा भने मिडिया, सिनेमा, संगीतलगायत कला-साहित्यजगतका ‘सेलिब्रेटी’ लाई पनि राज्य र सरकारलाई भित्रभित्रै प्रभावित गर्ने शक्तिशालीको वृत्तभित्र राखिएको छ ।
आधुनिक लोकतान्त्रिक राज्य र सरकार पूर्णतः निष्पक्ष, तटस्थ र पारदर्शी हुनु पर्ने मान्यता राखिन्छ । सबै नागरिकको समान पहुँच हुनुपर्ने माग गरिन्छ । तर, व्यवहारमा भने बिरलै त्यस्तो भएको हुन्छ । हरेक देशमा कुनै न कुनै प्रकारका ‘पावर एलिट’ वा ‘डिप स्टेट’ क्रियाशील छन्, जसले लोकतान्त्रिक राज्यप्रतिको जनअपेक्षालाई हानी पुर्याउने गरेका छन् ।
Facebook Comment
Comment