यो सरकारले काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्छ : सिटौला

नेपालभ्युज

यो सरकारले काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्छ : सिटौला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित ‘राजनीतिक उपलब्धि र आजको चुनौती विषयक विचार गोष्ठी’ मा बोल्दै उनले सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्याङ्कन गर्दा संविधानले परिकल्पना गरेअनुसार प्रभावकारी र निष्पक्ष ढंगले काम गर्न नसकेको बताएका हुन् ।

राज्यका सबै निकायलाई ठीक ढंगले अघि बढाउनका लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाको भनाइ रहेको छ । नेता सिटौलाले काँग्रेसको आगामी मङ्सिरमा हुने नीति महाधिवेशनले मुलुकलाई अघि बढाउनका लागि ठोस योजना तय गर्ने दाबीसमेत गरे ।

उनले मुलुकमा एकपछि अर्को संकट बढ्दै गइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुनका लागि सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए । उनले अमेरिका, युक्रेन, रुस, इजरायललगायतका घटनाक्रमले नेपालमा एकपछि अर्को संकट देखिएकाले त्यसबाट राष्ट्र र जनतालाई मुक्त गराउन सरकार, संसद्, संवैधानिकले अत्यन्तै सचेत भएर काम गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

‘समग्रमा राज्य व्यवस्थाको मूल्याङ्कन गर्ने हो भने संविधानले परिकल्पना गरे बमोजिम प्रभावकारी ढंगले, निष्पक्ष ढंगले काम गर्न सकेका छैनन् । युक्रेन युद्धबाट, इजरायलको घटनाबाट विश्वको राजनीतिको प्रभाव पनि नेपालमा परेको छ’, उनले भने, ‘कहाली लाग्दा समस्याहरू टरेर गएका छैनन्, बरु आउन थालेका छन् । त्यसैले त्यसैले ती संकटबाट पार लगाउनका लागि सिङ्गो संसद्, हाम्रो सरकार, सबै संवैधानिक निकायबिच अत्यन्तै सचेत भएर हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई सन्तुलित ढंगले विकास गर्न थाल्नुपर्दछ ।’

नेता सिटौलाले मुलुकको अर्थतन्त्र सुधारका लागि पनि सरकारले विशेष कदम चाल्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved