काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र संघमा यसपटक देखिनेगरी नेपाललाई प्रस्तुत गरिएको बताएका छन् । उनले संयुक्त राष्ट्र संघको ७८औं महासभामा आफूले गरेको सम्बोधनबाट यसपटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको दाबी गरेका हुन् ।
आफ्नो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सदभाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको बताए।
नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अतिकमविकसित मुलुककाहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा पनि आफूले संयुक्त राष्ट्र संघको महासभामा धारणा राखेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको पनि बताउँदै प्रधानमन्त्रीले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत विस्तारपूर्वक छलफल भएको बताए। उनले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि बताए।
भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छ
यस्तै, नेकपा माओवादी केन्द्र ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएका हुन्।
उनले सबै मिलेर मेहन गर्ने हो भने देखिएको समस्या समाधान हुने बताउँदै उनले अहिले चुनौती भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतिमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे।
पूर्वसभामुख सापकोटाले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गरे। उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताउँदै सरकार जनताका आवाज सुन्न तत्पर रहेको पनि बताए।
Facebook Comment
Comment