काठमाडौं । लैला–मजनुको अमर–प्रेम कथा नपढ्ने, नसुन्ने मान्छे संसारमा विरलै होलान् । यो प्रेम–कथा शताब्दिऔंदेखि विश्वभरि छाएको छ । भनिन्छ- यसबारे संसारमा २००० भन्दा बढी कथा, काव्य र नाटकका किताब लेखिएका छन् । आधुनिक युगमा आएर दर्जनौं सिनेमा बनेका छन्।
यो प्रेम–कथाको उत्पत्ति ७ औं शताब्दीको अरब जगतमा भएको थियो । करिब ५ शताब्दि यो जनश्रुतिका रूपमा बाँच्दै आयो । एघारौं शताब्दिका प्रसिद्ध अरब कबि निजामी गन्जाबीले सन् ११९२ मा यो कथालाई पहिलोपटक काव्यमा उतारे ।
कवि गन्जाबीका पाँच काव्य श्रृंखला अरबी काव्य र साहित्यका मध्यकालीन कोशेढुंगा मानिन्छन् । ती मध्ये तेस्रो श्रृंखलामा लैला-मजनुको कथा लेखेका थिए उनले । जसको शीर्षक ‘लैला ओ मजनु’ थियो ।
काव्यमा कवि गन्जाबीले यो दाबी गरेका थिए कि, त्यसका केही वाक्यहरू स्वयं मजनुले लेखेका हुन् । उनले जनश्रृतिबाट टिपेका मात्र हुन् । त्यसमध्ये एक चर्चित अनुच्छेद यस्तो थियो–
म त्यो शहर भएर जान्छु, जुन शहरमा लैला बस्छिन्
म ती पर्खाललाई चुम्बन गर्छु, जुन पर्खाल छोएर लैला हिँड्छिन्
मेरो प्रेम यो शहर र पर्खालप्रति हैन,
तिनका लागि हो जो यो शहर र पर्खालमा छिन्
यो शहर भएर हिँड्दा उनले मलाई आकर्षित गर्छिन्
यी पर्खाललाई चुम्बन गर्दा मेरो मनमा आनन्द आउँछ
अर्थात् प्रेम–कथाका नायक मजनू आफैँ एक कवि थिए । यो प्रेम–कथाको त्रासदी खासमा मजनूको कविताबाट सुरुवात भएको थियो ।
मजनूको खास नाम कायस इब्न अल– मुलाव्वाह थियो । कायस र लैला दुवै एकै बानु समुदायका दुई फरक गणका सन्तान थिए । कायसको गणलाई अमारी र लैलाको गणलाई सर्वरी भनिन्थ्यो । दुवैका पिता आ-आफ्नो गणका सरदार थिए ।
कायस र लैलाको भेट बाल्यकालमा गाउँको मदरसामा भएको थियो । एक दिन मदरसाका मौलानाले सबै विद्यार्थीलाई ‘अल्लाह’ लेख्न लगाए । कायसले आफ्नो स्लेटमा ‘अल्लाह’ को साटो ‘लैला’ लेख्यो । किंवदन्तीअनुसार मौलानाले यस गल्तीवापत कायसका कलिला हातमा छडीले पिटे तर त्यसको निलडाम भने लैलाको हातमा देखियो ।
त्यसपछि नगरमा यो हल्ला भयो कायस र लैलाको बीचमा कुनै चामत्कारिक सम्बन्ध छ । कायस लैलाको नामका कविता लेख्ने र विना कुनै लज्जा जताततै वाचन गर्दै हिँड्न थाल्यो । त्यसपछि मान्छेले भने कि यो केटो पागल भयो । अर्थात् ‘मजनू’ भयो । अरबीमा मजनूको अर्थ हो– प्रेममा पागल भएको केटो । लैला ओ मजनूको अर्थ हो– लैलाको प्रेममा पागल भएको केटो ।
त्यसपछि मान्छेले कायसको नाम बिर्संदै गए । उसलाई सबैले मजनूको नामले सम्झिन थाले । आज पनि मजनूको नाम–कायस इब्न अल मुलाव्वाह कमैले स्मरण गर्दंछन् ।
लैलाको पूरा भने लैला विन सैद महदी थियो । कतैकतै लैला विन अमिरिया लेखेको पाइन्छ । उनीहरू दुबै अल–नाजु नगरमा जन्मिएका थिए । यो नगर आज कहाँ पर्छ ? फरक-फरक प्रकारका दाबीहरू छन् । अधिकांशले यो मान्छन् कि साउदी अरेबियाको राजधानी शहर रियादबाट ३३० किमी दक्षिणमा पर्दछ । यही विश्वासले त्यहाँ एक नगरको नाम अहिले पनि ‘लैला नगर’ राखिएको छ ।
तर, लैला–अमर प्रेम कथासँग जोडिएका स्थानहरू अरब जगतभरि मात्र हैन, त्यसभन्दा बाहिर पनि छरिएका छन् । इरान, इराक, साउदी अरेयिबा, अफगानिस्तान, पाकिस्तान, भारत, टर्की, अजरबैजानअदि देशमा लैला र कायस कुनै न कुनै बेला पुगेका थिए भन्ने विश्वास गरिन्छ ।
भारतको राजस्थानमा एक ठाउँ छ– अनुपगढ । त्यहाँ लैला र कायसको समाधि भएको विश्वास गरिन्छ । बर्षेनि लाखौं मानिस त्यहाँ आफ्नो अमर–प्रेमको कामना गर्दै तीर्थ गर्न जान्छन् ।
लैलाका पिताले कायसलाई छोरी दिन अस्वीकार गर्नुको मूल कारण नै उसको पागलपन थियो । लैलाको नामका कविता भन्दै हिँडेको लैलाको गणलाई मन पर्दैनथ्यो । त्यो उनीहरू आफ्नो समुदायको बेइज्जती ठान्थे । अर्को कुरा उनीहरूका पिताबीच सरदारी दुश्मनी थियो । यी कारणले लैला र कायसको प्रेम विवाहमा परिणत हुन सकेन ।
अरबी विश्वासमा लैला र कायसबीच ४ वर्षको उमेर भिन्नता थियो । तर, अफगानी विश्वासमा लैला कायसभन्दा २ वर्ष मात्र कान्छी थिइन् । लैलाका पिताले उनको विवाह एक धनी व्यापारी बरद अलथा कैफीसँग गरिदिए । यहाँनेर लैला–मजनुको प्रेम कथामा दुई फरक भनाइ छन् । कतिपयको विश्वास छ कि बरदसँगको निकाह उनले कबुल गरेकी थिइन् । अर्को भनाइमा त्यो उनको बाध्यता मात्र थियो ।
कथाको पहिलो धारणाअनुसार लैला–कायसको भेट त्यसपछि कहिल्यै भएन । जब बुढी भएर लैला मरिन्, उनको समाधिको छेउमा अर्को बुढो मान्छेको लास भेटियो, त्यो कायसको लास थियो । तर, यो धारणालाई कमै कथाहरूले विश्वास गरेका छन् । दोस्रो कथा धेरै प्रचलित छ । त्यो हो– बरदसँग विवाह भए पनि लैलाले बरदलाई आफ्ना मनका सबै कुरा भन्दिइन् । बरदले उनलाई पत्नी स्वीकार गर्यो, तर लैलाको आत्मसम्मानको ख्याल गर्दै शारीरिक सम्पर्क कहिल्यै बनाएन ।
लैलाको बिहेपछि कायस भने मरुभूमिमा भट्किरह्यो । उसले घर परिवार त्याग गर्यो । मरुभूमिको बालुवामा लैलाबारे कविता लेख्दै तड्पिरह्यो । कुनै एक दिन कायस बरदको घरमा पुग्यो र लैलाको नाम लिएर बर्बराउँन थाल्यो । बरदले यसलाई आफ्नो अपमान ठान्यो र कायसले कोर्राले हिर्काउँन थाल्यो ।
फेरि त्यही घटना दोहोरियो, जुन बाल्यकालमा भएको थियो । मदरसाका मौलानाले छडीले कायसलाई पिट्दा निलडाम लैलाका हत्केलामा देखिएका थिए । बरदले कायसलाई कोर्रा हान्दा कोर्राका डाम लैलाको शरीरमा बसे । लैला पीडित, विक्षिप्त र बिमार भइन् ।
त्यसपछि बरदले यो स्वीकार गर्यो कि लैला र कायसको प्रेम मान्छेले मात्र थाहा पाएको सामान्य प्रेम हैन, यो अल्लाहसम्म पुगिसकेको अमर प्रेम हो । तसर्थ, बरदले लैलालाई तलाक दियो र मुक्त गरिदियो । लैला–कायसलाई सँगै भाग्न कुनै अर्को ठाउँमा गएर आफ्नो संसार बसाउन भन्यो । लैला र कायस दुवै बरदको बंगलाबाट भागे तर दुवै शारिरिक रूपमा अशक्त र बिमार भएका थिए । अर्को संसार बसाउन नपाउँदै उनीहरूको सँगसँगै मृत्यु भयो । र मानिसले उनीहरूको समाधिस्थल बनाइदिए ।
भारतीयहरू यो विश्वास गर्छन् कि लैला–कायस अरबबाट भागेर नयाँ घर बसाउने ठाउँको खोजीमा राजस्थानको अनुपगढ आइपुगेका थिए । तर, कथाको धारले पनि लैला र मजनू सँगसँगै भाग्दाभाग्दै मरेको उनीहरूको विवाह वा उनीहरूबीच यौन सम्बन्ध भने नभएको मान्दछ ।
त्यो प्रेम अमर हुन्छ जो आत्मिक हुन्छ, विवाह र यौन सम्बन्धबिना पनि दुवैको हृदयमा एक-अर्काप्रति असीम आशक्ति र समर्पणको भावना हुन्छ भन्ने मुस्लिम जगतको विश्वास हो । इसाई समाजमा यस्तो प्रेमलाई ‘भर्जिन लव’ भन्ने गरिन्छ । हिन्दू मिथोलजीमा राधा र कृष्णको प्रेम पनि यस्तै हो । राधा र कृष्ण बाल्यकालका साथी थिए । उनीहरूको बीचमा विवाह र यौनसम्बन्ध भएन ।
सन् १९७६ मा भारतीय सिने निर्देशक हरनामसिंह रवाइलले एक सिनेमा बनाए । त्यसो त श्वेतश्या जमानामै सन् १९४७ मा लैला–मजनु सिनेमा हिन्दीमा बनिसकेको थियो । सन् १९७६ को सिनेमाले भने लैला–मजनूको प्रेमकथालाई दक्षिण एसियामा झनै लोकप्रिय बनायो ।
यो सिनेमा कायसको भूमिका ऋषि कपुरले गरेका थिए भने लैलाको भूमिकामा रञ्जितासिंह कौर थिइन् । बरदको भूमिकामा डेनी डेन्जोङ्म्पा, यो सिनेमामा बरदलाई ‘बख्क्ष’ भनिएको छ ।
यस सिनेमामा एक गीत छ– साहिर लुधियानबीले लेखेको र लता मंगेश्करले गाएको ।
कोही पत्थरसे नही मार मेरी दिवानेको
हुस्न हाजिर है मोहब्बतकी सजा पानेको
यो गीत सुनेर मात्र पनि मान्छे रुने गर्थे । यो गीत लैलाले त्यति खेर गाउँछिन् जब लैलाको नगरबाट मान्छेले कायसलाई ढुंगाले हानेर खेदिरहेका हुन्छन् । लैला–मजनूको अमर–प्रेम कथा शताब्दीऔंदेखि जीवित छ, सायद त्यतिञ्जेल जीवित नै रहने छ, जबसम्म यो धर्तीमा मान्छे रहनेछन् ।
Facebook Comment
Comment