काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतको आदेशअनुसार थुनामा पठाएकाहरूमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायझमारी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत छन् ।
यस्तै टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, आङ्टावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी र हरिभक्त महर्जन पनि थुनामा गएका छन् ।
अदालतले लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
यो प्रकरणमा अझै १२ जना फरार छन् । नेपाल प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ । फरार हुनेहरूमा केशव तुलाधर, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाञी, नीरज राई, रजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतिक थापा छन् ।
Facebook Comment
Comment