‘नेपाली नटवरलाल’ सुजनबाट ठगिएकामध्ये चारजना होटेलमा बन्धक

नेपालभ्युज

‘नेपाली नटवरलाल’ सुजनबाट ठगिएकामध्ये चारजना होटेलमा बन्धक

काठमाडौं। ठगी र जालसाजीलगायतका दर्जनौँ धोकाधडीका अपराध गरिसकेका छन्, २२ वर्षीय सुजन आचार्यबाट सिंगापुर लैजाने आश्वासनमा ठगिएकामध्ये ४ जना काठमाडौंको होटेलमा बन्धक बनेका छन्। सिंगापुरका होटेलमा काम पाउने आश्वासनमा लाखौँ रकम बुझाएका ४१ जना मध्ये ४ जना कोटेश्वरको एक होटेलमा बन्धन बनाइएका छन्।

केही दिनअघि ३९ जना पीडितले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सुजनलाई पक्राउ गर्न र रकम फिर्ता पाउन माग गरेका थिए। उनीहरूले पत्रकार सम्मेलन गरेपछि सुजनबाट ठगिएकाहरू २ जना थपिइसकेका छन्। सानै उमेरबाट शृङ्खलाबद्ध ठगी गर्दै आएका सुजनले पछिल्लो समय एकै वर्षमा १० करोड रुपैयाँ ठगेर फरार भएका छन्। सानोतिनो गिरोह नै बनाएर पैसा असुली गरेका उनले झन्डै ८० भन्दा बढी युवाबाट पैसा उठाएको अनुमान छ।

तिनै ४१ जनामध्येका चार जना करिब चार महिनादेखि काठमाडौंको कोटेश्वरस्थित ‘ओल्ड दरबार’ नामको होटेलमा बन्धक बनेका छन्। अछामका मीन अधिकारी र प्रेम साउद, बाजुराका झरेन्द्र सिंह र कैलालीका सुरेन्द्र शाहलाई होटेल सञ्चालकले बाहिर जान दिएको छैन।

सुजन आचार्य र प्रेमिका बिनु शाक्यलाई पैसा बुझाएपछि उनीहरू सिंगापुर उड्ने प्रतीक्षामा थिए। चार महिनाअघि रोजगारीका लागि सुजनको प्रतीक्षामा रहेका उनीहरूलाई सुजनले ‘ओल्ड दरबार’ लगेर राखिदिए। सिंगापुर नउडुन्जेल होटेलमै बस्नुपर्ने र पैसा आफूले बेहोर्ने सुजनले बताएका थिए। त्यही अनुसार ४ जनालाई होटेलमा राखेका थिए।

पीडितहरू होटेलमा बसिरहे। सुजनले ‘अर्को हप्तामा सिंगापुर उडाइदिन्छु’ भन्दाभन्दै एक महिना कटाए। होटेलमा बिल बढ्दै जाँदा सुजन सम्पर्कविहीन भए। न त होटेलको पैसा तिरिदिए, न त सिंगापुर उडाए। पैसा तिर्न नसकेपछि होटेल सञ्चालकले उनीहरूलाई बाहिर जान दिएका छैनन्। उनीहरूको पासपोर्टसमेत कब्जा गरेर राखेका छन्।

चार जनाले होटेलमा बसेको र खाएको मात्र साढे ४ लाख जति भइसकेको छ। होटेल साहुले उनीहरूका पासपोर्ट, नागरिकतालगायत सबै कागजात खोसेर राखेका छन्। होटेलको पैसा नतिरेसम्म बाहिर जान नदिने बताएपछि उनीहरू होटेलमै बस्न बाध्य भए। फेरि होटेलमै बस्दा उनीहरूको बिल झनै बढिरहेको छ। सिंगापुर पठाइदिने बताउँदै पैसा असुलेका सुजन आचार्य सम्पर्कविहीन छन्।

आरोपित सुजन आचार्य

होटेलमा बन्धक बनाइएका प्रेम साउद भन्छन्, ‘‘ऋण खोजेर ल्याएको पैसा लिएर सुजन आचार्य भागेका छन्। हामीलाई सिंगापुरको सपना देखाएर पैसा असुलेर भागे। उनैले ल्याएर राखिदिएको यो होटेलमा बस्दा र खाएको पैसा तिर्न नसक्दा हामीलाई साहुले बन्धक बनाएको छ। हामी चारजना चार महिनादेखि होटेलमै बस्न बाध्य छौँ।’’

थुनिएका चारैजाले सुजनलाई १२-१२ लाख रुपैयाँ बुझाएका छन्। उनीहरुलेत्यो पैसा ऋण गरेर ल्याएका थिए। ऋणको किस्तासमेत नबुझाएको हुँदा घरपरिवारलाई साहुले टर्चर दिइएको प्रेम बताउँछन्।

होटेलमा आफूहरूले ६ हजार बुझाए पनि बाँकी २ लाख ८० हजार रहेको भन्दै अझै जान नदिएको बन्धक बनाइएकाका साथी पारस अधिकारी बताउँछन्। उनी भन्छन्, ‘‘हामीलाई छाडिदेऊ। पछि पैसा तिर्छौं भनेर भन्दा साहुले मानेनन्। नमानेपछि हामी त्यहीँ बस्नुपर्याै। त्यो समयमा झन् बढी पैसा उठेको भन्दै साहुले २ लाख ८० हजार मागेको छ।’’

२२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा, ‘हीरा चोरी’देखि मानव तस्करीसम्म

उदयपुरको त्रियुगा नगरपालिका–१० मा स्थायी घर भएका सुजन फरार छन्। उनले सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भनी विश्वास दिलाएकै कारण आफूहरू फसेको पीडितहरू बताउँछन्। उनले सिंगापुरमा मासिक ३ हजारदेखि ४८ सय सिंगापुर डलरसम्म कमाइ हुने आश्वासन दिएका थिए। त्यसैको आडमा सिंगापुर पठाउँछु भनी प्रेम साउदलगायत दर्जनौँ युवालाई सुजनले ठगेका हुन्। ४ लाख किस्ताबाट, ६ लाख जग्गा धितोबाट र २ लाख ऋण गरेर सुजन र उनकी प्रेमिका भनिने भक्तपुर घर भएकी बिनु शाक्यलाई पैसा बुझाएको प्रेम बताउँछन्।

‘ट्राभल हिस्ट्री’ बनाउने भन्दै सुजन आचार्यद्वारा भिजिट भिसामा सिंगापुरमा बोलाइएको थियो। उनको टिमका सात जना सिंगापुर पुगे। सिंगापुर पुगेको एक साता नपुग्दै फर्किनुपरेको उनले बताए। फेरि नेपाल फर्काएर सुजनले अर्को साता सिंगापुर लैजान्छु भन्दै होटेलमा राखेको उनी बताउँछन्। सिगांपुरे सपनाले बन्धकमा परेका अर्को हुन् अछामका मीन अधिकारी।

उनले पनि सिंगापुर जाने चाहनाले १२ लाख आचार्यलाई बुझाएका थिए। मीन भन्छन् ‘‘ फोटोसप गरेर नक्कली कागजात पो बनाएर दिएका रहेछन्। विश्वासमा पर्यौं। पैसा बुझायौँ।’’ ओल्ड दरबारको होटेल कोठामा बन्धकमा परेका चार जनामध्ये कैलालीका सुरेन्द्र शाह पनि बिचल्ली अवस्थामा छन्।

ओल्ड दरबार होटेलका सञ्चालक राजन अधिकारीले भने सुजन आचार्यसँग व्यक्तिगत रूपमा चिनजान नभएको दाबी गर्छन्। पीडितहरूमार्फत सुजनसँग भेट भएको बताउँछन्। सामाजिक सञ्जालबाट कुराकानी भएको सञ्चालक राजन बताउँछन्। राजन भन्छन्, ‘‘चार जनाले खाएको–बसेको पैसा म तिर्छु। दुई चार लाख नै हालिदिन्छु भनेका थिए। उनले भनेअनुसार पैसा नदिएपछि हामीले यहाँ रहेकालाई बाहिर जान नदिएका हौँ।’’

ठगीको आरोप लागेका आचार्यविरुद्ध इन्टरपोलद्वारा दुई पटक पक्राउ पुर्जी जारी भइसकेको छ। तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन्। गत चैत २६ गते पहिलोपटक र जेठ १२ गते दोस्रो पटक इन्टरपोलद्वारा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। आचार्यविरुद्ध वैदेशिक रोजगार विभाग तथा नेपाल प्रहरी मातहतका विभिन्न कार्यालयहरूमा पनि उजुरी परेको पीडितहरूले बताए। यति हुँदाहुँदै आचार्य किन पक्राउ परेका छैनन् भनेर पीडितहरू आश्चर्यमा परेका छन्। आचार्यलाई शक्तिशाली व्यक्तिहरूबाट संरक्षण रहेको आशंका उनीहरूको छ।

सुजन आचार्य अहिले २२ वर्षका भए। तर, उनको उमेरभन्दा ठूलो उनले गरेका अपराधको लिस्ट छ। पछिल्लो समय मानव तस्करीको आरोप लागेको हो। २०७६ मा उनको पहिलो अपराधको पर्दा खुलेको थियो। प्रहरीसँग मिलेर लाखौँको हिरा लुट्ने अपराधमा मकवानपुरबाट समातिएका थिए।

उनी २०७९ जेठ १३ गते सुजन फेरि समातिए। डर–धम्की देखाएर ७ करोड रकम बार्गेनिङको आरोप उनीमाथि थियो। उनी धरौटीमा छुटेका हुन्। मुद्दा विचाराधीन छ।

हिरासतबाट छुटेपछि विभिन्न राजनीतिक दलका नेतासँग फोटो समेत खिच्न भ्याए। एडिट गरेर भारतीय प्रधानमन्त्री मोदीसँग बसेको फोटो समेत फेसबुकमा हालेका छन्। प्रहरीका उच्च प्रहरी अधिकृतसँगै पनि फोटो खिच्दै काम मिलाइदिने भन्दै ठग्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved