नाम ‘राष्ट्रप्रेम’ र ‘जनप्रेम’ सहकारी, काम ठगी !

नेपालभ्युज

नाम ‘राष्ट्रप्रेम’ र ‘जनप्रेम’ सहकारी, काम ठगी !

काठमाडौं। राष्ट्रप्रेम सहकारी र जनप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामका सहकारीसहित बागमती प्रदेशका झण्डै २ दर्जन सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै ठगी उजुरी परेको छ।

प्रदेश भित्रका ७ वटा सहकारीविरुद्ध ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरी भनाइ छ । बागमती प्रदेशभित्र कार्यक्षेत्र बनाई दर्ता भएका ती सहकारी विरुद्ध प्राप्त उजुरीका आधारमा ठगी मुद्दाअन्तर्गत केन्द्रीय अनुसन्धन ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा परेको उजुरीका आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

महाशाखामा प्राप्त उजुरीअनुसार जनप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गोलढुंगा, काठमाडौं) र राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड (बांगेमुढा, काठमाडौं) सहित भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (तिनकुने, काठमाडौं), जयअम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड (टोखा, काठमाडौं), विशुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड (स्यूचाटार, काठमाडौं) रहेका छन्।

यसैगरी, हिउँचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड (महाराजगञ्ज, काठमाडौं), लवकुश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (पकनाजोल, काठमाडौं), युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (न्युरोड, काठमाडौं), लगायत बचत तथा ऋण सहकारी संस्था विरुद्धका उजुरी अनुसन्धानका लागि ब्युरो र प्रहरीसमक्ष पुगेको छ।

उजुरीपछि सहकारी सञ्चालकलाई छलफल तथा समस्या समाधानका लागि सम्पर्कमा ल्याउन प्रयास गर्दासमेत सम्पर्क नभएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरिएको हो।

बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी विकास मन्त्रालयका सहकारी महाशाखा प्रमुख एवम् रजिष्ट्रार राधाकृष्ण खतिवडाका अनुसार प्रहरी र सीआईबीमा गरेर २० वटा सहकारीमाथि अनुसन्धान भइरहेको छ।‘हामीले २० वटा सहकारीको बारेमा लेखी पठाएका छौं । साना सहकारीको प्रहरीलाई र ठूला एवं अपचलन र ठगी हो जस्तो लागेकालाई सीआईबीमा लेखेका हौं’ खतिवडाले नेपालभ्युजसँग भने–‘कतिपय सहकारी असल नियत हुँदाहुँदै पनि समस्यामा परेको देखियो। तर, कतिपय सहकारी सञ्चालकको आर्थिक अनुशासन देखिएन।’

अनुसन्धानमा तानिएका प्रायः सम्पूर्ण सहकारीहरू काठमाडौं उपत्यकालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको देखिएको छ। यस विषयमा प्रदेश सरकारले समेत चासो लिएर सहकारीको चल अचल सम्पत्ति र बचत रकमसमेत हेरेर निराकरणको उपाय खोजिरहेको खतिवडा बताउँछन्।

‘आर्थिक संकट, सहकारीको रकम फिर्ता गर्नुपर्दैन भन्ने भ्रमपूर्ण अभिव्यक्ति र लघुवित्त,सहकारी विरोधी आन्दोलनले बचतकर्ता एकैपटक रकम फिर्ता माग्न आएपछि कतिपय सञ्चालक सम्पर्कविहीन भएको देखिन्छ’ उनले भने–‘सम्पर्कमा नआएका कतिपय सञ्चालकको चाहिँ ठग्ने नै नियत हो कि भनेर प्रहरीसँग सहयोग मागेका हौं।’

खतिवडाका अनुसार महाशाखामार्फत् प्रदेशलाई कार्यक्षेत्र बनाएका अन्य केही सहकारीका सञ्चालकको पनि खोजी कार्यका लागि प्रहरीसमक्ष उजुरी दिइएको छ। पटक–पटकको पत्राचारलाई बेवास्ता गर्दै सम्पर्कमा नआएका र कार्यालयसमेत बन्द गरेर भागेका सञ्चालकहरूलाई बचतकर्ता र कर्मचारीले समेत खोज्न नसकेपछि प्रहरीलाई आग्रह गरिएको हो।

बागमती प्रदेश सरकारअन्तर्गत रहेर प्रदेशलाई कार्यक्षेत्र बनाएका ३ हजार २७२ सहकारीहरूबाट १ खर्ब ८० अर्बभन्दा बढी रकम ऋण परिचालन भएको छ भने अनुमानित २ खर्ब रुपैयाँ बचत संकलन गरेको रजिष्ट्रार खचिवडाको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved