एउटै बगैंचाबाट एक करोड ११ लाखको आँप बिक्री

नेपालभ्युज

एउटै बगैंचाबाट एक करोड ११ लाखको आँप बिक्री

काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुरको उष्ण प्रदेशीय वागवानी केन्द्रभित्र रहेको आँपको एउटै बगैंचाबाट यसवर्ष एक करोड ११ लाख ६० हजार रुपैयाँको आँप बिक्री भएको छ।

वागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले आँपबाहेक अन्य फलफूल र बिरुवाबाट समेत गरी यस वर्ष २ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेको बताए। केन्द्रको १८५.५४ हेक्टर(तीन सय बिघा) क्षेत्रफल भित्र ६ हजार आँप र २१ सय वटा लिचीका बोट छन्। यहाँको औसत अधिकतम तापक्रम ३१ डिग्री र न्यूनतम तापक्रम २० डिग्री छ । तर,गर्मी महिना अर्थात वैशाख, जेठ र असारमा भने अधिकतम तापक्रम ४२ डिग्रीसम्म पुग्ने गरेको छ।

विगतका वर्षको तुलनामा यो वर्ष धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको यादवको भनाइ छ। उनका अनुसार गत वर्ष जम्मा २ लाख रुपैयाँको मात्रै आँप बिक्री भएको यो बगैंचामा त्यसभन्दा अघिल्लो वर्ष ३७ लाखमा ठेक्का लागेर पनि रद्द भएको थियो। तर, ठेकेदारले ठेक्का रद्द गरेपछि केन्द्र आफैँले बिक्रीको जिम्मा लिँदा ५५ लाखको बिक्री भएको थियो।

यतिबेला, यो वागवानी केन्द्रसँगै तराईका जिल्लाहरूमा आँप टिप्ने चटारो छ। ठेकेदारले वैशाखमै ठेक्का लिएर जेठ दोस्रो सातादेखि आँप टिप्न सुरु गरेका हुन्। सुरुमा पाक्ने बम्बई र सुकतारा आँप टिपेर सकिन लागेको छ भने मालदह र दशहरी आँप टिप्न सुरु भएको छ।‘यहाँको तापक्रमले गर्दा यस वर्ष आँप अझै छिटो टिप्न सुरु भयो’ केन्द्रका निमित्त प्रमुख यादवले भने–‘यहाँको बगैंचामा जेठमै पाक्ने बम्बई आँपदेखि साउन अन्तिम साता वा भाद्र पहिलो साता मात्रै पाक्ने अबेहयात जातको पाकिस्तानी आँपसम्म छन्।’

वागवानी केन्द्रमा ३५ जातका आँप र नौ जातका लिचीका बोट रहेको पनि निमित्त प्रमुख यादवले जानकारी दिए। बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, आम्रपाली, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप रहेका छन् । यसैगरी, पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट पनि छन्। तर, यी आँप परीक्षणको रूपमा लगाइएकोले थोरै छन् र यसको बिक्री आफैँले गर्ने यादव बताउँछन्।

यसैगरी, थाइल्यान्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि यस केन्द्रमा लगाइएको छ। केन्द्रमा अर्लिलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट छन्। यस वर्ष लिचीबाट मात्रै १२ लाख १८ हजार राजश्व उठेको निमित्त प्रमुख यादवले जानकारी दिए।

आँप, लिची र फलफूल तरकारीबाहेक केन्द्रले यो वर्ष विभिन्न जातका ५० हजार विरुवा बिक्री गर्ने लक्ष्य लिएको पनि यादवले जानकारी दिए। उनका अनुसार एउटा आँपको विरुवा ८६ रुपैया २५ पैसामा बिक्री गरिन्छ। तर, प्राइभेट फार्महरूले सस्तोमा बिरुवा बिक्री गर्ने भएकोले केन्द्रबाट बिरुवा लैजाने किसान कम हुने उनको भनाइ छ। यहाँ जती मूल्य हो त्यति नै बिल बन्ने तर अन्यत्र बढी रकम राखेर पनि बिल बनाउने गरिँदा कहिलेकाहीं केन्द्रबाट लगेको बिरुवा महँगो भएको गुनासो आउने गरेको उनको भनाइ छ।

यो वर्षायाममा ५० हजार बिरुवा बिक्री गर्ने र यसअघि नै २० लाखको फलफूल र तरकारीको बिरुवाबाट राजश्व संकलन भइसकेकोले वार्षिक आम्दानी २ करोड पुर्‍याउने लक्ष्य लिइएको उनले बताए। उनले यसवर्ष आँप र लिची धेरै टिकाउन सक्नुको अर्को कारण विषादि छर्ने आधुनिक मेसिन पनि भएको बताए। ‘हामीले राम्रो मलजलसँगै विषादी छर्ने आधुनिक मेसिन ल्याएर फल टिकाउन सफल भयौं’ यादवले भने–‘विदेशबाट २४ लाखमा ल्याएको यो मेसिन अग्लो र धेरै औषधि एकैपटक छर्कन मिल्ने भएकोले आगामी वर्षहरूमा पनि यसले धेरै फलफूल तरकारी जोगाएर बिक्री गर्न सकिने देखिन्छ।’

यो मेसिनले जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिन्छ। नेपालमै पहिलोपटक प्रयोगमा ल्याईएको यो मेसिन कृषकका आँप तथा फलफूल बगैंचामा पनि भाडामा लगाउने तयारी छ। वागवानी केन्द्रमा एक वर्षमा १६९९.६६ मिलिमिटर वर्षा हुने गरेको छ। जस मध्य असारदेखि भदौसम्म ८०५ मिलिमिटर वर्षf हुन्छ ।
यहाँ ६ वटा जातको अम्बा पनि पाइन्छ।

यसैगरी, केरा ५ जात, एभोकाडो ५ जात, नरिवलमा २ जात, रूखकटहर ३ जातका साथै सपोटा, काठे बदाम, मेकाडेमियानट, सुपारी, बडहर, अनार, बयर, इमली आदि तथा तरकारी बालीतर्फ गोलभेंडामा ५ जात, आलुमा ७ जात, भण्टामा ३ जात, काउलीमा २ जात, मुलामा २ जातका साथै रामतोरिया, लौका, काँको, फर्सि, घिरौला, बोडी आदि पाइन्छ।

केन्द्रमा गुलाबमा ७७ जात, बोगेनबेलीयामा २४ जात, क्रोटनमा २५ जात, पाममा ७ जात, रबर प्लान्टमा ३ जातका साथै मालती, धूपी, अशोक, गुनकेशरी, रुद्राक्ष र सुगन्ध कोकिलाजस्ता अनेकौ बोटबिरुवाहरूको माउबोटहरू लगाई तिनको जातीय संरक्षण, सम्बर्धन गरी उपयुक्त जातहरूको बिउ, बेर्ना, बिरुवा उत्पादन गरी कृषकस्तरमा बिक्री-वितरण गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved