आलेख

कतिञ्जेल बिक्ला गेरुवस्त्रधारी साम्यवादको मायाजाल ?

महाकालेश्वरमा प्रचण्डले ओढेको गेरुवस्त्र खासमा त्यो उनको शरीरमा मात्र परेको हैन । त्यो गेरुवस्त्र ओली–मैनाली, नेपाल–खनाल, वैद्य, विप्लव, आहुती, किराती र यी सबैका कुलगुरु मोहन विक्रम सिंहको देहमा समेत थोरबहुत लपेटिएको छ । खासमा गेरुवस्त्र प्रचण्डले ओढेको हैन, नेपाली साम्यवादले ओढेको हो । प्रचण्ड त निमित्त पात्र मात्र हुन्, उनले गरेको १०८ रुद्राक्ष पूजन सबै कमरेडको तर्फबाट हो ।

कतिञ्जेल बिक्ला गेरुवस्त्रधारी साम्यवादको मायाजाल ?

प्रारम्भमै यो प्रष्ट गरौं कि, गेरु रंग र वस्त्रसँग यो पंक्तिकारको कुनै वैरभाव, अनास्था र घृणा छैन । कुनै अतिरिक्त लगाव, मोह वा आशक्ति पनि छैन । गेरु पनि अरुजस्तै एक रंग हो । रंगहरूको संसारमा एक प्राकृतिक अस्तित्व हो । रंगिन दुनियाँको एक साझेदार, एक सार हो ।

अरु अनेक रंगका वस्त्र भएजस्तै गेरु रंगका वस्त्र हुनु पनि स्वाभाविक छ । हिन्दू आस्था वा मिथोलजीमा गेरु रंगको महत्त्व अलि बढी छ, तर अरु रंगलाई हिन्दू मान्यताले पनि कम आँक्दैन । मात्र प्रसंग र सन्दर्भ फरक हुन्छ ।

सामान्यत: दशैंमा  रातो टिका लगाइन्छ, श्राद्धमा पहेलो केसरीको । शवमा पहेँलो पिताम्बर ओढाइन्छ, सेतो वस्त्रमा शोक बारिन्छ । तिहारमा लगाइने टिका सप्तरंगी हुन्छ । होलीमा खेलिने रंगको असीमित प्रकार हुन्छ।

रंग हैन, रंगसँग जोडिएर आउने विम्ब, प्रतीक र मनोविज्ञान प्रमुख हो । जब कुनै रंगलाई कसैले कुनै विचार, दृष्टिकोण, सभ्यता, संस्कृतिसँग जोड्दछ, तब नयाँ अर्थ सिर्जना हुन्छ । रंग हिजो एक प्राकृतिक अस्तित्व थियो । अब यो कुनै मान्यताको विम्ब, पहिचान वा परिचय बन्न पुग्यो । हिन्दू समाज र मान्यतामा पनि गेरु एक मात्र पवित्र रंग हैन । सर्वथा सर्वोत्कृष्ट रंग पनि हैन । खास सन्दर्भमा पवित्र हो । खास स्थितिका लागि उत्कृष्ट हो ।

राजनीतिक विचार र दृष्टिकोणका आआफ्ना रंग छन् । कम्युनिष्ट, वामपन्थी र समाजवादीले रातो रंग प्रयोग गर्दछन् । उदार लोकतन्त्रवादीले सामन्यतया नीलो रंग प्रयोग गर्दछन् । इस्लामिक विचारधारामा विश्वास गर्नेले हरियो रंग प्रयोग गर्दछन् । आदिवासी र जनजाति आन्दोलनका दल र संगठनले सेतो र पहेलो रंग प्रयोग गर्दछन् । कट्टरपन्थी तथा फासीवादी संगठनले कालो रंग प्रयोग गर्दछन् । यो वर्गीकरण मोटामोटी हो । संसारभरि नै ठीक यस्तै भएको होला भन्ने छैन । रंगसम्बन्धि मान्यता पनि देश र काल, समाज र समुदायपिच्छे फरक हुन सक्दछन् । फरक छन् ।

दक्षिण एसियामा गेरु रंग सांस्कृतिक हिसाबले हिन्दू धर्म संस्कृतिको सन्यास मार्गसँग जोडिएको रंग हो । तसर्थ, हिन्दू मात्र हैन, बौद्ध वा ओशो सन्यासीले पनि गेरुसँग करिब मिल्दोजुल्दो पहेंलो वा कलेजी वस्त्र लगाउने गर्दछन् । यो वस्त्रभित्र पवित्रताको भाव छ । भक्ति, अनाशक्ति र सांसरिक मोह त्यागको भाव छ ।

जुन मार्गबाट हिँडेको भए पनि, यदि त्यो सच्चा दिल वा स्वाभाविक चित्तवृतिअनुरूप हिँडेको हो भने त्यो पवित्र हो, त्यो स्तुत्य हो । चित्तवृत्ति एकातिर छ, मार्ग अर्कोतिर छ भने त्यो छलछाम हो, कपट हो, धोका हो, षड्यन्त्र हो । मन एकातिर छ, कर्म अर्कोतिर छ भने त्यो प्रपञ्च हो, धूर्तता हो मायाजाल हो । सत्य हैन । र जहाँ पुगेर सत्य खण्डित हुन्छ, त्यहीनेर बाट गन्तव्यहीन भइन्छ ।

ज्ञान, भक्ति र कर्ममध्ये कुन ठूलो, कुन उत्कृष्ट मार्ग हो भन्ने बहस यहाँ छँदै छैन । हाम्रा दर्शन र विचारधाराले भन्छन् कि मान्छेको चित्तवृत्ति अनुसार मार्ग फरक-फरक हुन्छन्। कसैले ज्ञान मार्ग रोज्छन्, कसैले भक्ति मार्ग, कसैले कर्म मार्ग रोज्छन्, कोही यी सबै मार्गप्रति समान वा तटस्थ रहन्छन् । यी जुन मार्गबाट हिँडे पनि पुगिने गन्तव्य एउटै हो । जब गन्तव्य एउटै हो, मार्गको भिन्नता कुन ठूलो बहस भयो ?

जुन मार्गबाट हिँडेको भए पनि, यदि त्यो सच्चा दिल वा स्वाभाविक चित्तवृतिअनुरूप हिँडेको हो भने त्यो पवित्र हो, त्यो स्तुत्य हो । चित्तवृत्ति एकातिर छ, मार्ग अर्कोतिर छ भने त्यो छलछाम हो, कपट हो, धोका हो, षड्यन्त्र हो । मन एकातिर छ, कर्म अर्कोतिर छ भने त्यो प्रपञ्च हो, धूर्तता हो मायाजाल हो । सत्य हैन । र जहाँ पुगेर सत्य खण्डित हुन्छ, त्यहीनेर बाट गन्तव्यहीन भइन्छ ।

कुनै पनि काम त्यसको निष्ठा र पवित्रताप्रति विश्वासघात नहुने गरी गरिन्छ भने त्यो उचित हो । तपाइँ हृदयदेखि नै कुनै धर्म, संस्कृति, आस्था र त्यसको पवित्रतामा विश्वास गर्नु हुन्छ भने त्यो जायज हो । महान हो । तर, देखावटी, बनावटी रूपमा गरिन्छ भने त्यो धोका हो । त्यो अरुका लागि मात्र हैन, स्वयं आफैँप्रतिको पनि धोका हो ।

कुनै हिन्दू व्यक्ति दैनिक मन्दिर जान्छ भने त्यो जायज छ । कुनै मुस्लिम नियमित मस्जिद जान्छ वा नमाज पढ्छ भने त्यो जायज हो । कुनै इसाइ चर्च जान्छ भने त्यो जायज हो । तर, कुनै हिन्दू दैनिक मस्जिद जाँदैछ भने पक्कै आशंका उत्पन्न हुन्छ । कुनै मुस्लिम क्षणक्षणमा ‘अल्लाह’ को साटो ‘इसु’ भन्न थाल्छ भने किन त्यसो गर्‍यो  होला भन्ने पर्छ । कि त त्यसो गर्नुअघि स्वघोषणा हुनुपर्‍यो । मार्ग परिवर्तन गरेको आत्मस्वीकारोक्ति हुनुपर्‍यो।

यदि स्वघोषणा, मार्ग परिवर्तन र आत्मस्वीकारोक्ति पनि छैन, तर काम विजातीय गर्दैछ भने आशंका त हुन्छ । त्यसभित्र निष्ठा, आस्था, भक्ति वा आदरभाव भन्दा बढी कुनै धुर्त्याइँ, पाखण्ड र गलत मनसाय छ भन्ने अर्थ लाग्दछ नै ।मान्छेले प्रचण्डको भैँसीपूजा, दौरासुरुवाल र महाकालेश्वरको गेरुवस्त्रधारी १०८ रुद्राक्ष पूजनलाई त्यही अर्थमा लिएका हुन् । अन्यथा यो यतिधेरै चर्चा र उपहासको विषय बन्नुपर्ने हैन ।

जस्तो कि, भारतीय राजनीतिमा नरेन्द्र मोदी मन्दिरैपिच्छे पूजा गर्दै हिँड्छन् । नियमित उपवास बस्दछन् । त्यसलाई कसैले अस्वाभाविक मान्दैन र आलोचना पनि गर्दैन । किनकि, उनको दल भारतीय जनता पार्टीको अन्तर्निहित चरित्र नै त्यही हो । आजको भाजपा १०० वर्षभन्दा अघि सन् १९१२ मा वीर विनायक दामोदर सावरकरले स्थापना गरेको ‘अखिल भारतीय हिन्दू महासभा’ को आधुनिक र विकसित रूप हो ।

सावरकरको राजनीतिक सोच नै धर्म र संस्कृतिले राष्ट्र निर्माण गर्दछ भन्ने सांस्कृतिक राष्ट्रवाद थियो । त्यही आधारमा उनले भारतलाई ‘हिन्दू राष्ट्रवादी राज्य’ हुनुपर्ने धारणा राखे । त्यही विचारका लागि उनले लामो संघर्ष गरे । लामो जेल जीवन बिताए ।

राष्ट्रिय स्वयंसेवक संघ बनाउने हेड्गेवार हुन् वा त्यसको सिद्धान्तकार गोल्वाल्कर, जनसंघ बनाउने श्यामसुन्दर मुखर्जी हुन वा त्यसको सिद्धान्तकार दिनदयाल उपाध्याय, भाजपा गठन गर्ने अटलबिहारी बाजपेयी हुन् वा अयोध्या रथायत्रा गर्ने लालकृष्ण आडवाणी उनीहरूमा सोच र निष्ठाको निरन्तरता देखिन्छ । तसर्थ, मोदीको ‘भगवा-राजनीति’ र उनको विचार, दृष्टिकोण र निष्ठामा स्वाभाविकता छ ।

नेपालको हिन्दू परम्परा र संस्कृतिमा भैँसीपूजा सामान्य हो । गाई, गोरु, काग, कुकुर पूजा सबै सामान्य हो । दौरा, सुरुवाल सामान्य हो । गेरु वस्त्र सामान्य हो । तर, यिनै कुरा जब प्रचण्डसँग जोडिन्छन्, त्यतिखेर मात्र मान्छेलाई अनौठो लाग्छ। त्यसको कारण उनको पृष्ठभूमि हो । हिजो उनले लिएका विचार, चलाएका आन्दोलन र गरेका कर्महरू हुन् ।

त्यो एउटा मार्ग हो, कसैलाई मन पर्न वा नपर्न सक्दछ । तर, जब राहुल गान्धी टिसर्टमाथि जनै देखाएर भोट माग्न जान्छन्, मान्छे हाँस्छन् । जवाहरलाल नेहरू, इन्दिरा गान्धी वा राजिव गान्धीले त्यस्तो काम कहिल्यै गरेनन् । यहाँसम्म कि सोनिया गान्धीको युगमा समेत चुनाव जित्न भारतीय राष्ट्रिय कांग्रेसले त्यस्तो नाटक वा पाखण्ड प्रदर्शन कहिल्यै गर्नुपरेन । सबैलाई थाहा थियो कि, सोनिया भारतीय मूल की हैनन्, हिन्दू ओरिजिन की हैनन् । तथापि, आफ्नो नेतृत्वकालमा उनले कांग्रेसका लागि राम्रै भोट बटुल्न सकिन। जुन मार्ग मोदीको हो त्यो राहुलको हैन ।

हाम्रो पनि कुरा यही हो । नेपालको हिन्दू परम्परा र संस्कृतिमा भैँसीपूजा सामान्य हो । गाई, गोरु, काग, कुकुर पूजा सबै सामान्य हो । दौरा, सुरुवाल सामान्य हो । गेरु वस्त्र सामान्य हो । तर, यिनै कुरा जब प्रचण्डसँग जोडिन्छन्, त्यतिखेर मात्र मान्छेलाई अनौठो लाग्छ। त्यसको कारण उनको पृष्ठभूमि हो । हिजो उनले लिएका विचार, चलाएका आन्दोलन र गरेका कर्महरू हुन् ।

ती विचार, ती आन्दोलन, ती कर्म निरर्थक थिए भने आत्मस्वीकारोक्ति गर्दा भो । गोदान, शान्तिवस्ती, वा प्रायश्चित गर्दा भो । हैन, ती प्रतिको गौरवभाव अहिले पनि छ भने प्रचण्डले भैँसी पुज्नु भैँसीकै अपमान हो । दौरासुरुवाल लगाउनु त्यसकै अपमान हो । गेरुवस्त्र धारण गर्नु त्यसको सम्मान हैन, अपमान हो ।

प्रचण्डले यस्तो काम गर्दा मान्छेको मनमा नरेन्द्र मोदीले आरती उतारेको दृष्य देख्दाजस्तो भाव हैन, राहुल गान्धीले टिसर्टमाथि जनै लगाएर भोट माग्न हिँडेजस्तो भाव आउँछ । कुनै समर्पित मुस्लिम मस्जिद गएजस्तो वा उसले नमाज पढेजस्तो हैन, कुनै नामुद विजातीय जँड्याहा दैनिक मन्दिर गएजस्तो दृष्य आउँछ । र यो संकट प्रचण्डको मात्र हैन, आम नेपाली कम्युनिष्टहरूको आत्मिक, नैतिक तथा आध्यात्मिक संकट हो ।

केपी ओली–सीपी मैनाली लगायतको नक्सलवाद प्रेरित झापा आन्दोलन, प्रचण्ड–किरण–बाबुरामलगायतको माओवादी जनयुद्ध के थिए ? र ती आज कहाँ पुगे ? त्यसमा स्वभाविकता, निष्ठा र निरन्तरता कि अस्वाभाविक मोड, अद्यपतन, स्खलन र पाखण्ड, आजको प्रश्न त्यो हो । अन्यथा प्रचण्ड सनातनी हिन्दू ब्राह्मण परिवारकै सन्तान हुन् । उनले गेरुवस्त्र लगाएर महाकालेश्वरमा रुद्राक्ष पूजन गर्नु कुन ठूलो कुरा हो ?

प्रचण्डलाई मात्रै हैन, ठीक यही प्रश्न हिजो मान्छेले मोहनचन्द्र अधिकारी, सीपी मैनाली, आरके मैनाली र केपी ओलीलाई पनि सोधेका थिए । द्वन्द्वात्मक भौतिकवाद र जनगणतन्त्र पढाउँदै हिँडेका र जीवनको उत्तरार्द्धमा महेन्द्रपथको पैरवीकर्ता बनेका मोदनाथ प्रश्रितलाई सोधेका थिए ।

झापा विद्रोह र नक्सलवादको ओरिजिन के थियो ? चेपाङ बस्ती कि ठोरीका राम ? मान्छेलाई अनौठो लाग्ने विरोधाभाष यहाँनेर हो । खासमा ओली र प्रचण्डको झगडा बिल्कुल कृत्रिम हो । यिनीहरूको नैतिक तथा वैचारिक संकट एउटै हो । एमाले र माओवादी दुई मुख र एउटै पेट भएका भारुन्डे चरा जस्तै हुन् । जिब्रोको स्वादका लागि खाने बेलामा यी झगडा गर्दछन् । तर, जुन टाउकोको मुखले खाए पनि आहारा पचाउने पेट र निकाल्ने मलद्वार एउटै हो ।

सबैलाई थाहा छ कि, केपी शर्मा ओलीको पछिल्लो प्रधानमन्त्रीत्वकालको सबैभन्दा चर्चित विम्ब चितवनका सुकुम्बासी चेपाङ बस्तीमा आगो लगाएर ‘ठोरीमा राम’ खोज्नु थियो । ठोरीमा अयोध्या खडा गर्न उनले रातारात हजारौं बिघा जमिन फेला पार्न सके तर पुस्तौंपुस्तादेखि भूमिहीन र सुकुम्बासी रहेका, त्यही कारण र बाध्यताले राष्ट्रिय निकुञ्जको छेउछाउ झुप्रो बनाएर बसेका चेपाङका लागि उनले प्रतिपरिवार ५ धुर जग्गा जोगाड गर्न सकेनन् ।

झापा विद्रोह र नक्सलवादको ओरिजिन के थियो ? चेपाङ बस्ती कि ठोरीका राम ? मान्छेलाई अनौठो लाग्ने विरोधाभाष यहाँनेर हो । खासमा ओली र प्रचण्डको झगडा बिल्कुल कृत्रिम हो । यिनीहरूको नैतिक तथा वैचारिक संकट एउटै हो । एमाले र माओवादी दुई मुख र एउटै पेट भएका भारुन्डे चरा जस्तै हुन् । जिब्रोको स्वादका लागि खाने बेलामा यी झगडा गर्दछन् । तर, जुन टाउकोको मुखले खाए पनि आहारा पचाउने पेट र निकाल्ने मलद्वार एउटै हो ।

संसारभरिका र नेपालका पनि सबै कम्युनिस्टहरू आज एउटै संकट र प्रश्नको सामना गर्दैछन्, कम्युनिज्म के थियो ? कस्तो विचार, कस्तो राजनीतिक धारा, कस्तो आन्दोलन थियो र आज यो कहाँ पुग्यो ? यो विचार र आन्दोलनको जे सान्दर्भिकता थियो, त्यसको अन्त्य भइसक्यो भने आत्मस्वीकारोक्ति किन नगरेको ? प्रायश्चित किन नगरेको ? यदि अझै सान्दर्भिक छ भन्ने लाग्दछ भने आफ्नै मौलिक चरित्र र चित्तवृत्तिमा किन नटिकेको ?

कम्युनिस्ट आन्दोलनको भारुन्डे चरा दुई मुखे मात्र छैन, यो सहर्ष टाउके छ । ओली र प्रचण्ड, एमाले र माओवादी त दुई ठूला टाउका मात्र हुन् । यहाँ वैद्य छन्, विप्लव छन्, किराती छन्, आहुति छन्, माले छ, मसाले छ, नेमकिपा छ, अनेक स-साना टाउका छन्, ती सबै टाउकाको नैतिक, आत्मिक वा आध्यात्मिक संकट समान हो । त्यो के भने न यी अब आफ्नो मौलिक विचारमा विश्वास नै गर्न सक्दछ, न छोड्न नै सक्दछन् ।

यदि आफ्नो विचार, सिद्धान्तमा साँच्चै विश्वास छ भने त्यो पाखण्ड हुँदैन । यदि विश्वास सकियो, परित्याग गरियो भने पनि त्यो पाखण्ड हैन । मनभित्र विश्वास सकियो तर, त्यसैको नाममा भोट आउँदैछ भनेर ओठले मात्र जप्ने हो भने त्यो पाखण्ड हो । ठीक यतिखेर नेपालमा साम्यवाद सबैभन्दा ठूलो राजनीतिक पाखण्ड हो ।

तसर्थ यो पाखण्ड हो । यदि आफ्नो विचार, सिद्धान्तमा साँच्चै विश्वास छ भने त्यो पाखण्ड हुँदैन । यदि विश्वास सकियो, परित्याग गरियो भने पनि त्यो पाखण्ड हैन । मनभित्र विश्वास सकियो तर, त्यसैको नाममा भोट आउँदैछ भनेर ओठले मात्र जप्ने हो भने त्यो पाखण्ड हो । ठीक यतिखेर नेपालमा साम्यवाद सबैभन्दा ठूलो राजनीतिक पाखण्ड हो ।

कुनै बेला नेपालका सबै कम्युनिस्ट उस्तै, एउटै चिन्तन र विचारधाराका थिए । उस्तै जागरण बोल्थे । उसरी नै लाल सलाम गर्थे । सबैको मार्क्सवाद, लेनिनवाद उही हो । कसैले माओवाद, कसैले माओ विचारधारा भन्थे सारमा कुरा उही हो । सबै चिनियाँ नयाँ जनवादी क्रान्ति र साँस्कृतिक क्रान्ति पक्षधर थिए । नयाँ जनवादी गणतन्त्र स्थापना गर्न चाहन्थे । संसदीय लोकतन्त्रप्रतिको उनीहरूको वितृष्णा र अनास्था उस्तै थियो ।

जो जीन्दगीभरि जसका विरुद्ध लडे, जीवनको उत्तरार्द्धमा स्वयं आफै त्यस्तै भए, यो विरोधाभाष हो । र यो एक ‘महान् विरोधाभाष’ हो ।

महाकालेश्वरमा प्रचण्डले ओढेको गेरुवस्त्र खासमा त्यो उनको शरीरमा मात्र परेको हैन । त्यो गेरुवस्त्र ओली–मैनाली, नेपाल–खनाल, वैद्य, विप्लव, आहुती, किराती र यी सबैका कुलगुरु मोहन विक्रम सिंहको देहमा समेत थोरबहुत लपेटिएको छ । खासमा गेरुवस्त्र प्रचण्डले ओढेको हैन, नेपाली साम्यवादले ओढेको हो । प्रचण्ड त निमित्त पात्र मात्र हुन्, उनले गरेको १०८ रुद्राक्ष पूजन सबै कमरेडको तर्फबाट हो ।

यी सबैको बीचमा एक समान मनोविज्ञान छ, ल विचार, सिद्धान्त सकियो, आन्दोलनको मौलिक चरित्र सकियो, लक्ष्य, उद्देश्य र गन्तव्य सकिए तर भोट त छ । राजनीति, संगठन, भोट र सत्ताको अवसर त छ । बिकुन्जेल त्यसलाई किन नबेच्ने ? ती पद, प्रतिष्ठा र अवसर किन छोड्ने ?

अर्थात्, आजको प्रश्न यो हैन कि कुन कमरेडले गेरुवस्त्र धारण गरे ? कसले भैँसी पुज्यो ? कसले महाकालेश्वरमा रुद्राक्ष चढाए ? यो कुटनीति हो कि स्खलन ? सामान्य औपचारिकता हो कि महापतन ?

सबैभन्दा ठूलो प्रश्न हो– साम्यवादको रंग कुनै बेला निख्खर रातो थियो । विस्तारै त्यो घुर्माइलो र धमिलो भयो । अहिले त्यसको रंग ‘भगवा’ भएको छ । र यो गेरुवस्त्रधारी साम्यवाद कतिञ्जेल बिक्छ ? यसको मायाजाल, जादूमन्त्र, टुनामुना, मोहनी-सम्मोहन नेपाली मतादातामा कहिलेसम्म रहला ?


Comment

One thought on “कतिञ्जेल बिक्ला गेरुवस्त्रधारी साम्यवादको मायाजाल ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved