नेपालबाट दादुरा उन्मूलन गफमै सीमित

नेपालभ्युज

नेपालबाट दादुरा उन्मूलन गफमै सीमित
फाइल तस्वीर

सुर्खेत । सन् २०२३ मा नेपालमा दादुरा रुवेला रोगको अन्त्य गर्ने लक्ष्य राखिएको भएपनि गत पुस १२ गते बाँकेको नेपालगञ्जबाट आउटब्रेक भएको दादुरा संक्रमण हाल पश्चिमको १५ जिल्लामा फैलिएको छ ।

पूर्ण खोपयुक्त जिल्ला बाँकेमा आउटब्रेक भएको दादुरा अहिले १५ जिल्लामा फैलिएको र कर्णाली प्रदेशको सुर्खेत र कालिकोट जिल्लामा समेत दादुरा तथा रुवेलाका बिरामी भेटिएपछि अहिले ती जिल्लाहरूमा खोप अभियान सञ्चालन गर्ने तयारी सरकारले थालेको छ ।

नेपालबाट दादुरा तथा रुवेलामुक्त देश बनाउनका लागि सन् २०२६ को लक्ष्य सरकारले राखेको छ । अझै पनि नेपालमा १५ वर्ष भित्रका ४ प्रतिशत बालबालिकाले खोप लगाउन छुटेको युनिसेफका डा.श्रद्धा पंगेनीले बताइन् । दादुराबाट अहिलेसम्म देशभरमा १५ जिल्लाका झण्डै एक हजार संक्रमित भइसकेका युनिसेफका डा.पंगेनीले बताइन् ।

सुर्खेतमा विषेश अभियान सञ्चालन गरिँदै

सुर्खेतमा यही २८ गतेदेखि असार ५ गतेसम्म दादुराविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियानमा दुई चरणमा सञ्चालन हुनेछन् । पहिलो चरणमा बराहताल, भेरीगंगा, चिङ्गाड र लेकवेशी नगरपालिकामा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । त्यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी, चौकुने, गुर्भाकोट र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य प्रमुख गणेशभक्त गौतमले बताए ।

खोप अभियानका लागि जिल्लाभरका ९९ वडामा कुल ५४७ वटा खोप केन्द्र रहनेछन् । खोप केन्द्रहरू विद्यालयमा राखिने छ । करिब साढे दुई सय बालबालिका भएको स्थानमा एउटा खोप केन्द्र रहने छ । दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई खोप दिइन्छ । एउटा खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित चार जना जनशक्ति परिचालन गरिने छ ।

चालू आर्थिक वर्षमा सुर्खेतका चार पालिकामा ५ जना दादुराको रोगी भेटिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।‘अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको भएको छ,’ उनले भने, “गुणस्तरिय र प्रभावकारी समन्वय आवश्यक रहेको छ ।”

खोप अभियान सफल पार्न जिल्लाका निकाय र व्यक्तिले साथ र सहयोग गर्नुपर्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । गुणस्तरीय रूपमा बालबालिकाले खोप पाउने वातावरण तयार पार्न स्थानीय तहले साथ दिनुपर्ने उनको भनाई रहेको थियो ।

खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा.रविन खड्काले बताए । ‘कर्णालीमा केहीदिन अघि मात्र कालिकोटका ३ जना बालबालिकामा दादुराका बिरामी भेटिए छन् । बालवालिकालाई अभियानमा समेट्नु आवश्यक रहेको छ,’ उनले भनेका छन् ।

सुर्खेतमा खोप अभियान सञ्चालन भएको खोप अभियानमा युनिसेभ, रेडक्रस र स्थानीय तह सहयोगी रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved